आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

एक हजार ५०० पिन्ट रगत खपत, बिरामीलाई राहत

टीकापुर । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र टीकापुरमा एक हजार ५०० पिन्ट रगत खपत भएको छ । केन्द्रले यस वर्ष टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीका लागि रगत आपूर्ति गरेको हो । यसमध्ये केही पिन्ट रगत अन्य अस्पतालमा पनि लगिने गरिएको छ ।

दशक अघिदेखि रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ । रेडक्रसले रगत आपूर्ति गर्न थालेपछि अस्पतालमा आउने बिरामीले ठूलो राहत पाउन थालेका हुन् । रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी र सिकलसेलका बिरामीले राहत पाएका छन् ।

नागरिकको रगत लिने तर अरुलाई आवश्यक पर्दा नदिने बानीले बिरामीलाई चाहिने रगत आपूर्तिमा समस्या थपिँदै गएको रेडक्रस उपशाखा टीकापुरका रक्तसञ्चार केन्द्र संयोजक टेकराज विनाडी बताउनुहुन्छ । “हामीले रक्तदाताको लिस्ट बनाएर बोलाइ–बोलाइ रगत आपूर्ति गर्दै आएका छौँ, अभाव भएका बेला धेरैलाई अनुरोध गछौँ”, संयोजक विनाडी भन्नुहुन्छ, “रगत दिएपछि मात्र पाइन्छ भन्ने सोच विकास हुन आवश्यक छ । हामीले हरेक उत्सव तथा कार्यक्रममा रक्तदान गर्न प्रोत्साहन गर्दै आएका छौँ ।”

रक्तसञ्चार केन्द्रलाई टीकापुरस्थित सन्त निरंकारी मण्डल, मानव धर्म सेवा समितिलगायतका संस्थाले नियमित रक्तदान कार्यक्रम गर्दै आएका छन् भने पछिल्लो समय राजनीतिक दल र तिनका भातृ सङ्गठन र विभिन्न सङ्घसंस्थाले समेत रक्तदान कार्यक्रम गर्दै आएका छन् । यसरी रक्तदानबाट जम्मा भएको रगत रक्तसञ्चार केन्द्रले आफूसँग राख्ने र बढी भए धनगढी पठाउने गरेको छ । रक्तसञ्चार केन्द्रले भजनी, लम्की, जोशीपुर, जानकीबाट पनि रगत सङ्कलन गर्ने गरेको छ । 

हरेक वर्ष नियमित रक्तदान गर्दै आएको संस्था सन्त निरंकारी मण्डलका केन्द्रीय प्रभारी नरबहादुर रावल रगत मानिसको जीवन बचाउनका लागि आवश्यक पर्ने भएकाले गर्दै आएको बताउनुहुन्छ । “हामीले नागरिकलाई आवश्यक भएका बेला पनि गर्ने गरेका छौँ, नागरिकको भलाइ र जीवन बचाउनका लागि रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने सन्देश दिन रक्तदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारी रक्त सञ्चार केन्द्र अस्पतालमा आउने बिरामीको जीवन बचाउन गरेको कार्य सराहनीय रहेको बताउँदै सेवा थप विस्तारमा सबैको सहयोग रहनुपर्ने बताउनुहुन्छ । “अस्पतालमा शल्यक्रियालगायतका सेवा लिन आउने बिरामीलाई धेरै राहत भएको छ । दिनहुँ रगत अभाव भएका बेला रेडक्रसले दिएको सेवाले राहत भएको छ”, उहाँ भन्नुहुन्छ, “मानिसको जीवन बचाउनका लागि सेवा नियमित र थप विस्तार हुन आवश्यक छ ।”

नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका केही वडा र जोशीपुर गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई दुई पिन्ट रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन् । यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क एकमुष्ट उपलब्ध गराउने गरेका छन् ।
 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ११ बजे