काठमाडौं : रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटनामा नौजनाले ज्यान गुमाए ।
रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भीरबाट खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गएको हो। दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।
सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल हुँदा सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।
दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए। हिँडेको केही घन्टापछि बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए।
उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो ।
दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका छन । दुर्घटनामा अन्य २२ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन्।
तीनजना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए। बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको थियो।
प्रकाशित मिति : २१ असार २०७९, मंगलबार ३ : ०२ बजे
प्रतिक्रिया