मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा पर्नुका साथै एउटा दुहुनो भैँसी मरेको छ । 

शुक्रवार रातको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको छ । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा मुनिबाट पहिरो गएको फेदीका वडाध्यक्ष निरकुमार राईले  बताउनुभयो। बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ । 

यस्तै, माथिबाट झरेको पहिरोले तीन वटा गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैँसी मरेको छ । त्यस्तै, एउटा थोरे भैँसीको खुट्टा भाँचिएको छ ।  घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्र्याकबाट पहिरो जाँदा गोठ पुरिएको हो । घर भने जोगिएको वडाध्यक्ष राईले बताउनुभयो । 

यस्तै, चिलिंखाका नवीन राईको घरमुनि पहिरो गएको छ । पहिरोले घर लच्काएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नवीन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ । केही स्थानीय शनिवार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको वडाध्यक्ष राईले बताउनुभयो ।

फेदीको याक्सामा सडककै कारणले गएको पहिरोले घरमा क्षति पुगेको छ । त्यसको विस्तृत जानकारी आउन बाँकी छ । अनुगमनमा पुग्दा पहिरोले फेदीमा वितण्डा मच्याएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ५२ बजे