मनसुन क्रमशः क्षीण हुँदै

अध्यक्ष ओली र मदन भण्डारी फाउन्डेसनका सचिवालय सदस्यहरूबिच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी फाउन्डेसनका संरक्षक केपी शर्मा ओलीसँग मदन भण्डारी फाउन्डेसनका सचिवालय सदस्यहरूले भेटघाट गर्नुभएको छ । 

बिहीबार एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा उहाँहरूले भेटघाट तथा अन्तर्क्रिया गर्नुभएको हो । 

अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले वैचारिक खोज अध्ययन अनुसन्धान प्रशिक्षणका लागि फाउन्डेसनले गरेको काम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । ‘फाउन्डेसनको स्थापना आफैमा महत्त्वपूर्ण घटना थियो । जननेता मदन भण्डारीका विचारलाई मौलिक विचारका रूपमा अघि बढाउने माध्यमको रूपमा यसको स्थापना अपरिहार्य थियो । त्यस्तै नभए पनि वैचारिक खोज, अध्ययन-अनुसन्धान, प्रशिक्षण तथा विस्तारका लागि आज पनि फाउन्डेसनको महत्त्व उत्तिकै छ’,उहाँले भन्नुभयो । 

कम्युनिस्ट पार्टीको एकता तथा आन्दोलनलाई सबल पार्न गरिएका प्रयत्नहरूमा कहिलेकाहीँ मदन भण्डारीका विचारलाई थाती राख्ने काम भएको स्मरण गर्नुहुँदै उहाँले विचारलाई जड विषय बनाउन नहुने बताउनुभयो । ‘अर्को कुनै नामबाट उही उद्देश्य प्राप्त हुन्छ भने हामी लचिलो पनि बन्नुपर्ने हुन्छ । मूल कुरो विचारलाई जड विषय बनाउन, तोडमोड गर्न र दुरुपयोग गर्न हुँदैन’,उहाँले भन्नुभयो । ‘

मदन भण्डारी फाउन्डेसन मूलतः वैचारिक संस्था रहेको बताउनुहुँदै अध्यक्ष ओलीले सामाजिक जीवनका हरेक क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘सही उद्देश्य बोकेर योजनाबद्ध रूपमा क्रियाशील हुँदा सफलता प्राप्त हुन्छ’,उहाँले भन्नुभयो । ‘फाउन्डेसनले जे जति गरेको छ, राम्रो गरेको छ । यहाँहरूले गरेका कामको प्रशंसा गर्दछु । तर यसले गर्नुपर्ने काम र समेट्नुपर्ने क्षेत्र धेरै छन् । ध्यान दिएर अघि बढ्नुहोला । ’ 

त्यस्तै अन्तरक्रियाका क्रममा फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारीले गत चैतमा सम्पन्न राष्ट्रिय सम्मेलनदेखि हालसम्मका गतिविधिबारे जानकारी गराउनुभएको थियो । सचिव पेम्बा लामाले फाउन्डेसनका संरचनागत र विषयगत कामको अवस्था तथा भावी योजनाबारे आफ्ना भनाइ राख्नुभएको थियो । 

अन्तर्क्रियाका क्रममा सचिवालयका अन्य सदस्यहरूले पनि आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : २५ बजे