आखेटोपहारसहित दुईजना पक्राउ

काठमाडौँ  । प्रहरीले आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का भजिन्द्र दर्जीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको  अवस्थामा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका उनीहरुसँग रहेको आखेटोपहारसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो ।
 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : २२ बजे