‘एउटै नाउरको सिकार गर्न २३ लाख’

असार भित्रको म !

पहिलेको असार !
विध्यालय विदा,
धान—कोदो लगाउनलाई नै होला 
रमाउँथेँ, लामो विद्यालयको पढाइको बोझ मुक्तिको आभासले
मुक्त मनले खुला आकासमुनि भरिला मकैका फेदहरूमा
बन्सो काट्दै डोकाभरी झपक्क पार्थे कहिले
गाउँका लोक भाकाहरूमा मनका तरंगहरू बिसाउँदै
मकैका ठुला—साना घोगाहरू डोकामा घेरा लगाएर
बा—आमाका मेहनतमा आफ्ना पसिना थोपाहरू थपेर
खेतबारीबाट मकैका भारीहरू घरका पिढीमा बिसाउँथेँ म ।
मानो खाएर मुरी फलाउने बेला हो, 
सुनाएर बा रोपाईंको तारतम्यमा चनाखो हुनुहुन्थ्यो
खाजापानी र खेतालाको लागि आमा जुट्नुहुन्थ्यो
बा—आमाको निर्देशनलाई म खुब ख्याल गर्थे
असारभित्र म हराउँथेँ ! 
खला बाँधेको, दककादे लाएको
हिलो खेल्दै असारे र घाँसे गीत गाएको
ती रोमान्चक क्षणहरूमा, 
हो असारभित्र म हराउँथेँ ।

अहिलेको असार !
जागिर खाएको छु,
असारको छुट्टै विदा छैन 
प्रशिक्षण प्याकेजहरू तयार हुन्छ
गाउँका अगुवाहरूका लागि 
अनि बौद्धिक विमर्शमा
समय बितेकै छ !
सभामा महिला जनप्रतिनिधिको आवाज बुलन्द पार्न 
उद्यमशीलताको रेखा कोर्न र रङ्ग भर्न 
जब कतै धान रोपाईं देख्छु अनायास
आहा ! असार पो हो त !
पुनरावृत्ति हुन्छ, पहिलेको असार !
माना खाएर मुरी फलाउने बेला !
गुन्जन्छ बुवाको आवाज र आमाको आकृति !
आहा ! असार भित्रको म ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ३२ बजे