हामी म भन्थ्यौँ, तिमी हामी भन्थ्यौँ

सम्झनाभित्र ऐले हामी
एउटा सिङ्गो परिवेश खोजिरहेछौँ विगतको
तिमी भन्थ्यौ– हाम्रो आकाशमा एकदिन
एउटा उज्यालो घाम उदाउने छ
हाम्रो आकाशमा एकदिन
एउटा उज्यालो जुन उदाउने छ
माटो यसरी शुष्क हुने छैन
र हाम्रो प्यारो धर्ती एकदिन रसाउने छ
कति मौन भएर सुन्थे
आमा, बा र दाजुहरू
अँध्यारा घरका छिँडीहरूमा
तिमी घण्टौँसम्म उज्यालाका कथाहरू भन्थ्यौ
सहासका कथाहरु भन्थ्यौ
रात छिप्पिँदै जान्थ्यो
तिमी बिहान हुन्छ भन्थ्यौ
बिहान भेट्न हतारिन्थ्यौँ हामीहरू
तिमी जुट्नुपर्छ भन्थ्यौँ
हामी घर भन्थ्यौँ, तिमी देश भन्थ्यौँ
हामी म भन्थ्यौँ, तिमी हामी भन्थ्यौँ
र, यसरी चुलिँदै थियो आस्थाको त्यो हिमाल

अँध्यारो साम्राज्यका शासकहरू
विचारको युद्धमा परजित कायरहरू
जसले मान्छेको अस्मितालाई
दासढुङ्गाबाट घचेट्न सक्छन्
त्रिशुलीभित्र कैद गर्न सक्छन्
मान्छेको भौतिक शरीरलाई
बन्दुकका कुन्दाहरूले ठोकेर
तहसनहस गर्न सक्छन्÷नष्ट गर्न सक्छन्
तर, आस्थाको त्यो उच्च सगरमाथालाई
विश्वासको अद्वितीय शिखरलाई
न कुनै दासढुङ्गाबाट घचेट्न सक्छन्
न कुनै त्रिशुलीभित्र कैद गर्न सक्छन्
रोकिनु हुँदैन यात्राका गतिशील पाइतालाहरू
थाक्नु हुँदैन लक्ष्य प्राप्तिको शिखरसम्म
पन्छाउँदै मृत्युलाई
बढाउनुपर्छ अबिराम कदमहरू
हामी सुनिरहेछाँै र सुनिरहनेछौँ
त्रिशुलीको अनन्त गहिराइबाट यी प्रेरक आवाजहरू
हो कमरेड, हामी कहिल्यै थकित हुने छैनौँ
हामी कहिल्यै रोकिने छैनौँ

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ३८ बजे