काठमाडौं । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँनुहुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गर्नुभएको हो ।
‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भन्नुभयो, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’
नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गर्नुभएका उहाँले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्र्ता लिन नहुनेमा जोड दिनुभयो ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उहाँले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राख्नुभयो ।
अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे जानकारी गराउनुभयो ।
प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ३ : ५२ बजे
प्रतिक्रिया