राष्ट्रपतिद्वारा रामेछापमा भएको बस दुर्घटना प्रति दुख व्यक्त

​​​​​​​काठमाडौं – राष्ट्रपति विद्या देवी भण्डारीले  रामेछापमा भएको बस दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ । 

सामाजिक सञ्जाल ट्विटर मार्फत राष्ट्रपति भण्डारीले मङ्गलवार रामेछाप जिल्लाको सुनापतिस्थित लुभुघाटमा बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको हो । उहाँले यस दुखद घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदनाका साथै उपचाररत सबैको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले बारम्बार हुने सडक दुर्घटना न्यूनीकरण गर्न सरकारका निकाय, यात्रु तथा सवारी चालक/सञ्चालकहरूले अपनाउनुपर्ने पूर्व सावधानी एवम् सडक सुधारका ठोस कदम तत्काल उठाउन सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराउनुभएको छ । उहाँले दुर्घटना दोहोरिने कारणहरूको खोजी गरी समाधान निकाल्न ठुलो गम्भीरताको खाँचो रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ०३ बजे