‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शान्तिमय र चिन्तामुक्त जीवनको आधार योग  

मनुष्य जीवनमा सुख र शान्तिको आधार योग हो भन्ने कुरा धर्मशास्त्र र सिद्ध ऋषिमुनिहरूले प्रमाणित गरी सकेको विषय हो । योग दर्शनलाई सङ्ख्या दर्शनको क्रियात्मक साधनाको रूपमा मानिन्छ । योगको अर्थ विभिन्न रूपमा परिभाषित गरिएका छन् । जीवत्वलाई ब्रह्मतत्वमा मिलन गराउने क्रियालाई योग भनिन्छ । अनुशासित प्रक्रियाबाट जोड्नु, मिल्नु अर्थात् उच्चतम अनुकूलताको आनन्दलाई योग भनिन्छ । आत्मा ज्ञान प्राप्तिको क्रियात्मक रूप योग हो । बुद्धिको स्थूलताबाट सूक्ष्मतातिरको यात्रालाई योग भनिन्छ अर्थात् बाहिरी विचारबाट निवृत्त भएर अन्तर्मुख हुनुलाई योग भनिन्छ । व्यष्टि चेतनाबाट समष्टि चेतना तर्फको यात्रालाई पनि योग भनिन्छ । यसैले योगको अर्थ अनुरूप त्यसको फल कसरी पाउने भन्ने चिन्तन साधना हो । साधनामा जानुअघि हामीले धेरै कुराको विचार पुर्‍याउनु पर्ने हुन्छ । कुनै पनि बीजलाई जमिनमा रोप्नुअघि त्यस जमिनको तयारी गरिन्छ । त्यसै गरी जीवनरूपी जमिनलाई योग्य बनाउनका लागि पवित्रता, दया, क्षमा र समताभन्दा महान् चरित्र संसारमा अर्को कुनै छैन । योगरूपी बीजलाई जीवनरूपी जमिनमा रोपेपछि विश्वासरूपी अङ्कुर पैदा हुन्छ । तब त्यो अङ्कुर बढेर ठुलो वृक्ष भएपछि श्रद्धारूपी फल फल्न थाल्दछ । जसको भोग गर्दा शुद्ध, बुद्ध, मुक्त, शान्त र आनन्द मिल्दछ ।  यसैले योग, ज्ञान र विद्यारूपी बीजलाई रोप्ने स्थान जीवनरूपी भूमिलाई तयार गर्नु जरुरी छ । त्यस भूमिलाई योग्य बनाउनका लागि नै सर्वप्रथम योग, तपस्या र स्वाध्यायरूपी साधना गर्न अति आवश्यक छ ।  

जन्मदेखि मृत्यु पर्यन्तको यात्रालाई जीवन भनिन्छ । जब कुनै पनि मनुष्यको जन्म हुन्छ तबदेखि उसको चिन्ता सुरु हुन्छ, चाहे उसलाई होस् चाहे उसको पालन—पोषण गर्नेलाई होस् । पृथ्वीमा पाइला टेक्नासाथ चिसो, तातो, खानपिन, रक्षा, सुरक्षा, स्वास्थ्य आदिको चिन्ता हुन थाल्छ । अलि उमेर बढ्दै गएपछि लड्ला, कतै जाला, रोग लाग्ला भन्ने चिन्ता उसको माता र पितामा निरन्तर भइरहन्छ । चिन्ता बाल्यावस्थाको छुट्टै, युवावस्था, जवानी, वृद्धावस्थामा छुट्टाछुट्टै आउँदछ । जबसम्म मनुष्य श्मशानमा पुग्दैन तबसम्म चिन्ता नै चिन्तामा बाँचिरहेको हुन्छ । जबसम्म योग मार्गमा लाग्दैन, तबसम्म मनुष्य आफू पनि चिन्तामा र अरूलाई चिन्तामा लैजान्छ । चिन्ताको घेराबन्दीसँगै चिताको आगोमा पुगेको पत्तै पाउँदैन जीवनले । बाल्यावस्था खानैको धन्दा, युवा मोज मस्ती रसरमाइलो उडन्ते जीवन, जवानी काम धन्दाकै चिन्ता, वृद्ध अभाव र बेचैनी एवं चञ्चल चित्तमा रमाउँछ । उसलाई फुर्सद कहाँ हुन्छ ? हाईहाईमा जीवन व्यतीत भइरहन्छ । जीवनको वास्तविकता बुझ्न, बुझाउन, सम्झन तथा पूर्णताको आनन्द लिन उसलाई चिन्ता र तनावले छेकिदिन्छ । योगको मर्म कता हो कता उल्टो धन, वैभव, सम्पत्ति, परिवार, इष्टमित्रको मोहमायामा फसेको हुन्छ । जीवनमा धन प्राप्तिको चिन्ता, परिवार र  समाजको चिन्ता तथा देशको चिन्तारुपी कालो बादलमा रुमलिएको हुन्छ । मानिसको जीवनमा धन, सम्पत्ति, वन्धु, बान्धव सबका सब चीज भएर पनि हरदम चिन्तित, तनाव, भय, आशङ्का, खालिपन, उदासीपनमा बाँचिरहेको हुन्छ । बाहिरी संसारको चिन्ता, जीवनको चिन्ता, विषयको चिन्ता तथा समाजको चिन्तारूपी भारी बुद्धि बोकेको मनुष्य कसरी सुखी, आनन्दित र प्रसन्न हुनसक्छ । यसको मूल कारण उसले भौतिकता र बाह्यवृत्तिलाई सर्वस्व मानेर यस्तो हुन गएको हो । आफ्नू आन्तरिक अनुभूतिलाई महसुस गर्न नसकेको कारण मानिस दुखित हुन्छ । आन्तरिक रूपमा चिन्तन, विचार, एकै धारणा, एकाग्रचित्त बनाउन सकेको भए यस्तो हुने थिएन । मानिसले मीठो खाने, राम्रो लगाउने, विलासी जीवन व्यतीत गर्ने, भोग वासनामा रमाउने, नाचगानमा तृप्त हुने कुरालाई सुख सम्झिन्छ, भोगलाई जीवन सम्झिन्छ । यी सबै मानिसका सुख प्राप्तिको मार्गका तगाराहरू हुन् । जसले मनुष्यलाई अगाडि बढ्न दिँदैन र योग मार्गमा बाधकतत्वको रूपमा देखा पर्दछ । 

भय, डर, त्रास र लोभको कारण मनुष्य सदा दुःखित हुन्छ । रूपवान् मनुष्यलाई शारीरिक कुरूपता अर्थात् वृद्धावस्था आउला भन्ने भय हुन्छ, एउटा धनी मनुष्यलाई गरिबीदेखि डर हुन्छ । यसरी हरपल, हरघडी चिन्ताको घेराबन्दीले मनुष्य जीवनमा चिन्तनको बाटो रोकिन पुग्छ । संसारमा ज्यादा जसो मनुष्य तनावमै जिउँछ, तनावमै मृत्युको प्राप्त हुन्छ । चिन्ताले मनुष्य आफ्नो जीवनप्रति नै हार खान्छ, आत्महत्यासम्मको बाटोमा पुग्छ । युद्ध, झगडा, अशान्ति, घोर अन्धकार, पापाचार, भ्रष्टाचार, अन्याय, अत्याचारको अवस्थासम्म चिन्ताले मनुष्यलाई लग्छ । के जीवन भनेको चिन्ता, अभाव, तनाव मात्र हो त ? चिन्ता, परेशानी, दुःख, पीडादायक जिन्दगी भन्दा पररहेको  अर्को छुट्टै योगमय जीवन पनि छ भन्ने कुरा उसलाई थाहै हुँदैन । उच्चता, आनन्दता र पूर्णताको पनि जीवन छ भन्ने कुरा मनुष्यले बिर्सेको हुन्छ । यस विषयमा उसले खोज, जिज्ञासा र अनुसन्धान पनि गर्दैन । यसैले मानवलाई सफलता, चिन्तामुक्त, तनावरहित, आनन्दमय, अनुभूतिपूर्ण एवं दिव्यताले भरिपूर्ण जीवनको बाटो पनि छ भन्ने कुराको ज्ञात हुन जरुरी छ । चिन्ताले मनुष्यलाई जसरी चितामा पुर्‍याउँछ, त्यसैगरी परंतत्वको चिन्तन गर्ने हो भने पूर्णतामा पनि पुग्न सकिन्छ भन्ने विश्वास हुन आवश्यक छ । चिन्ताको सरल बाटो संसार छँदैछ तर परमार्थ चिन्तनको कठिन बाटो पक्डिन भने मनुष्यलाई अति गाह्रो पर्दछ । किन कि चिन्तनमा लाग्नको लागि केही कुरा त्याग्नु पर्दछ । जुन आफूले बाल्यकालदेखि पालेको, पाल्दै आएको, त्यसैमा रमाउँदै आएको लोभ लालच, क्रोध, कामवासना, अहङ्कार, अज्ञान, तेरो मेरो, मद, मात्सर्य जस्ता विचारलाई मार्न अर्थात् फ्याँक्न सकिराखेको हुँदैन । थोत्रो र फोहर घरलाई नै स्वर्गजस्तो सम्झेर जीवन निर्वाह गर्दै आएको मानिसलाई यो घर तिम्रो होइन यसलाई तिमी छोड भन्यो भने उसको जीवन मरणको स्थिति आउँछ । त्यो घर छोडेपछि अवश्य पनि नयाँ र दिव्य घर पाइन्छ भन्ने थाहा भएको भए सोचाइमा फरक पर्ने थियो । जसरी मनुष्य थोत्रो, बिग्रिएको घरलाई छोड्न चाहँदैन । त्यसै गरी काम, क्रोध र लोभमा रमाएको मनुष्य प्रेम, करुणा र आनन्दको मार्गलाई विश्वास गर्दैन । 

संसारमा सबै लिन चाहन्छन्, दिन वा त्याग्न अत्यन्तै कठिन र गाह्रो पर्छ । माग्न सरल होला, तर मनुष्यको स्वभाव कस्तो छ भने दिन बहुतै गाह्रो मान्दछ । किनकि दिँदा उसलाई आफू सिद्धिन्छु कि भन्ने भय रहन्छ । यसरी मानिस भूतकालको घट्नाबाट अनेक शोक गरिरहेको हुन्छ । भविष्य बिग्रेला भनेर भय र चिन्ताले ग्रसित भएको हुन्छ भने वर्तमान लोभ र लालचले उसलाई सताइरहेको हुन्छ । यसैले मनुष्य सदा दुःखी र अशान्त देखिन्छ । हुन त मानिस चिन्तामुक्त हुन चाहन्छ, चिन्ता र तनावको जन्मदातालाई छोड्न चाहँदैन । काम, क्रोध, लोभ, मोह नै चिन्ताको जननी हो । एउटालाई नछोडीकन अर्को मूल्यवान् वस्तु पाइन्न । विषलाई नछोडिकन अमृत पाउन सकिन्न । भोगलाई नछोडि योग पाउन सकिन्न । योग चिन्तनको मार्ग हो भने भोग तनाव, चिन्ता र दुःखको मार्ग हो । भोगमा मानिस अघाउन खोज्छ, फेरि अघाउँदैन, हात्तीको पेट जस्तै जति खाए पनि नअघाउने हुन्छ । भोगमा फसेको प्राणी जति बाहिर निस्कन खोजे पनि झनझन भित्रभित्रै फस्दै जान्छ । भोग भनेको गोहीको मुखको दाँत जस्तै हो । गोहीले पक्डेको प्राणी जति बाहिर निस्कन खोजे पनि झन् भित्रभित्र जान्छ । यसैले प्राणी संसारको मोह मायाको कारण तृष्णाको बादल हटाउन खोजे पनि झन् बढ्दै जान्छ । जसको परिणाम दुःख, दर्द, पीडा, क्लेश, अभाव, चिन्ता हरदम बनी नै रहन्छ । यसैले ऋषिमुनिहरूले मायालाई जित्नको लागि चिन्तनको बाटो योग, ध्यान र साधनाको मार्ग देखाए र आफू पनि त्यही मार्गमा हिँडे । उनीहरूले ज्ञान, भक्ति र निष्काम कर्मको मार्ग दिएका छन् । शास्त्र, वेद, पुराण, गीता, सन्त, महापुरुष, सद्गुरु आदि चिन्तनकै कुरा गर्छन्, ध्यानकै बाटो देखाउँछन् । चिन्ताले मानिसलाई बाध्य भएर चिन्तनको बाटोतिर जान प्रेरित गर्दछ, चिन्तनले चारुता ल्याउँछ अर्थात् आनन्दमा पुगिन्छ । त्यसैले सुख, आनन्द, स्वतन्त्रता, मुक्ति, एवं पूर्णता र उच्चताको लागि चिन्तातिर होइन चिन्तनतिर लागौँ । यही जीवनको महामन्त्र र चरम लक्ष्य पनि हो, यसलाई योगको मार्ग भन्ने गरिन्छ ।

(लेखक योग प्रशिक्षक, चरित्र निर्माण अभियन्ता, भागवत ज्ञान प्रचारक एवं स्वतन्त्र पत्रकार हुनुहुन्छ । )

  

 

 

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ०१ बजे