‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

निर्वाचनमा पराजित नेताको दुर्दशा र गर्भमै बच्चा गुमाएकी आमाको पीडा

नेपाली समाज बहुभाषी, बहुजातीय र बहुसांस्कृतिक छ । समाजमा बस्ने विभिन्न समुदायको आफ्नै कला, संस्कृति, रीतिरिवाज र चाल चलन हुनु स्वाभाविक हो । यसरी हेर्दा हाम्रा हरेक जातजाति भाषाभाषी तथा समुदायहरूको चालचलन र संस्कृतिमा विविधता छ । त्यस कारण नेपालमा सांस्कृतिक बहुलता छ भनेर हामीले बुझ्ने, भन्ने र लेख्ने गरेका छौँ । तर यति धेरै विविधता भए पनि हाम्रा बीचमा केही कुराहरू भने एकनासका छन् । हामीले त्यसलाई समान ढङ्गले अवलम्बन गरिरहेका छौँ । ती समान कुराहरू खोज्ने हो भने जति विविधता भेटिएलान् त्यसको केही मात्रामा समानता पनि भेटिन्छन् । यस आलेखमा त्यस्तै प्रकारको समानता मध्येको एउटा समान अनुभूति पस्किने प्रयास गरिएको छ । 

समाजमा रहेका सबै जाति, सबै समुदाय र सबै भाषाभाषीमा पाइने एउटै समानता भनेको के हो भने सबैले जित्नेको गुणगान गाउँछन्, उसको पछि लाग्छन् अनि उसैलाई सर्वोपरि ठान्दछन् । यसै कारणले होला इतिहास जित्नेको लेखिन्छ र जित्ने भगवान, हार्ने राक्षस बन्दछ । 

यस्तै समानता समाजमा एउटा दुखी आमाको कथामा पनि भेटिन्छ, जसले ९ महिना आफ्नो बच्चा गर्भमा राखेर हुर्काएकी हुन्छिन् र सुनौलो सपना देखिरहेकी हुन्छिन् । हरेक आमाले आफ्नो जन्मिने बच्चा समाजको ठुलो मानिस बनोस्, आफ्नो पेटमा भएको बच्चा हरेक कार्यमा अब्बल देखियोस्, समाजका हरेक सदस्यले उसको चर्चा गरून् । यस्तै यस्तै सपना बुनिरहेकी हुन्छिन् । जब बच्चा जन्मिने बेला भइरहेको हुन्छ, कहिलेकाहीँ घरमा झगडा हुन्छ । त्यसै बेला श्रीमान्ले कुटपिट गर्छ र सो कुटाइबाट बच्चा पेटमै मरिदिन्छ । बाहिर निस्कँदा मरेको जन्मिन्छ वा यस्तै कुनै घटना वा दुर्घटनाका कारणले बच्चा पेटमै मरिदिन्छ, जन्मिदा मरेको जन्मिन्छ वा जन्मिने प्रक्रियामा सुँडेनी वा प्रसूतिकर्मीको लापरबाहीको कारणले बच्चा जीवित जन्मिन सक्दैन । तर त्यो मृत बच्चा मर्नुको दोष सबै तिनै आमाले बोक्नुपर्दछ । यो समाजको तितो सत्य हो ।

कहिलेकाहीँ आमाले नखान पर्ने खाना खाएर वा गर्न नहुने क्रियाकलाप गरेर बच्चा पेटमा मर्न गएको खण्डमा त्यसको दोष आमाले पाउनु स्वाभाविकै होला तर त्यो दोष लिँदै गर्दा पनि आमाको मनोदशाको बारेमा, उसको स्वास्थ्यको बारेमा त्यो परिवारले ध्यान दिएको देखिँदैन । आमाले ९ महिनासम्म गर्भधारण गरेर बोकेको पीडा एकातिर छ, अर्कोतिर त्यो बच्चा जन्माउँदा हुने दुःख जसलाई हामी प्रसव पीडा र प्रसव पछाडिको वेदना भनेर बुझ्दछौँ, यदि बच्चा जीवितै जन्माउन सकेको खण्डमा यो सबै कुरा बिर्साउने गरी परिवारले स्याहार गर्छ, पोषण दिन्छ । सरकारले पनि सुत्केरी बिदा दिन्छ । सन्तान जे जन्मिन्छ छैँठीकर्म, न्वारान, पास्नी सबै प्रक्रियामा आमाको ख्याल हुन्छ तर एउटा बच्चा खेर गएकी आमाको लागि न तातो झोलको व्यवस्था हुन्छ, नत पोषणको कुनै गुञ्जायस, न परिवारको माया न कसैको स्याहार, समाजमा केवल नकारात्मक कुरा । कुनै ठाउँमा त श्रीमान्लाई उक्साउने काम समेत गरेर थप रडाको उत्पन्न गरेको भेटिन्छ । एकातिर ती महिलालाई बच्चा गुमेको पीडा छ भने अर्कातर्फ शारीरिक पीडा । त्यसमाथि थपिन्छ विभेदको थुप्रो र लाञ्छनाको टिका । परिवार र समाजले सबै भुलिदिन्छ, के कारणले गर्दा बच्चा खेर गयो ?? श्रीमान्को कुटपिटले, पारिवारिक तनावले, कठोर परिश्रमले वा कुनै अज्ञात कारणले ?? यसको कारण सितिमिति विश्लेषण गरिँदैन । कारकहरू सबै बिर्सिन्छ कारणहरू सबै हराउँछन्, ती आमालाई केवल रहन्छ  त्यसको मानसिक पीडा । परिवारले ती आमालाई सुत्केरी मान्दैन र उनलाई माइती बस्न माइतीले पनि लिन जाँदैनन् । न त सरकारले बिदा नै दिन्छ । यो नेपाली समाजको साझा विशेषता हो । सबै जातजाति, भाषाभाषी वा समुदाय सबैमा यो पीडा आम दिदीबहिनी, आमाहरूले खपिरहेको अवस्था हो । यसको कारण उसले जित हासिल गर्न नसक्नु वा सकुशल बच्चा जन्माउन नसक्नु हो । 

यसरी हाम्रो समाजमा एउटा गर्भमा बच्चा गुमाएकी आमाले यो पीडा बोकेर बाँचिरहेकी हुन्छिन् । उनलाई रातमा नीद लाग्दैन भने पेटमा भोक भए पनि कुनै कुरा खान मन लाग्दैन । उनलाई त्यही नजन्मिँदै गुमेको बच्चाको मात्रै याद आउँछ । समाजले त्यो आमाको न पीडा बुझ्छ, न त वेदना नै ।

ठिक यस्तै अवस्था निर्वाचनमा पराजित पार्टीका नेताहरूको देखिन्छ । कम्युनिष्ट पार्टीले सामूहिकताको कुरा गर्दछ । सादा जीवन, उच्च विचारको कुरा गर्दछ । प्रगतिशील निर्वाचन प्रचार शैली प्रयोग गर्ने कुरा गर्दछ । निर्वाचनमा हार्ने वा जित्ने पार्टी हो भन्छ ।  निर्वाचन पार्टी लड्दछ  भनिन्छ, तर निर्वाचित भइसकेपछि जित्ने र हार्ने बीचमा त्यहाँ पनि विभेदजन्य व्यवहार देखिन थाल्दछ । जसरी एउटा मृत बच्चा जन्माएकी आमाको अवस्था हुन्छ, ठिक उसै गरी पराजित नेताको अवस्था त्यस्तै हुन्छ । लामो समयदेखि पार्टीमा उसको लगानी हुन्छ । आफ्नो अधिकांश समय पार्टी काममा खर्चेर काम गरिरहेको एउटा कार्यकर्ताले निर्वाचनमा जब उम्मेदवार बन्न पाउँछ, उसले निर्वाचनमा लाग्ने  सबै खाले खर्च उसैले जुटाउनुपर्छ ।  उसले आयआर्जनको काम गर्ने बेला पार्टी काममा लागेको हुन्छ, तर अब उसले यी सबै कुरा भुलेर पैसा जुटाउन जुट्नुपर्दछ । पार्टी नेता कार्यकर्ता, विपक्षी पार्टी तथा आमजनताको नजरमा ऊ चौबीसै घण्टा तरोताजा हुनुपर्दछ । मानौँ ऊ मसिन हो । मसिनले बरु थकाइ मार्न पाउँछ, तर उसलाई थाक्न छुट छैन । हरेकका घर घरमा ऊ पुग्नै पर्दछ । पार्टी नेताहरूको चित्त नबुझे फेरि के के हुने हो ? आम कार्यकर्ता परिचालन उसको क्रियाशीलतामा भर पर्ने कुरा हो भनिन्छ । लाखौँ, करोडौँ खर्च उसको दायित्व भित्रको विषय हुन्छ । नोट हुन कि साल घारीमा झरेका सालका पात, उसले वास्ता गर्नै हुन्न । पृथ्वी गोलो भएरै होला, सबै ठाउँमा एकै पटक उज्यालो हुँदैन । मानिसको पनि अगाडि मात्रै दुई वटा आँखा भएर होला चारैतिर एकसाथ देख्न सक्दैन । तर, एउटा उम्मेदवारले चारैतिर देख्नै पर्छ, सबैतिर सुन्नै पर्दछ, मानौँ उसका लागि यो पृथ्वी च्याप्टो छ (The world is flat) । 

पार्टीमा टिम भन्ने हुन्छ । त्यो टिमका पनि आआफ्नै विशेषता हुन्छन् । हिँड्दा, डुल्दा, बस्दा, खाँदा मानिसले कसैलाई नराम्रो गरौँ भनिरहेको हुँदैन, अझ निर्वाचन जित्न कम्मर कसेको उम्मेदवारले त यस्तो सोच्न पनि सक्दैन । तर टिमभित्रका सबैलाई सबैको बानीबेहोरा मन पर्छ भन्न सकिँदैन । तर ती सबै टिमका सदस्यहरूको कमीकमजोरीको जिम्मा पनि उम्मेदवारले लिनुपर्दछ । पार्टीभित्र उम्मेदवार बन्ने आकाङ्क्षी हुन्छन् र तीमध्ये एउटाले मात्र टिकट पाउँछ र उम्मेदवार बन्दछ । पार्टी भन्दछ, निर्णय भइसकेपछि सबैले मान्नुपर्दछ । एउटा व्यक्तिले चुनाव जित्ने होइन, पार्टीले जित्ने हो । तर टिकट नपाएको आकाङ्क्षीले मैले पाएको भए जित्थेँ, उसले त मैले जति मत ल्याउन सक्दैनथ्यो भन्ने दाबी गरिरहेको हुन्छ । त्यो दाबी पुष्टि गर्न उसले अनेक हतकण्डा अपनाइरहेको हुन्छ । त्यहाँ पार्टी होइन, एउटा व्यक्ति निर्वाचन लडे जस्तै गरेर काम सुरु गरिएको हुन्छ । हरेक मतदाताले उम्मेदवारलाई भेट्न खोजिरहेका हुन्छन् । तिनलाई सम्झाइ—बुझाइ गरेर मिलाउने कुरा पार्टीले गरेको हुनुपर्ने हो । उम्मेदवार कुनै व्यक्ति होइन, पार्टी हो हामी सबै हो, हाम्रा सबै कमिटी हुन् भनेर बुझाउन पर्ने हो । तर आज यो अवस्था विकसित भइरहेको देखिँदैन । यो अप्ठ्यारो परिस्थिति चिरेर निर्वाचन सम्पन्न भएपश्चात् त्यसमा विजय प्राप्त हुँदा दुई वटा मानसिकता विकसित भएको हुनसक्छ । एकातर्फ विजयी व्यक्तिले यो निर्वाचन मैले जितेँ भन्ने र पार्टीलाई नगन्ने र अर्को मानसिकता यो विजय पार्टीले नै प्राप्त गरेको हो भनेर जाने । निर्वाचन पार्टीले नै जितेको हो र त्यसलाई सृजनशीलताका साथ पार्टीले अगाडि सारेको घोषणापत्रका आधारमा काम गर्नुपर्दछ ।

तर निर्वाचन हारेको नेताको हकमा भने बिचल्ली नै देखिने गरेको छ । उसलाई पार्टीले वास्ता नै नगरेको, उसले गरेका दुःख कष्ट र आर्थिक लगानीको बारेमा सामान्य चर्चा समेत नगर्ने गरिएको देखिन्छ । पार्टीका कुनै पनि फोरममा उसको गनितो मनितो हुँदैन । उसको लगानी, उसले गरेका योगदान सबै नगन्य हुन्छन् । ऊ अयोग्य ठहरिन्छ । ऊमाथि घात—प्रतिघात भएको हुन्छ । उसलाई सेक्ने भनेर पार्टी भित्रैको पङ्क्ति कम्मर कसेर लागिरहेका हुन्छ । त्यसो गर्ने कतिपयलाई नेतृत्वको आड भरोसा समेत प्राप्त भइरहेको हुन्छ । नेतृत्वसमक्ष जिते मैले जिताएँ भन्ने, हारे उम्मेदवारको कमजोरीले हार्‍यो भन्ने गरिएको हुन्छ । ‘विक्षिप्त हरुवा’लाई अनेक लाञ्छना लगाइएको हुन्छ— पैसा निकाल्न कन्जुस्याइँ गरेर हारियो, मान्छे नगनेर हारियो, विपक्षीले म उठेको भए सघाउँछु भनेका थिए, ऊ भएको हुनाले हारियो आदि इत्यादि । 

यहाँ हार्ने पार्टी हुँदैन, एउटा निरीह उम्मेदवार, जो पार्टीका निम्ति उम्मेदवार बन्यो, पैसा खर्च गर्‍यो, समय खर्चियो, परिवारलाई तनावमा राख्यो । ऊ हारिरहेको हुन्छ । उसको योजनाहरूले हारेको हुन्छ । उसका विगतको त्याग, तपस्या र बलिदानले हारिरहेको हुन्छ । बदमासी गर्ने, अन्तर्घात गर्नेले बलियो नेताको फेरो समाउन पुग्छ र भन्छ— कहाँ हजुर हामीले बहुतै कमजोर उम्मेदवार उठाउनाले यो परिणाम आयो । ऊ पानी माथिको ओभानो हुन्छ । ऊ ठुलो पदभागी हुन्छ, ऊ दण्डित हुँदैन, बरु पुरस्कृत हुन्छ । 

यस्तो वातावरणमा पार्टीले कुनै पनि दिन निर्वाचनमा पराजित भएका नेतालाई बोलाउने, सान्त्वना दिने, उसले गरेका आर्थिक लगानीका बारेमा अब यसरी जानु राम्रो हुन्छ भनेर सल्लाह वा सुझाव दिने, उसको अबका दिनमा कसरी व्यवस्थापन हुन्छ भन्ने बारेमा उसलाई बुझाउने गरेको देखिँदैन । उसलाई कुनै फोरममा बोलाएर तपाईँले पार्टीको यो निर्वाचन क्षेत्रमा पार्टी स्थापित गर्न मद्दत गर्नु भएकोमा धन्यवाद भन्ने कुनै पनि कुरा गरेको देखिँदैन । उसको परिवारमा परेका मानसिक पीडा, उसका परिवारका सदस्यहरूले उसलाई गर्ने व्यवहारका बारेमा अध्ययन गर्ने जस्ता क्रियाकलाप हुँदै हुँदैन । उसको क्षमतामा आधारित आयआर्जनका कार्यमा सहजीकरण गरेर उसलाई ऋणमुक्त बनाउनेबारे कसैले सोच्दैन । यो अवस्थामा रहेको एउटा पार्टीबाट उम्मेदवार बनाइएको पराजित नेताबाट कसरी पार्टी बलियो बनाउन सकिन्छ ? यो सोच्ने बेला आएको छ । तसर्थ यसलाई बदल्न हाम्रो संस्कृति फेर्नुपर्दछ । 

  • अबका दिनमा संस्कृति बदल्नका निम्ति गर्नुपर्ने दलगत कार्यहरू निम्नानुसार हुन सक्दछन्— 
  • निर्वाचन प्रक्रियालाई पूर्णरूपेण संस्थागत गर्ने ।
  • निर्वाचनमा उठाइएका उम्मेदवार केवल पात्र हुन्, मुख्य त पार्टी हो भन्ने विषय संस्थागत विकास गर्ने ।
  • निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउने ।
  • मतदाता शिक्षा र पार्टीको प्रभावलाई व्यवस्थित गर्ने ।
  • निर्वाचनमा निर्णय विपरीत मतदान गर्ने सो खालका गतिविधि गर्न सघाउने नेता तथा कार्यकर्तालाई कारबाही गरी अनुशासित निर्वाचन प्रणाली सञ्चालन गर्ने ।
  • उम्मेदवार छनौट प्रक्रियामा कार्यकर्ताको सहभागितामा आधारित छनोट पद्धति अवलम्बन गर्ने ।
  • निर्वाचनमा पराजित उम्मेदवारलाई सान्त्वना दिने र सोही निर्वाचन क्षेत्रमा क्रियाशील बनाउन वातावरण तयार गर्ने ।
  • मतदाता शिक्षा तथा मत सुरक्षा प्रणाली व्यवस्थित गर्ने ।
  • पराजित उम्मेदवारको मनोबल बढाउने र उनलाई कार्यकर्ताका बीचमा जाने वातावरण सिर्जना गर्ने ।
  • कार्यकर्तामा आधारित निर्वाचन प्रणाली र कार्यकर्ताले सञ्चालन गर्ने निर्वाचन पद्धति अपनाएर त्यो निर्वाचनको समग्र स्वामित्व सबै कमिटी, सबै कार्यकर्ताले ग्रहण गर्ने बनाउने ।
  • कार्यकर्ताहरू सबैको व्यवस्थापन योजना बनाएर अगाडि बढाउँदै सबैलाई आशावादी बनाइराख्ने ।

​​​​​​​यी लगायतका कार्यहरू अपनाएर सरल निर्वाचन पद्धति, अनुशासित कार्यकर्ता, सबैको भूमिकाको सम्मान र मूल्याङ्कन गर्ने पद्धति विकास गरौँ । नवीन राजनीतिक संस्कृति निर्माण गरौँ । यति गर्न सकेको खण्डमा पार्टी जनताको बीचमा स्थापित हुनेछ । कार्यकर्ता हरदम उत्साहित भइरहने छन् । 

(लेखक प्रशंसनीय दृष्टिकोणका अभियन्ता तथा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ०० बजे