मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : महासचिव पोखरेल 

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा शनिवार आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति: अवसर र चुनौती’ विषयक बिचार गोष्ठीमा उहाँले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलाप हुनु उचित नभएको धारणा राख्नुभएको हो ।

उहाँले सत्तारूढ दलनिकटकै सङ्गठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सही रूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताउनुभयो ।

हरेक विषयलाई सही रूपमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबिचको तादात्म्यता हुन आवश्यक भएकाले राम्रा विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आँकडाहरूले दुर्गमका आम जनतामा उच्च शिक्षाको पहुँच पुग्न नसकेको र गुणस्तरीय सिकाइमा प्राध्यापकहरूमा जिम्मेवारी नभएको स्थितिप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रा. रमेश भट्टराई र प्रा.डा.विनिल अर्यालले कार्यपत्रमा विश्वविद्यालयहरूमा चरम राजनीतिक हस्तक्षेप भएको जनाउनुभएको थियो ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : १७ बजे