बेँसीसहरमा दुई सातादेखि थुप्रिएकाे फोहोर उठ्न थाल्यो

लमजुङ‍ ।​​​​​​​ पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीसहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठ्न थालेकाे छ ।  बेँसीसहर नगरपालिकाको ल्याण्ड फिल साइट्स जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीसहर बजार क्षेत्रको फोहोर उठ्न सकेको थिएन् ।

बेँसीसहरको व्यस्त बजार क्षेत्रमा दुई सातासम्म फोहोर थुप्रिँदा बजार र सडक क्षेत्र दुर्गन्धित भएको थियो । अवरुद्ध सडक खुलेसँगै सोमबारबाट बजारमा थुप्रिएको फोहोर उठाउन थालिएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘बेँसीसहर-८ स्थित कर्पुरेश्वर मन्दिरको उत्तरपट्टि रहेको ल्याण्ड फिल साइट्समा फोहोर व्यवस्थापन गरिँदै आएको थियो । वर्षाले मलामीचौर नजिकै ठूलो पहिरो गएकाले उक्त ल्याण्डफिलसम्म जाने बाटो नभएकाले फोहोर उठ्न सकेको थिएन,' उहाँले भन्नुभयाे ।

सोमबार दमौलीबाट डोजर ल्याएर बाटो मर्मत गरेपछि फोहोर उठाउन सुरु गरिएको नगरप्रमुख अर्यालको भनाइ छ ।

यसअघि असार ०६८ मा पनि करिब एक महिना फोहोर उठ्न सकेको थिएन । त्यो बेला गौंथलीडाँडामा फोहोर व्यवस्थापन गरिन्थ्यो । त्यहाँका स्थानीयवासीले अबरोध गरेका कारण एक महिनासम्म फोहोर उठेको थिएन । पछि हालको ल्याण्डफिल तयार गरेर मात्रै फोहोर व्यवस्थापन गर्न सकेको लमजुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेश थापाले बताए । ‘बेँसीसहर बजार विस्तार हुँदै गएको छ, जसले फोहोर पनि धेरै उत्पादन हुन थालेकाे, अहिलेबाटै विकल्प तयार राखिराख्नुपर्छ,' उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ३७ बजे