आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

 मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने पनि विभागले जनाएको छ ।

 वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र  यातायात क्षेत्रमासमेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन  सबैमा अनुरोध गरिएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डग्री र अधिकतम तापक्रम २८  दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 
 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ११ : ३७ बजे