‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सहकारी : पूर्वीय संस्कृतिको शिक्षा र देन !

संसारभरि आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय सहकारी सङ्गठन मार्फत सन् १९२३ देखि नै मनाइँदै गरेको भए पनि संयुक्त राष्ट्र सङ्घले सन् १९९५ देखि मनाउने गरी स्वीकार गरेको हो । सहकारीले वास्तवमा आर्थिक कारोबार मात्र समेट्दैन, यसले समाजलाई सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा समेत सशक्त बनाउँछ । समाजका धनी, गरिब, किसान, व्यापारी, उद्यमी, श्रमिक आदि सबैलाई जोड्ने काम सहकारीले गर्दछ । सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्र नै समाजको समग्र क्षेत्र हो र यी सबैलाई जोड्ने सक्ने सशक्त माध्यम सहकारी मात्र हो । यो विपन्नहरूको लोकतन्त्र र विकास हो । सम्पन्नहरूको सम्पन्नता थपिने, विश्वसनीय र सुदृढ हुने अवसर तथा दायित्व दुवै हो । 

सहकारी भनेको लोकतन्त्र र विकास दुवै हो । यसको अभियान सामाजिक र सांस्कृतिक दुवै हो । यसको कार्यक्षेत्र समानतामुखी आर्जन र वितरण दुवै हो । सम न्यायिक विकासका लागि सहकारी महत्त्वपूर्ण क्षेत्र हो । सहकारी समग्र विकासको माध्यम हो ।

विकासका बारेमा निकै चर्चा चल्दछ । विकास सबैका लागि आवश्यक विषय हो । विकास बहुआयामिक विषय हो । केही मानिसहरू विकास भनेको भौतिक पूर्वाधार— बाटो, भवन, पुल, सिँचाइ, खानेपानी आदि मात्र बुझ्दछन् । केही मानिसहरू शिक्षा, रोजगार, सहभागिता, क्षमता अभिवृद्धि, जीवनस्तरमा सुधार आदिलाई विकास मान्दछन् । कतिपय मानिसहरू सुशासन, प्रशासनिक सहजता, उपभोग्य वस्तुहरूको सहज उपलब्धता आदिलाई विकास मान्ने गर्दछन् । केही मानिसहरूको बुझाइमा विकास भनेको अर्थतन्त्रमा आउने सकारात्मक परिवर्तन हो । राज्यको ढुकुटीमा सञ्चिति बढ्नु, मुद्रास्फीति स्थिर हुनु, विदेशी मुद्राको सञ्चिति बढ्नु आदिलाई विकासको विषय मान्दछन् । केही मानिसहरू न्याय, समानता, सद्भाव, समावेशिता आदिबारे नीतिगत सुनिश्चितता, नागरिक अधिकार उपयोगको दुरुस्त अवस्था हुनुलाई विकास मान्दछन् । वास्तवमा यी सबै बुझाइको समष्टि नै विकास हो । यस अर्थमा यी सबैलाई समेट्ने विकासको माध्यमको अभ्यास हुने ठाउँ सहकारी संस्था हुन् । सहकारीमा माथि उल्लेख गरिएका र उल्लेख नभएका विषय समेत समेटिएको हुन्छ । सहकारी व्यापकता समेटिएको सर्वाङ्गीण विकास अभियान हो । 

सहकारी र सहकारी संस्था फरक फरक विषय हो । सहकारी आन्दोलन वा अभियान अर्कै हो र सहकारी संस्कृति फरक विषय हो । ‘सह’ सँगै मिलेर, ‘कारी’ गर्ने, गरिने काम नै सहकारी हो । यो संस्थागत, सङ्गठित वा असङ्गठित पनि हुन सक्दछ । अर्मपर्म गर्ने, ऐँचो पैँचो गर्ने, सरसापटी लिने—दिने, झारा जाने आदि सहकारी हो । यो असङ्गठित वा अनौपचारिक सहकारी हो । 

यसरी अर्मपर्म गर्ने, ऐँचो पैँचो गर्ने, सरसापटी लिने—दिने आदि कार्यलाई खाता पत्रमा लेखी हिसाब—किताब राख्ने चलनसँगै यस्तो सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउन बनाउन सुरु गरियो । यही चलनलाई लक्ष, उद्देश्य, नियम आदि समेत निर्धारित गरी समिति नै बनाएर अधिकार तथा जिम्मेवारी तोकी थप व्यवस्थित बनाएपछि सहकारी संस्था भयो । सरकारको सम्बन्धित निकायमा दर्ता गरेर चलाउने भएपछि यो पूर्ण रूपमा औपचारिक हुँदै आयो । यसका लाभबारे धेरैलाई जानकारी गराउने, यसो गर्न प्रेरित गर्ने काम सहकारी अभियान हो । सहकारीको विकासका लागि सरकार वा राज्यसँग पैरवी गर्ने, उपयुक्त ऐन कानुन निर्माण गर्न दबाबमूलक काम गर्नु सहकारी आन्दोलन हो । जुनसुकै राजनीतिक पक्षधरता, धार्मिक विश्वास, जुनसुकै जातजाति, लिङ्ग, वर्ग भए पनि ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने विचार, भावनालाई जीवन पद्धतिको रूपमा स्वीकार गर्नु सहकारी संस्कृति हो । सामान्यतः सहकारीलाई यसरी बुझ्न सकिन्छ । सहकारी प्राकृतिक गुण हो । यस्तो गुण प्रकृतिले पशुपक्षीलाई पनि दिएको छ । माहुरी, कमिला, चरा, हरिण आदि समूहमा मिलेर बस्ने गर्दछन् ।   

मानिस चेतनशील प्राणी त हुँदै हो । मानिस जन्मका हिसाबले कुनै लिङ्ग, जाति, भूगोलको हुन सक्दछ । कुनै देशको नागरिक हुन सक्दछ । तर मानिसको सोच—विचार, आकाङ्क्षा तथा सहकार्यको दायरा सीमित हुँदैन । मानिसले आफ्नो हित तथा उन्नतिका लागि राज्यका सीमा नाघ्न सक्दछ । मानिस वास्तवमा अन्तर्राष्ट्रिय जाति हुने दौडमा रहेको छ । यसलाई अन्यथा मान्न आवश्यक छैन । सहकारीको माध्यमबाट पनि मानिस अन्तर्राष्ट्रिय बनेको छ । सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय सहकारी महासङ्घ’ निर्माण भइसकेको छ । यसबाट सहकारीले आफूmलाई आर्थिक नाफा नोक्सानको दायरामा मात्र सीमित नराखेको पुष्टि हुन्छ ।  ‘अन्तर्राष्ट्रिय सहकारी महासङ्घ’ले सन् १९९५ सेप्टेम्बरमा पारित गरेको परिभाषाले सहकारीको क्षेत्र विस्तारलाई यसरी व्यक्त गरेको छ: ‘आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता र आकाङ्क्षाहरूलाई संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण रहने संस्था मार्फत परिपूर्ति गर्नका लागि स्वैच्छिक रूपमा एकीकृत भएका व्यक्तिहरूको एक स्वायत्त उद्यम (संस्था) नै सहकारी हो ।’ ‘सहकारी’को शाब्दिक अर्थ लगाएर सङ्गठित गरिएको सहकारीको संस्थागत विकासलाई यो परिभाषाले निकै माथि उठाएको छ । यसमा अब आर्थिक लेनदेन मात्र होइन, आर्थिक विकासका क्रियाकलाप मात्र होइन, सामाजिक तथा सांस्कृतिक विषयलाई पनि उच्च महत्त्व दिएको स्पष्ट हुन्छ । 

वास्तवमा भन्ने हो भने सहकारी भनेको मानव जातिले प्रकृतिबाट प्राप्त गरेका शिक्षाहरूको उत्कर्ष हो । प्रकृति र यहाँका मानवेतर प्राणीहरूका क्रियाकलाप सहकारीको विकासका आधार हुन् । प्रकृतिको गायनको माध्यमबाट संसारको पूर्वीय भूखण्डका मानव पुर्खा— ऋषि मुनिहरूले सहकार्यको गीत गाए । श्रुतिपरम्पराको माध्यमबाट जनजनका बीचमा पुर्‍याए । जात, लिङ्ग, भूगोलभन्दा निकै माथि रहेर अनुमान, अन्तर्क्रिया, तप, साधना र दैनिक व्यवहारका अनुभवहरू सँगालेका हाम्रा पुर्खाले सङ्कलन गरेका ज्ञान(वेद)मा यी विषय बडो स्पष्टतासाथ पाइन्छ  । प्रायः शान्ति पाठ गर्दा यस्तो वैदिक मन्त्र सुनिएको हुन्छ: 

‘सहनाववतु सहनौ भुनक्तु सहवीर्यं करवाबहै तेजस्विनावधीतमस्तु माविद्विषावहै । 

अर्थात् हामी सँगै मिलेर संरक्षित होऔँ । सँगै मिलेर बाँडिचुँडी खाऔँ । सँगै मिलेर पराक्रम गरौँ । तेजस्वी हुनका लागि सँगै मिलेर अध्ययन गरौँ— पढौँ, लेखौँ, सिकौँ, बुझौँ । आपसमा झगडा नगरौँ ।’ वेदका मन्त्रहरूमा यस्ता उपदेश छन् । 

‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानतां । समानो मन्त्रः समिति: समानी समानं मनः सहचित्तमेषाम् । समानी व आकूतिः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति । अर्थात् हे स्तोता हो, आपसमा मिलेर हिँड, आपसमा मिलेरै बोल । आफ्ना मनको कुरा आपसमा मिलेर नै आदान प्रदान गर । तिमीहरूको मन्त्र समान होस् । आत्मीयता उस्तै होस् । मन्त्र विचार एकै होस् । म तिमीहरूको जीवन एउटै मन्त्रले शुद्धतामा अभिप्रेरित गर्दछु । एक समान आहुति प्रदान गरेर यज्ञजस्तै बनाइदिन्छु । तिमीहरूको हृदय एकै होस् । तिमीहरूको मन एकै होस् । सङ्कल्प एकै होस् । त्यसैबाट सङ्गठित भएर तिमीहरूले आआफ्ना सबै काम पूरा गर्न सक ।’(ऋग्वेद)  

लेख्ने चलनचल्तीको विकास नभएको हुनाले वेद सुनाएर प्रसार गरिन्थ्यो । त्यसैले वेदलाई श्रुति भनिएको हो । हाम्रा पुर्खाले यस्तो सहकार्यलाई जीवन पद्धतिको अँगाले । यसलाई धर्म–संस्कृतिको रूपमा अवलम्बन गरे । परम्पराको रूपमा अघि बढाए । यज्ञ–यज्ञादिको रूपमा प्रयोग गरे । जीवन पद्धति, धर्म—संस्कृति, यज्ञ अर्थात् सामूहिक कर्मका रूपमा  प्रयोग गर्दै परम्परा चलाएर हामीसम्म आइपुगेको यस्तो विषयबारे हामी अनजान जस्तै छौँ ।  

वेद व्यासको भनाइको रूपमा यो भनाइ प्रसिद्ध छ:  ‘संघे शक्ति कलौयुगे । अर्थात् कलियुगमा सङ्घमा शक्ति हुन्छ ।’ वेदपछिका ग्रन्थहरू प्रायः स्मृति हुन् । स्मृति भनेको सम्झेर अघि बढाउने विषय हो । स्मृतिमा पनि यसरी सङ्गठित शक्तिको महत्त्व दर्शाइएको छ । 

नीति शास्त्रमा भनिएको छ:  ​​​​​​​‘अल्पानामपि वस्तूनां संहति कार्यसाधिका । तृणैर्गुणैस्त्वमापन्नैः बध्यन्ते मत्तदन्तिनःअर्थात् थोरै थोरै वस्तुको समूह पनि काम सफल पार्न सार्थक हुन्छन् । ससना खरका त्यान्द्राले पनि बाटिएर डोरी बनेपछि बलियो मत्त हात्ती बाँध्न सक्दछन् ।’ यस्ता विषयबाट मानिसलाई सङ्गठित भई सहकार्य गर्न प्रेरित गरिएको देखिन्छ । वेद, शास्त्रमा यस्ता अनेकौँ वचन र व्यावहारिक प्रयोगका प्रसङ्ग छन् । 

महामानव गौतम बुद्ध त हाम्रै नेपाली भूभागमा जन्मेको गौरव छँदैछ । गौतम बुद्धले गरेको तपको ठुलो उपलब्धिका सूत्रहरू हामी सम्झन सक्छौँ : ‘बुद्धं शरणं गच्छामि अर्थात् ज्ञानको शरणमा जान्छु  । धम्मं शरणं गच्छामि अर्थात् धर्मको (नीति—नियम र कर्तव्य) को शरणमा जान्छु । संघं शरणं गच्छामि अर्थात् सङ्घको शरणमा जान्छु, सङ्घलाई सवोपरि महत्त्व दिन्छु ।’ यी सूत्रहरू पूर्णतः सहकारीका विषय हुन् । यसबाट सहकारी अभिप्रेरित रहेको देखिन्छ । 

नेपालमा गुठी, धर्मभकारी, खलः आदि सहकारीकै रूप हुन् । चाडपर्व, आजापूजा, जन्ती, मलामी, रोपाइँ, दाइँ, घर छाउने आदिमा नगद खर्च गर्न नपर्ने गरी सहकार्यको प्रावधान हामीले देखे—भोगेकै विषय हुन् । 

जब हामीले आफूलाई बाहिरी जगतमा पुर्‍यायौँ, हामी बाहिरी घटनाहरूबाट प्रभावित भयौँ । पहिलो भनेर प्रचारित बेलायतको म्यानचेष्टरमा सन् १८४४ मा सुरु गरिएको रोचडेल इक्वीटेबल पायनियर सोसाइटी हो । यो खास घटनाबाट सुरु भएको हो । औद्योगिक क्रान्तिकारण किसानसँग खेती गर्ने जग्गाजमिन नरहने अवस्था भएपछि त्यहाँका श्रमिकहरूले यस्तो सहकार्यको सुरु गरेका हुन् । 

अन्यत्र पहुँच बढाउनु, अरूबाट सिक्नु, सिकाइबाट थप लाभान्वित हुनु राम्रो हो । तर, के हामी अरूबाट लिन मात्र पर्ने अवस्थाका हौँ र ? संसारका मानव जातिलाई हामीले दिएको र दिन सकिने योगदान कम छन् ? अवश्य छैनन् । आफ्नै नेपाली माटोमा सहकारी संस्कृति विकास गर्न र हाम्रा पुर्खाले सहकारीका सन्दर्भमा गरेका योगदानहरूको चर्चा अन्यत्र पुर्‍याउने हाम्रो दायित्व होइन र ? 

सहकारीलाई आर्थिक क्रियाकलापको मात्र विषयभन्दा माथि उठेर हेर्दा यहाँको प्रकृति, वेद, शास्त्र, परम्परा, संस्कृति, सामाजिक क्रियाकलाप आदिले विश्वको सहकारी आन्दोलनमा ठुलो योगदान गरेको छ । जुनसुकै विषयको अन्तर्राष्ट्रिय सहभागितामा हाम्रो योगदान बिर्सनु हुँदैन । सहकारी आन्दोलनको पृष्ठभूमिमा हाम्रो पुर्खा र संस्कृतिले प्रदान गरेको योगदान हो । यहाँका कतिपय सहकारी नेता, अभियन्ताहरूमा सहकारी  युरोपेली औद्योगिक क्रान्तिबाट हुर्केको विषय मात्र भएको भ्रम छ । त्यो त एउटा घटना थियो, जसलाई सकारात्मक ढङ्गले व्यवस्थापन गरिएको सन्दर्भ हो । आधारका हिसाबले हामीले सहकारी शिक्षा उताबाट लिने नभई यताकोलाई अन्तर्राष्ट्रियकरण गर्ने गरी सोच, विचार, व्यवहार गर्न आवश्यक छ । आधुनिकताको विकास हुनु अघिदेखि नै नेपाली समाजमा रहेका सहकारी प्रवृत्तिहरूको अभ्यास बिर्सनुहुँदैन । हाम्रो समाजले जीवन व्यवहारका रूपमा अभ्यास गरिआएको सहकारी मनोविज्ञानलाई आयातित ज्ञानका रूपमा स्थापित गर्ने प्रयत्न नगरेकै राम्रो होला । सहकारी धर्म, मर्म र कर्मका लागि आफ्नै पुर्खाका योगदानहरूको सम्मान र स्मरण गरौँ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ०९ बजे