पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर जाग्राम

लमजुङ । बाढीपहिरोले  जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय निरा घिमिरेले बताउनुभयो । 

निरन्तरको वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताउनुभयो । ‘उपल्लो माँझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । भवनमाथिको सडकबाट खसेको पहिरो भित्तैसम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गा मुढा र माटो थुप्रिएको छ । अझै पानी परिरहे भवन नै बगाउने जोखिम छ ’, उहाँले भन्नुभयो । ‘पहिरोले जताततै लेदो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएका छौं। पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवन पनि जोखिममा पारेको छ। उक्त विद्यालयको कक्षाकोठामै भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ,’ वडाध्यक्ष गुरुङले भन्नभयो ।  ‘पहिरो निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र  छिर्छ सफा गर्दै काम गछौँ । वडा कार्यालयको करिब २० मिटरमाथि सडकबाट आएको पहिरो रोक्न ५ असारमा गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो । तर पहिराले थप क्षति पुर्‍याउनुका साथै अन्य दुई स्थानका सडक बगाएको छ ।’   

पहिरोले बस्तीका १० घर पनि जोखिममा पारेका छन् । यही १ असारमा र त्यसपछि  बेला–बेलामा खसिरहेको पहिरोले कोषलाल गुरुङ, प्रेम गुरुङलगायतको घर जोखिममा परेको स्थानीय केशव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बर्खा लागेसँगै राम्रोसँग निदाउँन सकेको छैन । पहिरो आउँछ की भनेर रातभर जाग्राम बस्नुपर्छ ।’ 

उहाँ मात्र होइन गाउँका अधिकांशको पीडा उस्तै छ । उहाँहरूले गाउँपालिकाले आफूहरूलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने बताउँदै आइरहनुभएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ४९ बजे