मनसुन क्रमशः क्षीण हुँदै

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपालको चार दिने भ्रमणका क्रममा काठमाडौँमा

​​​​​​​काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपालको चार दिने भ्रमणका क्रममा काठमाडौँ आइपुग्नुभएको छ । 

गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बन्नुभएका लिउ नेतृत्वको टोली चार दिन नेपालमा रहनेछ । उहाँ आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँको स्वागत गरेका थिए ।

चार दिने नेपाल भ्रमणमा आउनु भएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट यो दोस्रो उच्च तहको भ्रमण हो । यसअघि गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्नुभएको थियो ।

नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

तस्बिर :रासस 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ४४ बजे