सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालमा कोरोना भाइरसको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो 

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको  ओमिक्रोन उपप्रजाति (बीए फाइभ) फेला परेको छ । 
धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा ओमिक्रानको उपप्रजाति‘बीए फाइभ’ भेटिएको हो । 
अस्पतालले अन्य प्रयोगशालाबाट आएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको उपप्रजाति देखिएको बताएको छ । 

अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण विश्वका केही देशमा कोरोनाभाइरस संक्रमण दर पुन बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत र्पुयाएको बताउँछन् ।

तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे भने पत्ता लागिसकेको छैन । तर ओमिक्रोनको बीए फाइभ अन्य प्रजातिभन्दा बढी घातक नहुने विज्ञहरुको आंकलन छ ।

यसअघि कोरोनाभाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याएका थिए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) ले अहिले देखिएको संक्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको जनाएको छ । प्रयोगशलाबाट जीन सिक्वेन्सिङको रिर्पोट सोमबार (भोलि )सम्म आउने बताइएको छ । 
 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : १० बजे