मनसुन क्रमशः क्षीण हुँदै

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शनिवार भएको मत गणनाको आज सार्वजनिक परिणामअनुसार प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुखमा  मायाकुमारी खड्का (कुँवर) निर्वाचित हुनुभएको हो । 

एमालेका उम्मेदवार बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत प्राप्त गर्नुभयो । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित हुनुभएको हो । 

यस्तै उपप्रमुखमा  नेकपा एमालेका मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याई निर्वाचित  हुनुभएको छ । 

उपप्रमुखमा निर्वाचित एमालेका माया कुमारी खड्का (कुँवर)ले ४ हजार ७२७ मत पाउँदा काँग्रेसका रिता शाहीले ३ हजार७५५ मत पाउनुभएको छ । 

त्यस्तै, नगरपालिकाको १० वटा वडा मध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : १६ बजे