“मैले गाउने गीत पहाडको हैन, हिमालको हैन
हैन हैन लेकै फूल्ने लाली गुराँसको
आकाशमा डुलिहिंड्ने बादलको हैन…”
२०२७–२८ सालतिर पूर्वी पहाडी जिल्लाहरूमा गरिएकोे लामो गीतियात्राको सिलसिलामा तेह्रथुमको आठराई पुगेपछि त्यहाँ आयोजित एक कार्यक्रममा रामेश र मञ्जुलले यो राल्फाली गीत गाए । देशलाई ढुंगा, माटो, हिमाल, पहाड र वन–जंगलले भरिएकोे एउटा भौगोलिक सीमाक्षेत्र मात्र ठान्ने अनि जनतालाई किरा–फट्याङ्ग्रा सरहका रैती ठान्ने पंचायती ‘राष्ट्रवाद’ को सांकेतिक विरोधमा गाइएको उक्त गीत सुनेपछि त्यस गीतमा रहेको ‘म’ अर्थात् ‘व्यक्तिपरकता’ माथि वामपन्थी विचार अँगोलेका ‘सचेत’ श्रोताहरूले यस्तो सुझाव र प्रतिक्रिया दिए –
‘म’ भन्ने शब्द हटाएर ‘हामी’ भन्ने शब्द राखिनु पर्छ, याने व्यक्तिको महत्वलाईभन्दा समुहको महत्वलाई बढी महत्व दिनु पर्छ । लाली गुरा“स, हिमाल र बादलको ठाउँमा मजदुर, किसान, ज्यामी र कर्मीहरूलाई स्थान दिनु पर्छ । ‘हैन’ भन्ने नकारात्मक शब्दबाट नभएर ‘हो’ भन्ने सकारात्मक अभिव्यक्तिबाट गीत सुरु गर्नुपर्छ । ” (मञ्जुल, सम्झनाका पाइलाहरू)
जनताको पंक्तिबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात गर्दै उपरोक्त गीतलाई यसरी पुनर्लेखन गरियो –
हामीले गाउँने गीत, मजदुरहरूको, किसानहरूको
रगत सुकाई काम गर्ने श्रमिकहरूको
दुनियाँको निर्माण गर्ने कर्मीहरूको
हामीले गाउने गीत, स्कूलमा भोकभोकै आउने साना नानीहरूको
दिनभरि कामगरी रातभरि भोकै सुत्ने गरीब खेतालाको
पेट भर्नेगरी खान पाए हुन्थ्यो, आङ ढाक्नेगरी लाउन पाए हुन्थ्यो भनेर
भोकभोकै नाङ्गा नाङ्गै मर्ने गरीब जनताको
हामी बाँचिरहेको देशको
हामीले गाउने गीत, भोकाहरूको नाङ्गाहरूको निमुखा र बेसहारा गरिबहरूको
दुःखैदुःखमा पिल्सिएका निर्धाहरूको
हामीले गाउने गीत, न्याय नपाएर झ्यालखानमा सडिरहेका निर्धाहरूको
सुरक्षा नपाएर लुटिएका, बलात्कार गरिएका अदानाहरूको
ठिही र सिठीमा अख्रिएर मरेका टुहराहरूको
बस्नलाई एउटा घर पाए पनि हुन्थ्यो
बाँच्नलाई आफ्नो देश पाए पनि हुन्थ्यो भनेर कराइरहने सुकुम्बासी, प्रबासीहरूको
हामीले भोगिरहेको स्थितिको
हामीले गाउने गीत शहिदहरूको, क्रान्तिकारीको
शोषितहरूको निम्ति बोल्ने बुद्धिजीवीको
जनताको निम्ति लड्ने योद्धाहरूको
(रचनाः मञ्जुल, संगीतः रामेश)
पछि २०३६ सालमा विराटनगरमा आयोजित पहिलो ‘संकल्प गीति कार्यक्रम’ मा त्यसका कलाकारहरूले यही गीतबाट आफ्ना गीतहरूको परिचय दिएका थिए । त्यसयता यो गीतले निर्दिष्ट गरेको दिशालाई पछ्याउँदै आम श्रमजीवी गरीब जनताको पक्षपोषण गर्ने, समाजमा विद्यमान शोषण, अन्याय र अत्याचारको विरोध गर्ने, सामाजिक विषमता र कुरितीहरूको विरुद्ध चेतनाको विगुल फुक्ने, राष्ट्रिय स्वभिमानको प्रवद्र्धन गर्ने र श्रमजीवी जनताको अन्तराष्ट्रिय ऐक्यवद्धताको आह्वान गर्ने हजारौं जनगीतहरूको रचना गरिएकाछन्, संगीत भरिएका छन् र गाइएका छन् । तिनै जनगीतहरूको आह्वानमा सा“च्ची नै पंचायती निरङकुसताको विरुद्धमा मानिसहरू ‘गाउँ गाउँ र वस्ती वस्तीबाट’ उठेका थिए, सामन्ती व्यवस्थाको ‘थोत्रो घर भत्काउन दाइ र दिदीहरू झम्पल र डोको बोकेर’ हिंडेका थिए । एउटा जबरजस्त सांगीतिक ज्वारभाटा उठेको थियो, नेपालको सांस्कृतिक महासागरमा । यही प्रगतिशील सांस्कृतिक ज्वारभाटाबाट उत्पन्न तरङ्गलाई नेपाली समाजको आमुल परिवर्तनको उद्देश्य बोकेका राजनीतिक पार्टीहरूले आफ्नो विचार र सन्देश विशाल जनसमुदायमा पु¥याउने प्रभावकारी साधनको रूपमा प्रयोग गरे । अघि–अघि जनताका कलाकारहरू आफ्ना सांगीतिक डोजरले बाटो सम्याउँदै जान्थे, अचेतनाको हिंउँ बग्लेर फराकिलो बनेको सोही बाटोबाट विचारको माल बोकेर राजनीतिक पार्टी र यसका नेताहरू जनताको घरदैलोमा पुग्दथे र उनीहरूलाई आफ्नो पार्टीमा संगठित गर्दथे । यसरी नै राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरूले पनि जनकलाकारहरूको निम्ति कार्यक्रमको आयोजना गरिदिने, उनीहरूको सुरक्षा गर्ने, खानपान र बस्ने ठाउँको व्यवस्था गरिदिने काम गर्दथे । यसरी निरङ्कुस पंचायती व्यवस्थाको कारण भूमिगत रूपमा काम गर्न बाध्य कम्युनिष्ट पार्टी र जनकलाकारहरू बीच नङ–मासुको सम्बन्ध स्थापित भएको थियो ।
जब २०४६ सालको जनआन्दोलनपश्चात् ३० वर्षे निरङ्कुस पंचायती तानाशाही व्यवस्थाको अन्य भयो र भूमिगत पार्टीहरू सतहमा आए तब जनसांस्कृतिक आन्दोलन र राजनीतिक आन्दोलनबीच उचित तालमेल मिल्न नसकेको अनुभव गर्न थालियो । राजनीतिक आन्दोलनको मुल मुद्धा संविधान, सरकार, संसद र चुनाव जस्ता विषयहरूमा केन्द्रित हुन थाल्यो भने सामाजिक रूपान्तरणसँग सम्बन्धित जनसांस्किृतिक मुद्दाहरू राजनीतिको तत्कालिक प्राथमिकताको सूचिमा पर्न छाड्यो । फलस्वरुप परिवर्तित सन्दर्भमा सुस्पष्ट राजनीतिक दिशानिर्देश, व्यवहारिक संयोजन र उचित प्रेरणाको अभावमा प्रगतिशील सांगीतिक–सांस्कृतिक आन्दोलन आज दिशाहीन झैं बन्न पुगेको छ । एउटा छुट्टै सामाजिक र सांस्कृतिक मूल्यको निर्माणमा आफ्नो उमेर खर्चेका जनताका कलाकारहहरू बदलिएको राजनीतिक माहौलबीच आफूलाई एक्लो र निरीह भएको महसुस गरिरहेका छन् । उनीहरूमध्ये कतिले आफ्नो पूर्व मूल्य र मान्यताविपरित तथाकथित ‘मूलप्रबाह’मा प्रवेश गरी आफूलाई ‘व्यवसायिक’ बनाउदै छन् भने कति चाहिं कतै एकलासमा बसेर हुरीको बत्तीलाई हत्केलाले छेके झैं आफ्नो मान्यताहरूलाई कायम राख्न सक्दो प्रयास गरिरहेका पनि देखिन्छन् । बाँकी ‘सकृय’ भनिएका कलाकारहरू पनि चुनावी अभियान वा अन्य केही उत्सवजन्य (सेरेमोनियल) प्रयोजनका लागि गरिने सांगीतिक कार्यक्रममा सिमित हुँदै गएका देखिन्छन् । जेहोस् नेपाली बामपन्थी राजनीतिक आन्दोलनको विस्तार र सामाजिक जनजागरणको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने एउटा युगान्तकारी सांगीतिक–सांस्कृतिक अभियानमा अहिले एक किसिमको शिथिलता देखिएको भनें पक्कै हो ।
के हो ‘जनताका गीत’ ?
जनताका गीतलाई प्रगतिशील गीत, जनवादी गीत, स्वस्थ र सार्थक गीत वा जीवनवादी गीत पनि भन्ने गरिएको छ । यसरी नै कतिपयले यस्ता गीतहरूलाई ‘विद्रोही गीत’ वा ‘विरोध गीत’ पनि भन्ने गरेको देखिन्छ । समय र परिस्थितिअनुसार यसका कलाकार तथा श्रोताहरूले जनताका गीतलाई फरक–फरक शब्दावलीबाट चिनाउने वा सम्बोधन गर्ने गरेको पाइन्छ । पार्टीहरू प्रतिबन्धित भएको बखत ‘प्रगतिशील’ र ‘जनवादी’ शब्द ‘कम्युनिष्ट’ शब्दको विकल्पकोे रूपमा पनि प्रयोग हुने गरेका थिए । यी दुई शब्दमध्ये ‘प्रगतिशील’ शब्दले वैचारिक पक्षलाई प्रतिनिधित्व गर्दथ्यो भने ‘जनवादी’ शब्दले चाहिं कार्यपद्धति र कार्यशैलीलाई प्रतिनिधित्व गर्दथ्यो । यस आधारमा भन्नुपर्दा प्रगतिशील वा जनवादी गीत भन्नाले माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई वैचारिक आधार मानेर बहुसंख्यक श्रमजीवी जनतालाई शोषणबाट मुक्त गर्न र न्याय र समानतायुक्त शोषणविहीन समाजको निर्माणखातिर जनतालाई जागरुक बनाउने उद्देश्यले गाइने गीत भन्ने बुझिन्छ । तर जनताका गीतमा समेटिएका विषयवस्तुहरूलाई हेर्ने हो भने यस्ता गीतहरू गाउँन वा सुन्न माक्र्सवादी वा कम्युनिष्ट नै हुनु पर्ने कुनै जरुरत देखिदैन । यति चाहिं पक्कै हो यस्ता गीतहरूको प्रयोग, प्रसार र प्रवद्र्धन चाहिं बामपन्थी पार्टीहरूले नै गरेका हुन् । पछि यिनै प्रगतिशील वा जनवादी गीतहरूलाई नै सरल ढंगले बुझ्ने गरी ‘जनताका गीत’ भन्न शुरु गरियो । अझ ‘जनताका गीतहरू’ लाई आम श्रोताहरू (गैरकम्युनिष्ट) बीचमा समेत ग्राह्य बनाउने उद्देश्यका साथ यी गीतहरूलाई हाल ‘स्वस्थ र सार्थक गीत’ वा ‘जीवनवादी’ गीत पनि भन्न थालिएको छ । तसर्थ मायाप्रितिका निजात्मक अभिव्यक्तिमा सिमित आमधाराका गीतहरूभन्दा भिन्न, श्रमको सम्मान गर्ने, समाजमा व्याप्त अन्याय, शोषण र विसंगतिहरूविरुद्ध जागरण भर्ने, विश्वशान्ति, मानवता र भातृत्वको भावना जगाउने, राष्ट्रिय स्वभिमान र देशभक्तिको भावनालाई उजागर गर्ने अनि जीवनलाई सार्थक, सभ्य र गतिशील बनाउन उत्प्रेरणा प्रदान गर्ने प्रगतिशील, जनवादी, सार्थक र जीवनवादी गीतहरू नै ‘जनताका गीतहरू’ हुन् ।
जनताका गीतले समेटेका विषयवस्तुहरू
धेरै मानिसहरू के सोंच्दछन् भने जनताका गीत भनेको क्रान्ति, युद्ध, संघर्ष, आन्दोलन, परिवर्तन, बलिदान, मुक्ति, चेतना, जागरण, स्वतन्त्रता, अधिकार, स्वभिमान, साहस जस्ता वीररसप्रधान शब्दावलीको प्रयोग गरेर कथिएका ‘खस्रा’ गीतहरू हुन् । निश्चितै रूपमा जनताका गीतहरूले मानिसको जीवनका समग्र पक्षहरूलाई समेट्न सकेका छैनन् । सम्भवतः एउटा खास धार, विचार वा उद्देश्यमा आधारित भएर लेखिने गीतहरूले मानिसको जीवनका हर पक्षहरूलाई उत्तिकै अनुपातमा समेट्न सम्भव पनि हुँदैन । तथापि जनताका गीतहरूले समयसापेक्ष रूपमा आमजनता, समाज र राष्ट्रसम्बन्धी निम्न विषयहरूलाई समेटेको पाइन्छ–
१. जनताका गीतको स्वपहिचानका गीतहरूः ‘हामीले गाउँने गीत मजदुरहरूको किसानहरूको’, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू’, ‘जनताको गीत लेख्ने हामी गीतकार’ आदि ।
२. वर्गीय चेतनाभर्ने गीतहरूः ‘जुत्ता सिउँछौ सार्कीहरू नाङ्गा छन् तिम्रा खुट्टाहरू’, ‘वर्गीय समाजमा वर्गीय प्रेममात्रै न्यानो र चोखो हुन्छ’, ‘छर्छौ तिमी बाली उठाउने अर्कै छ’, ‘सबै मलाई चोर भन्छन् तिमी पनि भन्छौ’, ‘अनिकाल लाग्यो भन्छन् खै कसलाई लाग्यो, जसले खेती गरेकोछ उसैलाई लाग्यो’ आदि ।
३. गोर्खाभर्तिको विरोध गरिएका गीतहरूः ‘नमार गरीबलाई नजाउ अंग्रेजी पल्टनमा’, ‘भाडाको सिपाई जन्माउने देश नेपाललाई नपार’ ‘जान्न म त नि गोर्खा भर्ति मलाया छाउनीमा’, ‘गाइ त मर्यो वनैको बाघलाई, भाइ त मर्यो विदेशी साइँलौ राजालाई’, ‘सिम्मा’ गीतिनाटक आदि ।
४. लैंगिक विभेद र महिला जागरणसम्बन्धी गीतहरूः ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भ’ै, ‘स्नेहका मुहान नारीका मन अचाना बन्दछन्’, ‘छोरीको यो जुनीलाई हेला गरी हिंड्नेलाई’, ‘नहेप नारीलाई यी हुन् दासी भनी’, ‘जीवन बग्छ नारीको हेर आँशुको नदीमा’ आदि ।
५. विदेशिएका नेपालीका बारेमा लेखिएका गीतहरूः ‘देउराली भञ्ज्याङले बिर्सेको छैन प्रवासी दाजु तिमीलाई’, ‘बसाई हिंड्नेको ता“तीले बस्नेको मन रुवाउँदछ’, ‘साहुको रिन तिर्न भनी गको मेरो छोरो मेरो बाबा हर्कजित फेरि फर्केन’ ‘तिमीलाई प्रबासी भन्न मन लागेन आफूलाई घरबासी भन्न गर्ब लागेन‘, ‘डांडाकाटी गयौ नि दाजु गाउँघरको मायालाई बिर्सेर, आँशु बरर’ आदि ।
६. जागरण र संकल्प गीतहरूः ‘गाउँ गाउँबाट उठ वस्ती वस्तीबाट उठ’, ‘हिंड मेरा दाइ हो झम्पल बोकेर’, ‘रक्त क्रान्तिको ज्वालामूखीमा’, ‘हाम्रो यो अदम्य क्रान्ति रोकेर रोकिदैन’ ‘अँध्यारोमा पनि वीर बाटो भुल्दैनन, खडेरमा पनि फूल फुल्न भुल्दैनन्’ आदि ।
७. ऐक्यवद्धता गीतहरूः ‘हामी जित्ने छौं एक दिन’ (वी स्याल ओभरकमको अनुवाद), ‘तिमी देउ तिम्रा हातहरू म दिन्छु मेरा हातहरू’ आदि ।
८. सार्थक र गतिशील जीवनका गीतहरूः ‘संघर्ष हो जीवन जीवन संघर्ष हो’, ‘कार्यशील जिन्दगी बगिरहने नदी हो’, ‘कोशी छेउ उभेको सिमल जति नि बाँच्दिन म’ (बुढो माझीको गीत), ‘यो जिन्दगी हाम्रो खेर नजाओस्’, ‘मर्नै पर्छ एक दिन सबैले, हामी पनि मर्छौ’ आदि ।
९. श्रमको सम्मानमा लेखिएका गीतहरूः ‘ड्राइभर दाई खलासी भाई हाम्रो धेरै माया तिमीलाई’, ‘तलाउको माझमा उठेको छालजस्तो’ (नर्सको प्रशंसामा रचिएको गीत), ‘खेत हिंड्यो किसान’, ‘पौरखी तिम्रा हातहरूले रोपेका चियाका बुट्टाहरू’, ‘विहानीको आभाषमा मानिसहरू जुर्मुराउँदै उठ्दैछन्’ आदि ।
१०. शहीदको सम्मानमा लेखिएका गीतहरूः ‘रगतको टिका लगाउँदै शहीद’, ‘आँशुको सागर बगाउँदै चेलीले सिन्दुर पुछेको’, ‘अन्तिम विजय हाम्रै हो’, ‘यो सुनसान चिहानको गीत’ आदि ।
११. सामाजिक विभेदविरोधी गीतहरूः ‘छैनन् आँखा तर हामीलाई अन्धा नभन’, ‘मानिस छूत अछूत हुन्छ भन्दै भन्दिन’, ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा कठै झुत्रे लुगा उसको आङैमा’, आदि ।
१२. देशभक्तिका गीतहरूः ‘तिमीलाई तिम्रो कविता प्यारो लाग्छ कि देश’, ‘मेरो देश स्वाभिमानी जनताहरूको देश’, ‘मुठ्ठी उचाली लड्छौ बढ्छौ देशको लागि उठ्छौं’ आदि ।
१३. पारिवारिक माया प्रेमः ‘परदेशबाट दाजु फिर्नु भएन’, ‘सिमाना पारी नौ डांडा पारी’, ‘नआयो मलाई तस्वीर उनको नआयो खबर’, ‘एउटा माइती दूर देश, सयपत्री फूल ओइली जाइजाला’, ‘चेलीको मनै रुन्छ बुझीदेउन माइती हो’, ’सिंउँदोको सिन्दुर गलाको पोते, छैन है मेरो जीवन साथैमा’ आदि ।
१४. सामन्ती शोषणविरोधी गीतहरूः ‘कोही त भने जहाजमा हरर’, ’धानै खायो गाई तारी मालीले गाउँ खायो गाउँघरको जालीले’, ‘उज्यालो जीवन ल्याउनु छ छिट्टै’, ‘हो हो दाजु ठिकै भन्यौ चित्तबुझ्यो मेरो, सामन्तीलाई खत्तम पार्न मार्छु अब फेरो’ आदि ।
१५. राजनीतिक हत्याकाण्डविरोधी गीतहरूः ‘गड्याङ र गुडुङ मेघ पनि हैन आकाशै सफा छ, छिर्का र छिर्की रगतको टाटा आकाशै सफा छ’ (छिन्ताङ काण्ड), ‘सक्रान्ती मनी डा“डा है पारी जुन पनि लुके छ, अँध्यारो बीच महादेवथानमा बन्दुकै भुकेछ’, ‘सुखानीको रगतले भन्छ हामीलाई’ आदि ।
माथि उल्लेखित विषयबाहेक पनि अन्य विविध विषयहरूमा जनगीतहरू गाइएका छन्– जस्तै, बालबालिकासम्बन्धी गीतहरू, पार्टीगत गीतहरू, प्रगतिशील अनुशासनसम्बन्धी गीतहरू, राजबन्दीसम्बन्धी गीतहरू र विभिन्न व्यक्तित्वहरू जस्तै, नेल्सन मण्डेला, लु स्युन आदिको प्रशंसामा रचिएका गीतहरू आदि ।
माथिका उदाहरणमा परेका गीतहरू राष्ट्रिय रूपमा चर्चा पाएका प्रकाशित गीतहरूका केही नमूनाहरू मात्र हुन् । यीबाहेक पनि सैयौं हजारौं गीतहरू जनताका गीतहरूको भण्डारमा समेटिएका छन् ।
कसरी शुरु भयो जनगीति गायनको परम्परा ?
माया–प्रेमको नाममा अश्लिलता, निराशा र कुण्ठा, देशभक्तिको नाममा आमजनताको वेवास्ता र ढुंगा माटोको प्रशंसा अनि शाषकहरूको स्तुति गायनमा रुमल्लिएको मूलधारको नेपाली गीत संगीतको विकल्पको रूपमा आएको प्रगतिशील गीत–संगीतको यो धार २० को दशकमा सशक्त रूपमा देखा परेको भएतापनि राष्ट्रियस्तरमा यसको व्यापक प्रचार र विस्तार भने ३० को दशकयता मात्र भएको पाइन्छ । हुन त राणाकाल अर्थात् २००७ अघि नै पनि स्वतन्त्रताको चाहना बोकेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रान्तिको आह्वान गरिएका गीतहरू लेखिएका थिए । गोपालप्रसाद रिमालको ‘एकदिनमा एकदिन एकचोटी आउँछ, उल्लटपुल्लट उथलपुथल हेरफेर ल्याउँछ’, सिद्धिचरण श्रेष्ठको ‘आमा म बौलाहा हैन’, युद्धप्रसाद मिश्रको ‘हाम्रो अदम्य क्रान्ति रोकेर रोकिदैन’ देवकोटाद्वारा रचित ‘सुनको दिन एक उदाउँछ रे’ जस्ता क्रान्तिकारी गीतहरू यसै सन्दर्भमा लेखिएका गीतहरू थिए । यसैगरी गोकुल जोशीले २०११ सालतिर ‘नमार गरीबलाई, नजाउ अंग्रेजी पल्टनमा’ र ‘रोक्ने को हो दूरदर्शी विचारका धाराा’ जस्ता सशक्त जनगीतरूको रचना गरेका थिए । २०१५ सालतिर नै जनकवि गोकुल जोशी र जनकविकेशरी धर्मराज थापाले संयुक्त गीतियात्रा समेत गरेका थिए । ‘जनताको गीत’ नभनिएतापनि सोही समयतिर रचना गरिएको धर्मराज थापाको ‘हो हो माले हो हो, हो तारे हो हो’ भन्ने गीतमा श्रमप्रति सम्मानभाव व्यक्त गरिएको छ । यसका साथै श्यामप्रसाद शर्मा, अलिमियाँ, युद्धप्रसाद मिश्र, केवलपुरे किसान कविहरूले २००७ सालकै सेरोफेरोदेखि प्रशस्त जनगीतरूको रचना गर्दै आएका थिए ।
राल्फा र राल्फायताका जनगीति आभियानहरू
छिटफुट रूपमा जनगीत लेखन र गायन २००७ सालअघि नै शुरु भएको पाइएतापनि समाजमा व्याप्त शोषण, अन्याय, विकृति र विसंगतिविरुद्ध समुहगत रूपमा विद्रोहका गीत गाउने श्रेय चाहिं २०२४ मा स्थापित ‘राल्फा समुह’लाई जान्छ । रामेश, रायन, अरिम र मञ्जुल सम्मिलित राल्फाको सांगीतिक समुहले पंचायती तानाशाही व्यवस्था र यसको छत्रछा“यामा झ्याङ्गिएको विकृति र विसंगतिविरुद्ध एउटा सशक्त सांगीतिक विद्रोहको सृष्टि गरेको थियो । प्रयोग र विद्रोहको नाममा रचना गरिएका प्रारम्भका कतिपय राल्फाली गीतहरू लहडी र अराजक झैं लाग्ने भएतापनि उत्तराद्र्धका गीतहरू भने अत्यन्त कलात्मक बान्की भएका अनि वैचारिक रूपमा पनि पाका र स्पष्ट लाग्छन् ।
मञ्जुलकाअनुसार राल्फाकालमा मूलतः तीन प्रकारका गीतहरू गाइन्थे– बौद्धिक र काव्यात्मक मूल्य भएका गम्भिर गीतहरू, लोकगीतमा आधारित आधुनिक गीतहरू अर्थात् लोकाधुनिक गीतहरू र विशुद्ध लोकगीतहरू । ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू हाम्रा गीतहरू’, ‘कोशी छेउ उभेको सिमल जति नि बाँच्दिन म’, ‘कोइ त भने जहाजमा हरर, कोइत भने पसिना तरर, हाम्रो नेपालमा’, ‘आँधी आयो उडाई के ले र आयो, असम्भव भनेको जम्मै सम्भव भएर आयो’, ‘हिउँले ताछिदिएको छ, मेरो धुपी सल्लालाई’, ‘भोल्गाकी सानी नानी‘ जस्ता सदाबहार जनगीतहरूको सृजना यही राल्फा कालमा भएका थिए । यसका साथै जनताको गीत गायन र प्रस्तुतिमा देखिने कतिपय विशेषताहरू जस्तै– रेडियो नेपालको बहिष्कार गरी प्रत्यक्ष गीतिकार्यक्रमको माध्यमबाट जनतालाई गीत सुनाउने, गीत गाउनुपूर्व गीतको विषयमा भूमिका बाँध्ने, संगीतमा भारतीय शास्त्रीय संगीतको भन्दा पाश्चात्य संगीत र लोकगीतको मिश्रण, पश्चिमी बाजा गिटारको अत्यधिक प्रयोग र यसलाई मादलको तालमा झमझम कर्ड खेलेर बजाउने छुट्टै शैली पनि राल्फाबाटै विकसित भएको थियो ।
त्यसपछि राल्फाले झैं चर्चा नपाएता पनि देशका विभिन्न स्थानमा जनगीत गाउने अनेक व्यक्ति र समुहहरू देखा पर्न थालेका थिए । चर्चित जनगायक जे.बी. टुहुरे (जुठबहादुर खड्गी) ले २०२५ सालतिरबाट नै तत्कालिन एक कम्युनिष्ट समुह– पूर्वकोशी प्राान्तीय कमिटीसँग सम्बद्ध भएर जनवादी गीत गाउन थालेका थिए । उनले २०२७ सालतिर काठमाडौंमा अनेरास्ववियूको आयोजनामा किर्तिपुरको अडिटोरियम हलमा ‘एकल गीति कार्यक्रम’ समेत गरेका थिए । त्यसैगरी ‘नयाँ लहर सांस्कृतिक समुह’ द्वारा २०३३ सालमा धरानमा आयोजित एक कार्यक्रममा जे.बीं टुहुरेले आफ्नो चर्चित गीत ‘आमा दिदी बहिनी हो’ पहिलोपल्ट गाएका थिए । सोहीताका धरानको शिव सिनेमा हलमा आयोजित एक सांस्कृतिक कार्यक्रममा पहिलोपल्ट शम्भु राई र मञ्जुलको भेट भएको थियो । त्यहीं भेटपछि मञ्जुलले शम्भु राईलाई जनताको गीत गाउन उत्प्रेरित गरेका थिए । यहीं समयमा ‘मानिस छुत अछुत हुन्छ, म भन्दै भन्दिन’, ‘मर्नै पर्छ एकदिन सबैले हामी पनि मर्छौं’ जस्ता मञ्जुलद्वारा रचित थुप्रै चर्चित जनगीतहरूमा शम्भु राईले संगीत भरेका थिए । यसरी जनगीत गायनमा शम्भु राईको प्रवेशपछि पश्चिमा शैलीमा आधारित राल्फाली फ्लेबरका प्रगतिशील गीत–संगीतमा विशुद्ध नेपाली मिठासका लय र स्वर पनि थपिन पुग्यो ।
संकल्प गीति कार्यक्रम
२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको परिणामस्वरुप २०३६ साल जेठ १० गते ‘सुधारिएको पंचायत व्यवस्था वा बहुदलीय व्यवस्था’ रोज्न राजाबाट जनमत संग्रहको घोषणा गरियो । यसले ल्याएको अपेक्षाकृत खुल्ला वातावरणको सदुपयोग गर्दै २०३६ साल असारमा कुन्ता शर्माको संपादकत्वमा प्रकाशित हुने ‘संकल्प’ साहित्यिक पत्रिकाको नाममा विराटनगरको हिमालय टाकिजमा ऐतिहासिक ‘संकल्प गीति कार्यक्रम’को आयोजना गरियो । उक्त कार्यक्रममा रामेश, मञ्जुल, अरिम, जे.वीं टुहुरे र शम्भु राईले संयुक्त रूपमा कार्यक्रम प्रस्तुत गरेका थिए । मञ्जुलको विलक्षण उद्घोषण कला, रामेश, जे.बी. टुहुरे र शम्भु राईको त्रिवेणी स्वर अनि अरिमको विशिष्ट शैलीको बाँसुरी बादनका कारण सो गीति कार्यक्रमले एउटा अभूतपूर्व प्रभाव छाड्न सफल भएको थियो । सोही कार्यक्रममा लाइभ रेकर्ड गरिएको गीति क्यासेट ‘संकल्प गीति क्यासेट’ को माध्यमबाट प्रगतिशील गीतहरू तराई, पहाड र उपत्यकाका कुनाकुनासम्म फैलियो । त्यसपछि देशका विभिन्न भागहरूमा प्रगतिशील गीतिकार्यक्रमको एृउटा अभियान नै चलेको थियो । तत्कालीन नेकपा (माले)ले केन्द्रीय स्तरबाट सांस्कृतिक अभियानको संचालन र संयोजन गर्न मञ्जुल, रामेश, मोहन श्रेष्ठ र रघु पन्त सम्मिलित एक सांस्कृतिक कमिटीको पनि गठन गरेको थियो ।
विराटनगरको कार्यक्रम पछि काठमाडौंमा रामेश, मञ्जुल, अरिम सहित रामकृष्ण दुवाल, श्याम तमोट, विक्रम सुब्बा, प्रमोद हमाल, माधव प्रधान, उदय श्रेष्ठ, सन्तोष श्रेष्ठ, निलिमा राई, प्रतिमा तुलाधर, सुनिल श्रेष्ठ आदि कलाकारहरू सांस्कृतिक गतिविधिमा संलग्न रहेका थिए । उता पूर्वाञ्चलमा धरान–विराटनगरलाई आधार बनाएर जे.बीं टुहुरे, शम्भु राई, लोचन भट्टराई, चेतनारायण राई, निशान भट्टराई, गणेश उदास, सरु सुब्बा, सीमा पोखरेल आदि कलाकारहरू जनसांगीतिक अभियानमा संलग्न रहे ।
‘हाम्रो गीत हाम्रो आवाज’ कार्यक्रम
२०३९ सालमा तत्कालिन नेकपा (माले) भित्र उत्पन्न ‘राजनीतिक स्वतन्त्रता’ वा ‘पार्टी स्वतन्त्रता’ भन्ने विवादमा अल्पमत पक्षमा रहेका संकल्प परिवारका रामेश, मञ्जुल र रामकृष्ण दुवालहरू त्यसपछि निष्कृय झैं रहेका थिए । यस्तै अवस्थामा २०४० सालमा पूर्वाञ्चलबाट विजय सुब्बा, चेतनारायण राई, शम्भु राई, सरु सुब्बा, सीमा पोखरेल, माधव प्रधान, खगेन्द्र श्रेष्ठ र विक्रम सुब्बालाई झिकाएर किर्तिपुरको अडिटोरियम हलमा ‘हाम्रो गीत हाम्रो आवाज’ शीर्षकमा एक केन्द्रीय गीति कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मञ्जुलको उद्घोषणको स्थानमा विक्रम सुब्बालाई उभ्याइएको थियो । जे होस्, विक्रम सुब्बाको कवितामय उद्घोषणले श्रोताहरूमा एउटा भिन्नै खालको प्रभाव दिएको थियो । त्यस समयका अत्यन्त लोकप्रिय जनकलाकार शम्भु राईले सोही कार्यक्रममा आफ्नो ‘अन्तिम जनताको गीत’ गाएका थिए ।
सोही अवधितिर त्यतिखेरको कतिपय अव्यवहारिक आचारसंहिता उल्लंघन गरेको आरोपमा शम्भु राई र लोचन भट्टराई कार्बाहीमा परेका थिए । यस किसिमको कार्बाहीबाट निरुत्साहित हुन पुगेका लोचन भट्टराई र शम्भु राईले त्यसबखत ‘जान नहुने’ भनिएको रेडियो नेपालमा गीत गाउन शुरु गरे । पछि चेतनारायण राई, राजन राई, सीमा पोखरेल लगायतका कतिपय नाम चलेका ‘जनताका कलाकारहरू’ पनि रेडियो नेपालमा गीत गाउन गएका थिए ।
‘हाम्रो गीत हाम्रो आवाज’ गीतिकार्यक्रमपछि केन्द्रीय प्राथमिकता सहितको जनगीतिकार्यक्रमहरू हुन छाड्यो । त्यसपछि स्थानीय र क्षेत्रगत रूपमा गठन भएका सांस्कृतिक समुहको माध्यमबाट नै सांस्कृतिक गतिविधिहरू संचालित हुन थाले । २०४० देखि २०४४ सालसम्मको अवधिमा काठमाडौंका अधिकांश सांस्कृतिक कार्यक्रमहरू अनेरास्ववियूको ‘उपत्यका सांस्कृतिक कमिटी’ मार्फत् संचालित भएका थिए । तर २०४४ सालपछि भने तिनै विद्यार्थी फा“टबाट आएका कलाकारहरूलाई लिएर ‘जनसांस्कृतिक परिवार’, ‘कोरस परिवार’ जस्ता अनेकौं समुहहरूको गठन भएकोे थियो ।
‘आस्था परिवार’ संकल्प परिवारको निरन्तरताको रूपमा
२०३९ सालको राजनीतिक विवादपछि निष्क्रिय झैं रहेका रामेश, मञ्जुलको नेतृत्वमा रहेको ‘संकल्प परिवार’ पुनर्गठित रूपमा ‘आस्था परिवार’ नाम लिएर २०४४ सालमा देखा पर्यो । स्वस्थ, सुन्दर र सार्थक गीत संगीतको सिर्जना, संकलन र प्रस्तुतिका लागि प्रतिवद्धता जनाउदै स्थापना गरिएका आस्था परिवारको कलाकार टिमभित्र रामेश, अरिम, ओम श्रेष्ठ, आभास फुयाल, गोविन्द थापा, भरत नेपाली, अविरल राई, भीव नेपाली र सौरभ श्रेष्ठ रहेका छन् । शुरुमा मञ्जुल पनि यस टिमभित्र रहेका थिए तर पछि रामेश र मञ्जुल वीचको सम्बन्धमा तनाव उत्पन्न भएपछि उनलाई यस समुहबाट पाखा लगाइयो ।
त्यसयता आस्थाले विभिन्न अवसरहरूमा ‘हाम्रा स्वरहरू’ (२०४६), ‘क्षितिजको अंगालोमा’ (२०४६), ‘एक जुगमा एकदिन एकचोटी आउँछ’ (जनआन्दोलनमा शहीद र घाइते भएकाहरूको लागि आर्थिक सहयोगार्थ, २०४७), ‘सुनको विहान’ (२०४७), ‘अँध्यारोमा जुनकिरी’ (रामेशको एकल गायन, २०४७) आदि शिर्षकमा शानदार गीतिकार्यक्रमहरू प्रस्तुत गरेको थियो । यसरी नै आस्थाले फ्रान्सिसी सांस्कृतिक केन्द्रसँगको सहकार्यस्वरुप एकवर्ष (२०४८ भाद्रदेखि २०४९ भाद्र) भित्रमा १२ वटा फरक फरक शीर्षकमा एउटा गीति श्रृङ्खला नै प्रस्तुत गरेको थियो ।
यसरी ‘जनताका गीत’हरूको सृजना, प्रस्तुति, संकलन, संपादन र प्रकाशनमा अनौपचारिक रूपमा मानकीकरणको काम गर्दै आइरहेको ‘संकल्प परिवार’ को उत्तराधिकारीको रूपमा स्थापित शीर्ष जनसांगीतिक समुह आस्था परिवारको पनि ५० को दशकभरि उल्लेखनीय गतिविधि नदेखिनुलाई दुःखद् सत्यको रूपमा स्वीकार्नु पर्दछ ।
राष्ट्रिय जनसांस्कृतिक मञ्चको स्थापना
यसरी विगतमा साना–साना सांस्कृतिक समुहहरूको माध्यमबाट जनसांस्कृतिक गतिविधिहरू संचालन हुँदै आइरहेको परिप्रेक्ष्यमा तत्कालिन नेकपा (माले) ले एकीकृत रूपमा राष्ट्रव्यापी जनसांस्कृतिक आन्दोलनलाई अघि बढाउने उद्देश्यका साथ २०४४ साल पौष २९ गने ‘राष्ट्रिय जनसांस्कृतिक पञ्च, नेपाल’ को स्थापना ग¥यो । राजसामञ्च संकल्प परिवार झैं एक सांगीतिक समुह मात्र नभएर तत्कालीन नेकपा (माले) वा हालको नेकपा (एमाले) अन्तरगतका संपूर्ण प्रगतिवादी साहित्यकार, चित्रकार र संगीतकर्मीहरू सहित संपूर्ण सांस्कृतिककर्मीहरूको एकिकृत संस्थाको रूपमा रहेको छ । बरिष्ट प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितको संस्थापक अध्यक्षतामा स्थापित हाल जनगायक जे.बी. टुहुरेको नेतृत्वमा रहेको राजसामञ्च त्यसयता देशव्यापि संगठनात्मक संरचनाको निर्माण गरी ‘देशभक्तिपूर्ण, लोकतान्त्रिक, र प्रगतिशील’ संस्कृतिको प्रवद्र्धनको निम्ति कार्यरत रहेको छ ।
के जनताका गीतहरूको लोकप्रियता घटेकै हो ?
तीस र चालिसको दशकभरि पंचायतको व्यापक थुनछेक र दमनका वावजुद पनि पहाडका गाउँ, तराईका वस्ती र उपत्यकाका गल्ली गल्लीमा घन्काइएका र जनताबाट अत्यन्त मन पराइएका जनताका गीतहरू पचासको दशकपछि विस्तारै सुन्न छाडिएको छ । त्यसैले हिजोआज पुनः जनताका गीतहरूको सान्दर्भिकता, लोकप्रियता र यसको निरन्तरताका विषयमा सम्बन्धित क्षेत्रका नेता, विज्ञ र कलाकारहरूबीच चर्चा हुन थालेको प्रतीत हुन्छ ।
“…नेपाली जनजीवनलाई हेर्ने हो भने, त्यहाँका गीत, कुराकानी भेटघाट आदिमा ध्यान दिने हो भने त्यो मायाप्रेमको संस्कार र संस्कृतिमा डुबेको छ । तर प्रगतिवादी राजनीति, साहित्य र संस्कृतिमा युद्धकालीन माक्र्सवादको प्रभाव हुनाले यस क्षेत्रमा माया प्रीति भन्ने शब्दसँगै घृणा वितृष्णा हुने जस्तो अनौठो स्थिति कायम भएको छ ।… हाम्रो लोक साहित्यमा नब्बे प्रतिशत मायाप्रेमको कुरा हुने तर त्यसै देशको प्रगतिशील साहित्यमा तयसको नामै नहुने कुरा कस्तो उदेक लाग्दो विषय हो । यसरी मानवीय जीवनको अत्यन्त महत्वपूर्ण मायाप्रेम जस्तो कुराबाट एकदम अलग्ग्एिर केवल राजनीति, क्रान्ति र परिवर्तनका खस्रा कुरा मात्र गर्ने हुनाले र जनताको चेतना र मनोविज्ञान बुझ्न नसकेको हुनाले पनि प्रगतिवादी गीतहरूलोकप्रिय हुन नसकेका हुन् ।…” (प्रगतिवादी गीत संगीत क्षेत्रका केही समस्याबारे, –मोदनाथ प्रश्रित)
जनताका कलाकारहरूले माया पिरतीका गीत गाउन हुन्छ या हुदैन भन्ने विषय अद्यापि विवादकै विषयको रूपमा रहेको छ । प्रश्रितको उपरोक्त कथनले जनताका गीतहरू बुर्जुवा क्षेत्रका गीत–संगीत झैं ‘लोकप्रिय’ हुन नसक्नुमा यसले माया पिरतीका विषयलाई समेट्न नसक्नुलाई एक महत्वपूर्ण कारणको रूपमा देखाउन खोजेको देखिन्छ । यसबाहेक बामपंथी पार्टीहरूमा भइरहने फुट र विभाजन, कम्युनिष्ट पार्टीहरूले बहुलवादलाई स्वीकारीसक्दा पनि प्रगतिवादी गीत–संगीतमा युद्धकालीन माक्र्सवादको प्रभाव रहनु, कम्युनिष्ट पार्टीहरूले आफ्ना कलाकर्मीहरूलाई कला, गीत र संगीतको स्तर विकासतिरभन्दा चुनाव, अधिवेशन, आन्दोलन आदि राजनीतिक प्रचारतिर प्रयोग गर्ने र काम सकिएपछि विर्सने प्रबृत्ति रहनु, प्रगतिशील सांस्कृतिक फा“टमा स्तरीय गीतहरूको छनौट गर्ने, स्तरीय संगीत दिने र बाजाहरूको राम्रो संयोजनतिर उचित ध्यान दिन नसक्नु अनि नेतृत्व र सत्ताको बहुमतमा पुग्ने बाहुन क्षेत्रीहरूमा आदिवासी जनजातीय लोक संस्कृतिको मुल विशेषताको रूपमा रहेको नाचगान, बाजागाजा, ह“सीठट्टा, मायाप्रेम आदिलाई कम महत्व दिने संस्कार रहनु आदिलाई पनि जनताका गीतहरूको लोकप्रियतामा ह्रास देखिनुका कारणका रूपमा प्रश्रितले उल्लेख गरेका छन् ।
तर यस सम्बन्धमा रामेशको कटु भनाई यस्तो छ – “हिजो उहाँहरू (नेताहरू) दरिद्र अवस्थामा हुनुहुन्थ्यो । त्यसबेला उहाँहरू नयाँ नेपाल बनाउने, जनवादी देश बनाउने कुरा गर्नुहुन्थ्यो । त्यो समयमा हामीले गाउँने गीतहरू अति उपयोगी र प्रभावशाली भएका थिए । तर अहिले आफ्नो व्यक्तिगत जिन्दगी व्यवस्थित भएपछि उहाँहरूले यस्ता गीतहरूको महत्व घटेको देख्न थाल्नुभयो । …माया प्रेम त हिजो पनि थियो, आज पनि छ र भोली पनि हुनेछ । गीतहरू हजारौं लाखौं हुन्छन् तर विशिष्ट गीतले हाम्रो जीवनलाई संघर्षशील पार्दछ, भ्रममा परेको बेला सही बाटो देखाउछ र दुःख पाएको समयमा शक्ति प्रदान गर्दछ । तर अब उहाँहरूले विशिष्ट र सामान्य गीत बीचको अन्तर पनि बुझ्न छाड्नुभो ?”
निःसन्देह जनताका गीतहरू हिजोका आन्दोलित दिनहरूमा जस्तो आज चर्चित रहेका छैनन् । समय र सन्दर्भहरू अवश्य बदलिएका छन् । हिजो रचना गरिएका धेरै प्रगतिशील गीतहरूमा कलात्मकताको कमी भएको नाराबाजी शैली पनि प्रशस्त देखिन्छन् । जनताका गीतहरूमा बाबा–आमा, दिदी–बहिनी, दाजु–भाइ, चेली–माइती, लोग्ने–स्वास्नी बीचको मानवीय र श्रमजीवी वर्गीय प्रेमका विषयहरू प्रशस्त समेटिएका छन् । तर युवा–युवती बीच हुने आकर्षण र त्यसबाट उत्पन्न हुने प्रेमपिरतीका विषयहरू भने सम्भवतः समेटिन सकेका छैनन् । त्यसैले आमजनताको पंक्तिभित्र मात्र हैन क्रान्तिकारीहरूका जीवनमा समेत स्वभाविक रूपमा उत्पन्न हृुने त्यस्ता प्रेमभावहरूलाई शिष्ट र सौम्य ढंगले अभिव्यक्ति दिने खालका स्वस्थ प्रेमका गीतहरूलाई पनि प्रतिबन्ध लगाउनु पर्ने कुनै कारण छैन । यस मामिलामा प्रगतिशील खेमाभित्र एक किसिमको हिप्पोक्र्यासी अर्थात् द्वैधचरित्र नरहेको भने अवश्य हैन ।
रघु पन्त भन्छन् – “विवाहको बेला कसैले पनि मलामी जा“दा बजाइने दीपक राग सुन्न चाह“दैन । उल्लासको बेलामा मान्छे पीडा र वेदनाका गीत सुन्न चाहदैन, हर्ष कै कुरा सुन्न चाहन्छ । युद्धको बेलामा, सामाजिक परिवर्तनको लडाईं चलिरहेको मैदानमा मायालुको प्रशंसाको कुनै अर्थ रहदैन । तर आफ्नो श्रीमतीसँग दुःख सुख, घर परिवार र आपसी सम्बन्धका कुराहरू गरिरहेको बेलामा क्रान्तिकारीलाई जतिसुकै मन पर्ने भएपनि उ त्यहाँ लडाई, वर्ग संघर्ष र क्रान्तिको संगीतभन्दा कुनै मीठो र शिष्ट प्रेमगीत वा कोमल धुन नै सुन्न मन पराउँछ ।”
तर शुरुमा भनिएझैं आम गरीब श्रमजीवी जनतालाई शोषण उत्पीडनबाट मुक्त गरेर समतामुलक, सभ्य समाज निर्माणको लागि जागरुक बनाउन गाइएका जीवनवादी गीतहरूको लोकप्रियता बजारमा खुब विक्री हुने ‘रुन्ने, पिन्चे’ गीतहरूको ‘लोकप्रियता’ सँग तुलना गर्न मिल्दैन । निःसन्देह जनताका गीतहरू भट्टीपसलहरूमा चर्को स्वरमा घन्काएर रक्सीको मातमा बेश्याहरूसँग नाच्नलाई बजाइने गीतहरू हैनन् ।
अन्तमा,
कुनै पनि समाजको भौतिक समृद्धि र राजनीतिक परिवर्तनलाई सोही अनुरुपको सामाजिक–सांस्कृतिक रूपान्तरणबाट मात्र दिगो बनाउन सकिन्छ । कहिलेका“ही राजनीतिक परिवर्तन एकदिन, एक महिना वा एकवर्षभित्र पनि हुन सक्दछ, तर सामाजिक–सांस्कृतिक रूपान्तरण कुनै निश्चित अवधि तोकेर सम्पन्न गर्न सकिदैन । यस्तो सांस्कृतिक रूपान्तरण भनेको मानिसको चेतना, संस्कार, संस्कृति र व्यवहारमा परिवर्तन गरेर मात्र गर्न सकिन्छ । त्यसैले सामाजिक–सांस्कृतिक रूपान्तरण भनेको एउटा निरन्तर प्रक्रिया पनि हो । अचेतना, शोषण र अन्यायको जगमा उभिएको राजनीतिक व्यवस्थाको अन्त्य गरेर प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना गर्नु आफैमा महत्वपूर्ण कुरा हो, तर मानिसहरूमा सोही अनुरुपको चेतना, चिन्तन, संस्कार र व्यवहारमा परिवर्तन ल्याउनु पनि त्यतिकै जरुरी हुन्छ । किनकि यसको अभावमा जस्तोसुकै राम्रो भनिएको शासन प्रणाली पनि दिगो बन्न सक्र्दैन । यस्तो सांस्कृतिक रूपान्तरणकोे प्रक्रियालाई एउटा निर्दिष्ट लक्ष्यसहितको सुव्यवस्थित सांस्कृतिक आन्दोलनले मात्र गति प्रदान गर्न सक्दछ ।
२०४६ सालको जनआन्दोलनबाट निरङ्कुस पंचायती शासन व्यवस्थाको अन्त भई बहुदलीय शासन प्रणालीको स्थापना त भयो, तर सोही अनुरुप मानिसहरूका आचार, संस्कार र व्यवहारमा परिवर्तन आउन नसक्दा अहिले मुलुकले यो संकट भोगिरहेको छ । तसर्थ हालको बदलिएको सन्दर्भ समेतलाई समेटेर पुनः नयाँ सिराबाट जनसांस्कृतिक आन्दोलनको लहर सृजना गुर्र्न पर्ने बेला भएको छ । यस्तो बेलामा जनताका कलाकारहरूले राजनीतिक पार्टी र तिनका नेताहरूलाई दोषी देखाएर जिम्मेवारीबाट पन्छिन उपयुक्त हुदैन । यसैगरी राजनीतिक पार्टीका नेताहरूले पनि अब ‘खोला तरेर लठ्ठी बिर्सने’ रोगबाट मुक्त भएर जनसांस्कृतिककर्मीहरूको चित्त दुःखाउने काम गर्नु हुदैन । आखिर जनताबाट अपार श्रद्धा र माया पाएका जनकलाकारहरूलाई कसैले बिर्सन चाहदैमा कहाँ इतिहासले बिर्सन सक्छ र ? सानातिना व्यक्तिगत आग्रह र पूर्वाग्रहबाट बाहिर निस्केर जनताका कलाकारहरूले फेरिे आफ्ना थन्किएका बाजामा धुलो पुछ्ने बेला भएको छ, पुन घा“टी नुनपानीले कुल्ला गर्नु पर्ने बेला भएको छ । न्याय र समानताका पक्षपाती विशाल श्रमजीवी जनसुमदाय पुनः जोशिलो ताली बजाउन तम्तयार भएर बसेका छन् ।
‘वेदना परिवार’ देखि ‘इन्द्रेणी सांस्कृति समाज’ सम्म
राल्फा विगठन भएपछि त्यस समुहका सदस्य मध्ये रायन तत्कालिन नेकपा (चौ.म.)सँग आवद्धभै ‘वेदना’ साहित्यिक पत्रिकाको नाममा ‘वेदना सांस्कृतिक परिवार’ को गठन गरी जनसांस्कृतिक अभियानमा लागे । वेदना परिवारले २०३७–३८ सालतिर मंचन गरेको रायनद्वारा संगीतबद्ध ‘सिम्मा’ गीति नाटकले ठूलो चर्चा पाएको थियो । वेदना परिवारका केही चर्चित गीतहरूमा ‘गाउँमा त सरकार थिएन’, ‘ढुङ्गाको शालिक ढल्दैमा हाम्रो छाती ढल्दैन’, ‘मजदुरको भन्नु के हुन्छ र साथ बरिलै’, ‘दुष्टहरूले जेलनेल सास्ती दिंदा पनि’ आदि रहेका छन् ।
नेकपा (चौ.म.) विगठन भएपछि वेदना परिवारका कलाकारहरू पनि छिन्नभिन्न हुन पुगे । एकातिर निर्मल लामाको नेतृत्वमा रहेको चौथो महाधिवेशनको निकटमा रहेर २०४४ सँलमा ‘इन्द्रेनी सांस्कृतिक समाज’ को निर्माण भयो भने अर्कोतिर नेकपा (मोटो मशाल) अर्थात् हालका माओवादीहरूको मातृपार्टीको निकट रहेर ‘सामना परिवार’ नामक संस्थाको स्थापना गरियो । यसका साथै अर्को नेकपा (पातलो मसाल) सँग निकट कलाकारहरूले ‘रक्तिम परिवार’ नामको सांस्कृतिक समुहको गठन गरी छुट्टै रूपमा जनसांस्कृतिक गतिविधि संचालन गर्न थाले ।
इसासका प्रमुख कलाकारहरूमा रायन, सुसन मास्के, नायक, वीरप्रसाद भण्डारी, हरि दर्शनधारी, बदन शर्मा, तुलसीलाल, रंजीत लामा, शरद पौडेल, रमि श्रेष्ठ रहेका थिए । अझ पछिल्लो कालमा आएर इन्द्रेणी सांस्कृतिक समाजमा पनि फूट भयो । एकातिर रायन, हरिगोविनद लुइटेल, हरिदर्शनधारीहरू किर्तिपुर इ.सा.स. गठन गरी कार्यरत छन् भने अर्कातिर निनु चापागाई, सुसन मास्के, शरद पौडेलहरूसहितको समुह चाहिं इन्द्रेणी रक्तिम सांस्कृतिक संगठन नामक समुहमा रहेर काम गरिरहेका छन् । तर लामो समयदेखि ती दुवै समुहहरूका पनि कुनै उल्लेखनीय गतिविधिहरूदेखिएका छैनन् ।
के हो राल्फा आन्दोलन ?
नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनलाई नेतृत्व गर्ने सारथीहरूको उद्गम संस्थाको रूपमा रहेको ‘राल्फा’ बारे प्रायः नेपाली बामपन्थी बाङ्मय मौन रहेको पाइन्छ । पारिजात, मञ्जुल, रामेश, रायन, अरिम, निनु चापागाई जस्ता प्रगतिवादी सांस्कृतिक–साहित्यिक हस्तीहरू यसै आन्दोलनको पुल तरेर बामपन्थी प्रगतिशील किनारमा आइपुगेका श्रष्टाहरू हुन् । यद्यपि राल्फा कुनै प्रगतिशील दर्शन बोकेको आन्दोलन थिएन, तर यसले साहित्य र संगीतको माध्यमबाट समाजमा विद्यमान विषमता र विकृतिहरूका विरुद्धमा एउटा चोटिलो विद्रोहको सृजना गरेको थियो । तत्कालीन निरङ्कुस शासन र सत्ताप्रति उनीहरू गीतबाट यसरी तिरस्कारको झटारो ङ्खयाँदथे–
ढुङ्गा बर्साउन् बादलका थोपाहरू
आगो फुलाउन् गुराँसका नरम थुङ्गाहरू
भाँचियुन् यहाँका प्रत्येक कैदी सडकहरू
मेरो बुढो हिमालको देशभित्र आदिम पशुको राज
तिम्रो नाममा विज्ञापित हुन हामीलाई स्वीकार छैन ।
राल्फाभित्रको वैचारिक अन्यौलबारे मञ्जुलको स्वीकारोक्ति यस्तो छ–
“हामी अन्याय, अत्याचार, शोषण र दमनको विरोध गर्ने विचार हामीले नै जन्माएको दाबी गथ्यौं । इतिहास मान्दैनौं भन्थ्यौं । (इतिहासविनाको अग्रगति कस्तो होला ?) सम्पूर्ण परम्परा, संस्कार र मान्यताहरू भत्काइदिन्छौं भन्थ्यौं (परम्पराभित्रको असल पक्ष देख्दैनथ्यौं) । फ्री सेक्स अथवा खुला यौनसम्बन्धको पक्षमा कुरा गथ्यौं (यथार्थमा हामी यौन सम्बन्धलाई कडा र सतर्क रूपले हेथ्यौं । महिलाको शरीरमा कसैले स्पर्शसम्म गरेको हामी मन पराउदैनथ्यौं) । एक किसिमले भन्ने हो भने वैचारिक रूपमा दस ठाउँ गुजुल्टिएर गा“ठो परेको धागोको डल्ला जस्तै थियौं हामी । तर सा“चो कुरा के थियो भने हामी राजनैतिक परिपाटीले सृजना गरेको विकृत सामाजिक स्थितिसँग एकदमै असन्तुष्ट थियौं । डाङडुङ पारेर भत्काइदिन चाहान्थ्यौं हामी यस क्रुर, अविवेकी, खुङ्खार, अपराधी पुरानो समाज व्यवस्थालाई ।” (सम्झनाका पाइलाहरू)
२०१९ सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत सम्मेलनमा भाग लिन ओखलढुङ्गाबाट आएका रामेश, रायन र अरिमले २०२१ सालदेखि रेडियोमा गीत गाउन थाले । यस बीचमा २०२२ सालतिर गायक रामेश र कवि मञ्जुलको भेट भयो । २०२३ सालतिर उनीहरूले आफूले गीत गाएवापत पाउने पैसा रेडियोभित्रकै एक गिरोहले किर्ते सही गरेर चप्काइरहेको कुरा थाहा पाए । यस कुराको भण्डाफोर भएपछि उल्टै उनीहरूलाई रेडियोमा गीत गाउनबाट बञ्चित गरियो । यस घटनाका कारण एक किसिमले हतास मनस्थितिमा रहेका रामेश, रायनहरूलाई उनीहरूको गीतबाट प्रभावित रहेकी साहित्यकार पारिजातले ढाडस र हौसला दिने काम गरिन् । यसपछि २०२४ सालमा पारिजातकै प्रोत्साहन र प्रेरणाबाट रामेश्वर श्रेष्ठ (रामेश), नारायणभक्त श्रेष्ठ (रायन), अरुण–ऋषि–मनोज श्रेष्ठ (अरिम) र पछि मेघराज नेपाल (मञ्जुल) सम्मिलित एउटा समुह बन्यो– ‘राल्फा’ । अर्थ न बर्थको शब्द ‘राल्फा’ नामको यस संस्थामा पछि गणेश रसिक, केदार न्यौपाने (सिसाल), प्रदिप नेपाल (सिरोज सोनोभ), खगेन्द्र बस्नेत (सिमोस), लक्ष्मी कोइराला (रेमन राकेला), हरि श्रेष्ठ (नोरेम निगेसा), निरन सापकोटा, विमल चापागाईं आदि पनि सम्मिलित हुन पुगे । राल्फाका विद्रोही गीतहरू सुनेपछि उनीहरूका बामपन्थी शुभचिन्तकहरूले राल्फाको अर्थ निकाल्ने प्रयास गरेका थिए – ‘रिभोल्युनशनरी लेफ्टिष्ट फ्रेण्डस् अफ एशिया’ ।
राल्फा केवल सांगीतिक समुह मात्र थिएन, यसमा साहित्यकार र चित्रकारहरू पनि सम्मिलित थिए । उनीहरू गीत, संगीत, साहित्य र कलाको माध्यमबाट समाजमा विद्यमान विसंगतिविरुद्ध जाइलाग्न चाहन्थे । साहित्यिक क्षेत्रमा उनीहरूले विमलको सम्पादनमा ‘विद्रोह’ र नोरेमको सम्पादनमा ‘यन्त्रणा’ नामक साहित्यिक पत्रिकाको प्रकाशित गरेका थिए । यही राल्फाली अवधारणा अन्तरगत पारिजातको जीवनकथामा आधारित ‘छेकुडोल्मा’ उपन्यास मञ्जुलले लेखे भने पारिजातले ‘महत्ताहीन’ नामक उपन्यास लेखिन् । मञ्जुलका अनुसार गोरखबहादुर श्रेष्ठ (रामेशको ठूलो दाई), शशी शाह, इन्द्र मानन्धर, बत्सगोपाल वैद्य आदि चित्रकारहरू पनि राल्फाली अभियानमा जोडिएका थिए । तर राल्फाबाट कलाको क्षेत्रमा चाहि खास उल्लेखनीय गतिविधि संचालन हुन सकेको देखिदैन ।
२०२५ सालतिर महेन्द्र पुलिस क्लबमा आयोजित ‘निलो जून’ शीर्षकको गीतिकार्यक्रमबाट राल्फाले आफ्नो सांगीतिक अभियानको थालनी गरेको थियो । त्यसबखत राल्फाका शुभचिन्तकका रूपमा रहेका कवि भूपि शेरचनलाई उक्त कार्यक्रममा मन्तव्य दिनका लागि अनुरोध गरिएको थियो । तर उनले त्यसलाई अस्वीकार गरेका थिए । तर उक्त कार्यक्रम अद्भूत रूपमा सफल भएको देखेपछि उनले पछि एक डिनरको आयोजना गरी राल्फालीहरूसँग क्षमा याचना समेत गरेको कुरा मञ्जुल स्मरण गर्दछन् । त्यसपछि काठमाडौं, वीरगंज, विराटनगर, पोखरा, पाल्पा, दार्जिलिङ, कालेम्पोङ र सिलाङमा अनेक सफल सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरेर राल्फा लोकप्रियताको चरम उत्कर्षमा पुगेका थियो ।
त्यसबखत पश्चिमी संगीतमा सनसनी मच्चाइरहेको चार सदस्यीय विटल्स समुहको नक्कल गर्दै रामेश, रायन, अरिम र गणेश रसिक गरी चारजनाकै राल्फाली सांगीतिक समुह बनाइएको थियो । शुरुमा मञ्जुल गीत लेख्ने र उद्घोषण मात्र गर्दथे । तर ‘राल्फाली आचारसंहिता पालन गर्न नसकेर’ (मञ्जुलकाअनृुसार त्यसबखत राल्फाले मादकपदार्थ नखाने र मायाप्रितिको गीत नगाउने आचारसंहिता बनाएको थियो) राल्फाबाट बाहिरिएका गणेश रसिकले २०२६ सालतिर हिरण्य भोजपुरसँग मिली अर्को सांगीतिक समुह ‘लेकाली परिवार’ निर्माण गरेपछि चारजनाको राल्फाली सांगीतिक टोलीमा एकजनाको ठाउँ खाली हुनपुग्यो । पछि गोरखबहादुर श्रेष्ठको सल्लाहअनुसार सो रिक्त ठाउँमा मञ्जुललाई समावेश गरिएको थियो । त्यसपछि मात्र मञ्जुल कवि, गीतकार र उद्घोषकबाट गायक समेत बन्न पुगेका थिए ।
२० को दशकतिर पश्चिमी संसारमा तहल्का मच्चाउने विट् जेनेरेशन, भारतको ‘हंग्री जेनेरेशन’ को प्रभाव पनि यस समुहका मानिसहरूमा परेको थियो । त्यसैले उनीहरू आफूलाई ‘राल्फा जेनेरेशन’ अथवा ‘राल्फा सन्तति’ पनि भन्दथे । राल्फालीहरूमा त्यस समयका चर्चित पश्चिमा विद्रोही कवि कलाकारहरू– पिट सिगर, बब डाइलन, जोन वाइज, पाउल साइमन, आर्ट गार्फुङ्केल, बब मार्ली, एलेन गिन्सवर्ग र विटल्सहरूको ठूलो प्रभाव थियो । रामेश अनि मञ्जुल सम्झिन्छन्– उनीहरू पल साइमन र गार्फुङ्केलको ‘साउण्ड आफ साइलेन्स’, बब डाइलनको ‘द टाइम्स दे आर अ चेन्जिङ’ जस्ता गीतहरू अत्यधिक सुन्ने गर्दथे । आजको जस्तो संचारसाधनको सुगमता नभएता पनि एकजना सान्द्रा जेडिस्टाइन नाम गरेकी अमेरिकन महिला (जसले पारिजातको ‘शिरिसको फूल’ उपन्यासको अंग्रेजी अनुवादको सम्पादन गरेकी थिइन्) ले ती विदेशी कलाकारहरूका गीतहरू सुन्ने सुविधा मिलाइदिएकी थिइन् । यसका साथै विभिन्न स्पेनिस, जापानी र अफ्रिकन संगीतहरू पनि उनीहरू सुन्दथे र तिनमा भएको राम्रा पक्षहरूहरूको अनुशरण गर्दथे । यसरी विभिन्न अन्तर्राष्ट्रिय संगीतहरूको प्रभावसमेतबाट राल्फा समुहले पनि प्रचलित शैलीभन्दा भिन्न प्रकारका गीत–संगीतको रचना गर्न थाले । यहीं पृथक शैलीको गायन, बादन, साज संयोजन, गीत लेखन र प्रस्तुतिको कारण योे समुह त्यसबखतका बौद्धिक समुदाय बीच अत्यन्त चर्चाको विषय बन्न पुगेको थियो । त्यस समयका बामपन्थी वुद्धिजीवी तथा लेखकहरू भूपि शेरचन, गोविन्द भट्ट, आनन्ददेव भट्टदेखि प्रजातान्त्रिक खेमाका तुलसी दिवस, केदारनाथ श्रेष्ठ आदिले राल्फाली समुहमाथि अत्यन्त चासोपूर्वक हेरिरहेका थिए । कुनै पनि सिद्धान्त नमान्ने राल्फालीहरूलाई वामपन्थी वुद्धिजीवी गोविन्द भट्टले अब तिमीहरूले माक्र्सको पनि खण्डन गर्नु पर्छ भन्दै अप्रत्यक्ष रूपमा माक्र्सवादी सिद्धान्त पढ्न उक्साउने गरेकोे कुरा मञ्जुल स्मरण गर्छन् ।
तर विस्तारै राल्फाभित्र विभिन्न कारणले आपसमा वैमनस्यता उत्पन्न हुन थाल्यो । समुहभित्र एकको अनुपस्थितिमा अर्कोको कुरा काट्ने जस्ता प्रबृत्तिहरू देखिएपछि रामेश, मञ्जुल र अरिम राल्फाबाट विस्तारै टाढा हुन थाले । यस्तैमा २०२७–२८ सालतिर उनीहरूले पूर्वी पहाडका जिल्लाहरूमा एउटा लामो गीति यात्रा सम्पन्न गरे । ओखलढुगा, खोटाङ, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका विभिन्न स्थानहरूमा गीत गाउँदै हिंड्ने क्रममा उनीहरूको कार्यक्रम आयोजना गर्ने, प्रशासन र मण्डलेहरूको आक्रमणबाट जोगाउने र उनीहरूमा रहेको अपरिपक्व चिन्तनलाई सच्याउन मद्दत गर्ने तत्कालिन बामपन्थी कार्यकर्ता र बुद्धिजीवीहरू केदार राई, बासु शाक्य, महेश्वरमान श्रेष्ठ, गोविन्द न्यौपाने आदिको संसर्गले गर्दा नजानिदो ढंगले उनीहरू तत्कालीन एक कम्युनिष्ट समुह ‘कोअडिनेशन कमिटी’को निकट पुगिसकेका थिए । रामेश र मञ्जुल काठमाडौं फिर्दा नफिर्दै यता काठमाडौंमा रहेका पारिजात, रायन र निनु चापागाई“हरू चाहिं तत्कालिन नेकपा चौथो महधिवेशन समुहमा आबद्ध भैसकेका थिए । तैपनि सो गीतियात्राभरि नै रामेश र मञ्जुलले राल्फाकै पहिचानमा गीतहरू गाएका थिए । रामेश र मञ्जुल २०२९ सालतिर काठमाडौं फर्केपछि रायन र रामेशहरू बीच रेडियो नेपाललाई प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भयो । यसले उनीहरू बीचको दुरीलाई मात्र बढाएन, यसपछि राल्फाको अस्तित्व नै समाप्त भयो ।
साभार : श्रमिक खबरबाट
प्रकाशित मिति : ३२ असार २०७९, शनिबार ३ : ०५ बजे
प्रतिक्रिया