मनसुन क्रमशः क्षीण हुँदै

एमालेले सुरु गर्‍यो ‘पाँच हजार दिने पाँच हजार सदस्य’ आत्मनिर्भरता अभियान

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीमाथि सदस्यहरूको स्वामित्व अझ बलियो बनाउन र स्रोत सङ्कलनलाई निरन्तरता दिन राष्ट्रिय अभियान सुरु गरेको छ । 

केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागले पार्टीको आत्मनिर्भरताका लागि सुरु गरेको यो अभियानको नाम ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राखिएको छ । 

यो अभियानमा सहभागी हुन चाहनेहरूले मोबाइल बैङ्किङ तथा इ–सेवाबाट क्युआर स्क्यान गरी रकम भुक्तानी गर्न सकिने विभागले जनाएको छ । एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले तत्कालै सहभागिता जनाउन सक्ने र आईफोन प्रयोगकर्ताले यो अभियानमा सहभागी हुन एक साता पर्खनुपर्ने विभागले जनाएको छ । 

यस अभियानमा संलग्न हुन चाहनेहरूको पार्टीमा प्रत्येक महिना पाँच हजार रुपियाँ योगदान रहनेछ । यो यस केन्द्रीय कमिटीको सिङ्गो अवधि (करिब पाँच वर्ष) सम्म रहने छ । 

विभागले यो अभियान रकम सङ्कलन मात्र नभई पार्टीलाई सदस्य–आधारित बनाउन योगदान गर्ने सदस्य तथा शुभेच्छुकको समर्पणको पनि योगदान भएकाले ‘हरेक महिना पाँच हजार– पाँच वर्षसम्म’को नीति लिइएको जनाएको छ ।

अभियानमा कसरी संलग्न हुने ?
​​​​​​​यस अभियानमा सहभागी हुन इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकहरूले अनलाइन मार्फत भुक्तानी गर्नुहुनेछ । यो काम झन्झटमुक्त होस् भनेर फोन–पे वा मोबाइल बैङ्किङ सेवा लिनु हुनेहरूले सिधै आफ्नो मोबाइलबाट भुक्तानी गर्न सक्नुहुनेछ । यसका लागि पार्टीको वेबसाइट वा एमाले एप (CPN(UML ) एपमा QR Scan  उपलब्ध छ ।

अनलाइनमार्फत पार्टीको खातामा रकम जम्मा हुनासाथ पार्टी अध्यक्षको धन्यवाद सन्देश मोबाइलमा आउने छ । यसपछि यस अभियानमा संलग्न भएको पुष्टि हुनेछ ।

मोबाइल बैङ्किङ नहुनेहरूले पार्टीको खातामा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ । यद्यपि पारदर्शिताको लागि सबैलाई अनलाइन भुक्तानीमा जान पार्टीले जोड दिन्छ । यस प्रयोजनको लागि तोकिएको खाता नम्बर पनि पार्टीको वेब साइट र मोबाइल एप तथा सोसल मिडियामा राखिएको छ । 

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ५४ बजे