‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ ।     जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिनुभयो । 

 यो वर्षदेखि  कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ । “पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागू हुन्छ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।” पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ ।     गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि  तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागू नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

“कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छ”, उहाँले भन्नुभयो, “संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।” गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च रु तीन लाख लागेको शाखा प्रमुख शर्माले बताउनुभयो । 

कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागू गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताउनुभयो । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ । पुस्तकका लागि गत वर्ष छपाइ खर्च रु दुई लाख ५२ हजार र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा रु एक लाख खर्च भएको उहाँले जानकारी दिनुभयोे । 

अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी छ । कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागू गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् ।     रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू गरेको छ । कूल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिनुभयो । पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल रु तीन लाख ५० हजार खर्च भएको उहाँको भनाइ थियोे । 

दुई पालिकामा यसै वर्षबाट लागू हुने

मुसिकोट नगरपालिकामा पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छ । यसै वर्ष कक्षा ५ सम्म लागू गर्ने आगामी वर्ष कक्षा ८ सम्म लागू गर्ने तयारी रहेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो ।     साउनको अन्तिमसम्म विद्यालयको पहुँचमा पाठ्यक्रम पुगिसक्ने उहाँले बताउनुभयो । सत्यवती गाउँपालिकामा पाठ्यक्रम बनेर पनि पाठ्यपुस्तक लेखनको काम हुँदैछ । पाठ्यक्रम लेखनको काम यही आर्थिक वर्षमै सकिने शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

कूल रु  १० लाखको लागतमा सत्यवतीले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दैछ । पाठ्यक्रममा स्थानीय संस्कृति, स्थानीय सीप, कला, धर्म, भाषा, भूगोल अर्थात् समग्र पालिकाको परिचय समेटिएको छ । पुस्तक विद्यार्थीका लागि निःशुल्क प्रदान गर्ने योजना रहेको छ । 
 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : १२ बजे