‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालप्रति चिनियाँ चासो र प्रचण्डको भारत भ्रमण

यही असार २६ गते आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियानचाओ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चार दिने विशेष भ्रमणमा काठमाडौँ ओर्लिनुलाई नेपालमा विभिन्न दृष्टिकोणबाट हेर्ने प्रयास भएको छ । यो भ्रमण नेपालमा गठबन्धन सरकार सत्तामा आएपछि देश क्रमशः अमेरिकी खेमातिर ढल्किँदै गएको र त्यसबाट चीनमाथि पर्न सक्ने सुरक्षा जोखिमप्रति चीनको चासो रहेको लिउले भेटघाटका क्रममा दिएका अभिव्यक्तिहरूबाट पनि छर्लङ्ग हुन्छ । दुई शक्तिशाली छिमेकीभन्दा बाहिर महाशक्ति राष्ट्रको कित्तामा उभिन खोज्नु निश्चय पनि नेपालका लागि हितकर हुने देखिँदैन । अहिले जे जस्तो देखिए पनि नेपालको बदलिँदो विदेश सम्बन्ध चीनका लागि मात्र होइन, भारतका लागि पनि अन्ततः रुचिकर रहिरहने सम्भावना देखिँदैन ।

विश्वमा बदलिँदो शक्ति सन्तुलन, त्यसको प्रभावबाट उत्पन्न बढ्दो भूराजनीतिक दबाब र तिब्बतसँग जोडिएको छिमकी देश नेपालमा आसन्न सङ्घीय चुनाव तथा यहाँ बढ्दो राजनीतिक अस्थिरताबीच चिनियाँ टोलीको नेपाल आगमनले चीनको सुरक्षा चासो प्रष्टै बुझ्न सकिन्छ ।

चिनियाँ टोली स्वदेश फिर्ता भएको भोलिपल्टै नेपालको सत्तारुढ गठबन्धनको दोस्रो ठुलो घटक माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश (जेपी) नड्डाको आमन्त्रणमा दिल्ली यात्रा भएको थियो । 

विश्वमा बदलिँदो शक्ति सन्तुलन, त्यसको प्रभावबाट उत्पन्न बढ्दो भूराजनीतिक दबाब र तिब्बतसँग जोडिएको छिमकी देश नेपालमा आसन्न सङ्घीय चुनाव तथा यहाँ बढ्दो राजनीतिक अस्थिरताबीच चिनियाँ टोलीको नेपाल आगमनले चीनको सुरक्षा चासो प्रष्टै बुझ्न सकिन्छ ।

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा पनि विगत केही दिनदेखि दिल्लीमा रहेको समाचार आइरहेको थियो । भारतीय समाचार माध्यमका अनुसार नेपालमा चिनियाँ हस्तक्षेपबारे आँकलन गर्न प्रचण्डलाई दिल्ली बोलाइएको थियो । 

दिल्लीमा रहँदा भारतीय विदेश मन्त्री एस जयशंकरसँग प्रचण्डको भेटघाट भएको थियो । प्रचण्डको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने भनिए पनि भेट हुन सकेन । नेपालमा चासो रहेको मोदी—प्रचण्ड भेट नभएपछि प्रचण्डको भ्रमण सफल नभएको विश्लेषण भइरहेको छ । अध्यक्ष प्रचण्डले मोदीसँग के कारणले भेट नभएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको कुरा काठमाडौँमा बताउनुभएको छ । यस भनाइले कतै प्रचण्डलाई दिल्लीले उपेक्षा गर्‍यो कि भन्ने आशङ्का उत्पन्न भएको छ । यद्यपि भ्रमण सफल भएको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री मोदीसँग भेट नभए पनि भारतले प्रचण्डलाई बोलाउनुको आशय अन्य भेटघाटबाट अवगत नगराउने कुरै भएन ।    

नेपालमा आसन्न संसदीय चुनावमा सत्तारुढ गठबन्धनलाई कसरी विजयी बनाउन सम्भव छ भनेर दिल्लीमा विचार विमर्श भएको धेरैले विश्वास गरेका छन् । गठबन्धनलाई सत्तामा ल्याउन पनि भारतको सहयोग रहेको विश्वास गर्नेहरूको सङ्ख्या नेपालमा ठुलै छ । चिनियाँहरूले वाम गठबन्धनको पाठ पढाएर गएको थाहा पाएको भारतले प्रचण्डलाई त्यसको पछि नलाग्न प्रेरित गर्ने र त्यस अनुकूल वातावरण बनाउन सहयोग गर्ने आश्वासन दिएको धरैको बुझाइ छ  । 

आगामी चुनावको सफलतापछि सत्तामा प्रचण्ड र आरजु राणाले आधा—आधा कार्यकाल नेतृत्व गर्ने खाका दिइएको पनि अपुष्ट रूपमा समाचारहरूमा उल्लेख भएको देखिन्छ । अमेरिकासँगका एमसीसी र एसपीपी प्रकरणहरूमा चीन र अमेरिकाबीच नेपाललाई लिएर चलेका आरोप—प्रत्यारोपले पनि नेपाललाई निरीह बनाएको देखिएको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालले निर्णय क्षमता गुमाएको सन्देश प्रवाहित भएको छ । नेपालमा वाम एकता गर्न चीन चाहिने र अहिलेको सत्तारुढ  गठबन्धन बनाउन र टिकाउन भारत चाहिने परिस्थितिले पनि नेपाली राजनीतिको दुरावस्था देखाउँछ ।

विगतमा नेपालमा वामपन्थीहरूको बलियो सत्ता हुँदा असहज भएको भारतलाई अनुभव छ । दिल्लीमा रहँदा पर्दाबाहिर प्रचण्डले गरेका भेटघाट र अभिव्यक्तिहरूलाई बढाई चढाई प्रचार गरेर उनको छविलाई रङ्ग रोगन गर्ने प्रोपोगण्डा प्रचण्ड निकटका मिडियाहरूले गरेका छन् । यसरी माओवादी प्रचण्ड र काँग्रेस नेतृ आरजुको दिल्ली भ्रमण चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमणको छाया जस्तो पनि देखिएको छ । प्रचण्ड दिल्लीमा रहेका बेला यता माओवादीका अर्का प्रभावशाली नेता नारायण काजी श्रेष्ठ काठमाडौँमा वाम एकताको अपरिहार्यताको वकालत गरिरहेका छन् । यस्तै प्रवृत्तिले माओवादी नेपाली राजनीतिमा शङ्कास्पद मानिँदै आएको छ ।

दिल्लीको एक अनौपचारिक सूत्रका अनुसार नेपालमा नेपाली काँग्रेस र नेकपा एमाले दुई प्रमुख राजनीतिक शक्तिहरू हुन् र दिल्लीले एमालेभन्दा नेपाली काँग्रेसलाई सत्तामा रहेको हेर्न चाहेको छ । नेपाली काँग्रेसले चुनावमा एक्लै बहुमत ल्याउन नसक्ने भएकोले सांगठानिक रूपले सबल नभए पनि तेस्रो शक्तिका रूपमा रहेको माओवादी केन्द्रसँग राजनीतिको साँचो रहेको आँकलन गरेको दिल्लीले माओवादी केन्द्रलाई हालको गठबन्धनलाई कायम राख्न नेता प्रचण्डमाथि दबाब दिने कुरा सान्दर्भिक देखिन्छ ।  

प्रचण्ड नेपाली राजनीतिका सहज र लचिला पात्र हुन्, जसले पछिल्ला वर्षहरूमा राजनीतिक रूपमा नेपालमा भारतले नचाहेका शक्तिहरू सत्तामा हाबी हुँदा ‘ब्रेक थ्रो’ गर्दै भारतलाई सजिलो पार्दै आएका छन् । विगतमा उनले भारतले चीन समर्थक मानेको ओली नेतृत्वको सरकारलाई दुई पटक ढालेका थिए । जेहोस्, एकै समयमा भएका प्रचण्डको भारत यात्रा र चिनियाँ नेताको नेपाल भ्रमण आगामी चुनावलाई लिएर भएको हो भन्ने कुरा बुझ्न गाह्रो छैन ।     

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ०५ बजे