प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडौँ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । 

भारतले तीन हजार टेन्ट र १०  रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । 

भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो । 

हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो ।

गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो । 

समारोहमा राजदूत श्रीवास्तवले भारत र नेपाल सुख, दुःखको साथी रहेको तथा आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाउनुभयो ।

मनसुनको सुरुआतमा राहत सामग्री सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाउनुभयो । 

उहाँले भूकम्पका समयमा पनि भारतले सहयोग गरेको स्मरण गर्नुभयो । रासस

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ४४ बजे