होला केही गुजारा भनिकन तिमिले एक जागीर खायौ
स्रेस्ता राम्रो नराख्दा थुनिन पनि पुग्यौ घोर संकष्ट पायौ ।
जन्मायौ जेलभित्रै रघुतिलक–कथा–काव्य हे रामभक्त!
ज्यूरोमा श्लोक नाचे जन–जन सबको धन्य छौ भानुभक्त !
पृथ्वीले राज्यसत्ता जितिकन बलियो देश ठूलो बनाए
नेपाली राष्ट्रभाषा–बिउ जन–जनमा भानुले पो जगाए ।
ऐले त्यो झाङ्गिएको द्रुततर न अटी देश नेपालभित्र
देख्दैछौं फैलिएको इतर मुलुकमा भाव बोकी पवित्र ।।
नाना छन् जाति भाषा मुलुकभर यहाँ छित्रिँदा यत्र तत्र
भाषामा रामगाथा सुनि–सुनिकन ती झन् भएछन् पवित्र ।
पढ्दा सुन्दा र गुन्दा दिलबीच सबको भाव यौटा पलायो
हामी हौँ एक सारा अनि प्रणयले भिन्नता त्यो गलायो ।।
(कवि पूर्वीय वाङ्मयका ज्ञाता हुनुहुन्छ ।)
प्रकाशित मिति : २९ असार २०७९, बुधबार ७ : ४४ बजे
प्रतिक्रिया