विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते

बुटवल । राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । 

नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरूले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरूले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो । 

दलीय भागबन्डामा कुरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबिचको विवाद बाहिर आएपछि काँग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कडेलका अनुसार घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते हुनेमा काँग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । 

दुई पक्षले इट्टा र ढुङ्गा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरूको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट प्रभावित अति विपन्नका लागि सङ्घीय सरकारबाट गाउँपालिकाको वडा नम्बर ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं२)को कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरू रकम पाउनबाट वञ्चित हुने देखिएको छ ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : १९ बजे