मनसुन क्रमशः क्षीण हुँदै

पार्टीका विभागीय कामहरूलाई सक्रियतापूर्वक अघि बढाउन अध्यक्ष ओलीको निर्देशन

​​​​​​​काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागीय कामहरूलाई सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिनुभएको छ । 

केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली आ–आफ्ना विभागका कार्य योजना बनाई सक्रियतापूर्वक काममा लाग्न  र पार्टी कामलाई आफ्नो क्षेत्रमा अघि बढाउन निर्देशन दिनुभएको हो । 

उहाँले निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गराउँदै निर्वाचनमा बन्ने कथित गठबन्धनलाई पराजित गर्नका लागि अहिलेदेखि नै योजनाबद्ध रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

“हामी निर्वाचनको सङ्घारमा छौँ । हाम्रा विरुद्धमा अनेक रूपका शक्तिहरू लागेका छन् । यस्तो बेलामा पनि हामीले स्थानीय निर्वाचनमा ३८ लाख मत प्राप्त गरेर पहिलो शक्ति भएका छौँ । यस निर्वाचनमा हाम्रो हार भएको छैन– २ सय ५ स्थानमा जितेका छौँ, पहिलो शक्ति भएका छौँ । हारको हीन भावनाबाट होइन, जीतको उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ ।”, उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले हामीले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्छ भन्नुहुँदै पार्टीमा अनुशासनहीनता बढेको र नैतिक राजनीतिमा कमी आएको बताउनुभयो। 

उहाँले पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन भन्नुहुँदै जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहन नहुने बताउँदै हामी एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले नेतृत्वलाई बदनाम गर्ने, अदालतलाई प्रयोग गरेर सरकार अपदस्थ गर्ने, व्यक्ति र समय तोकेरै प्रधानमन्त्री नियुक्त गर्ने जस्ता लोकतन्त्र र संविधान विरोधी कामहरू भएको बताउनुहुँदै हाम्रा विरुद्धमा पाँच दलदेखि संवैधानिक निकायहरूसमेत प्रयोग हुँदाहुँदै पनि हामी पहिलो पार्टी हुन सफल भएका छौँ । यो हाम्रो हार होइन, जीत हो  भन्नुभयो। 

“२ सय ५ पालिकामा जितेका छौँ, अरू ८८ स्थानमा दुई देखि पाँच सय मतको अन्तरमा हारेका छौँ । एउटा वडामा वडा कमिटी सदस्यहरू नै ३९ जना छन् तर वडाध्यक्षको मत आयो  ३४ । अर्को एउटा वडामा पार्टी सदस्यहरूको सङ्ख्या ६ सय छ तर उम्मेदवारको मत ३ सय आयो । यो किन र कसरी हुन्छ यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।” अध्यक्ष ओलीले भन्नुभयो । 

पार्टी छाडेर गएकाहरूलाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ भन्नुहुँदै उहाँले लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरूलाई फर्काउन आफूले पहल गरिरहेको बताउनुभयो ।  उहाँले पार्टी छाडेर गएकाहरूलाई फर्काउन सबै जना लाग्नुपर्ने समेत बताउनुभयो । 

उहाँले दलहरूले बलिदानी पूर्ण सङ्घर्ष गरेर ल्याएको लोकतन्त्रलाई कमजोर बनाउनका लागि अनेक खालका प्रयासहरू भइरहेका बताउनुभयो । 

“कहिले नयाँ पार्टीको कुरा गरिन्छ, कहिले स्वतन्त्रहरूको कुरा उछालिन्छ । विश्वमा कहीँ पनि स्वतन्त्रले शासन चलाएको र देश बनाएको उदाहरण छैन । यस्तो बेतुकका कुराका पछि  केन्द्रहरूलाई सम्झाउनुपर्छ ।” उहाँले भन्नुभयो ।

बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामहरूका बारेमा स्पष्ट पार्नुभएको थियो । पार्टी विधान र नियमावलीले तोकेका काम, कर्तव्य र अधिकारहरूलाई विभागहरूले रचनात्मक रूपमा प्रयोग गरेर पार्टी कामलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

पार्टीका ३३ वटा विभागका प्रमुख र उपप्रमुखका साथै सचिव चयन भएका विभागबाट सचिवहरूको सहभागिता रहेको थियो । 

 

 

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : २६ बजे