खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

चक्रपथ समाचार प्रभाव : झौखेलका पानी उद्योगले मानवीय स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पुष्टि 

​​​​​​​भक्तपुर । भक्तपुरको झौखेलमा उत्पादन हुने पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुगमन गरेको छ ।  

पानी उद्योगको मनपरीका विषयमा यसअघि चक्रपथ डटकमले स्थलगत रिपोर्टिङ गरी भिडियोसहित समाचार प्रकाशन गरेको थियो । 

अनुगमनका क्रममा त्यहाँ उत्पादन पानी उत्पादन कम्पनीले अत्यन्तै लापरबाही गरेको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापरबाही भेटिएको हो । 

सर्वसाधारणले प्रतिबोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ । विभिन्न ब्राण्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासङ्घ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरबाही भएको पाइएको हो ।  

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको सङ्ख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । 

पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलबाड गरेको पाइएको जनाउँदै उहाँले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताउनुभयो । 

खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थ्यसँग गम्भीर खेलबाड गरिरहेको समेत पुष्टि भएको भन्दै उहाँले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो । 

अनुगमनका क्रममा पानी उद्योगबाट दुई वटा उद्योगको पानी परीक्षणका लागि नमुना सङ्कलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ । 

हेर्नुहोस् चक्रपथ डटकमले यस अघि प्रकाशन गरेको भिडियो रिपोर्ट:

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ४६ बजे