सुनको मूल्यमा नयाँ कीर्तिमान

लमजुङमा बालमैत्री अभियान अलमलमै

लमजुङ । लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । 

तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो । सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्‍याउने योजना समावेश थिए । 

आठ वर्ष बितिसक्दा समेत छनोट गरिएका ४९ सूचक पूरा भएका छैनन् । सूचक पूरा हुनु त कता हो कता, अधिकांश विद्यालयका सूचकसमेत खस्कँदै गएका छन् । बनेका बालमैत्री शौचालय, धारा र कक्षाकोठा पनि पुरानै अवस्थामा पुगिसकेका छन् । केही विद्यालयले भने अद्यावधिक राखेका छन्। 

“अभियानको अनुगमन र मूल्याङ्कन गरिदिने संस्था अभावमा बालमैत्री क्रियाकलाप ओझेलमा परेको छ”, बेसीशहरको जनकल्याण मावि चितिका अशोक श्रेष्ठले भन्नुभयो, “झकझक्याउने नभएपछि भएका काम अलपत्र पर्ने रहेछन् ।”

सङ्घीयतापछि शिक्षाको अधिकार पालिका तहमा पुगेको छ । हरेक पालिकामा शिक्षा अधिकारीसहितको जनशक्ति व्यवस्थापन छ । शिक्षा शाखाबाटै बालमैत्री शिक्षण सिकाइ तथा बालमैत्री विद्यालय बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरबहादुर गुरुङले बताउनुभयो । “ठोस कार्यक्रम कसैले पनि चालेको देखिँदैन, मुद्दा नै ओझेलमा परेको छ”,  गुरुङले भन्नुभयो, “सबै सूचक पूरा गर्न पालिकाले साझा अभियान चलाउनुपर्छ ।”

जिल्लाका ८ पालिकामध्ये बेसीशहर नगरपालिकाले दुई वटा वडा बालमैत्री घोषणा गरेको छ भने ९ वटा वडालाई तीन वर्षभित्र पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

बाल कल्याण समितिसमेत नरहेपछि अभियानमा चासो दिने कोही नभएको बाल कल्याण मावि भकुण्डेका प्रधानाध्यापक तीर्थराज न्यौपाने बताउनुहुन्छ। पालिका स्तरीय शिक्षा शाखाले अभियानलाई अपनत्व दिएका छैनन् ।

हरेक विद्यालयमा बाल क्लब गठन, योजना र क्रियाकलाप सञ्चालन गर्ने काम भएको छैन । जिल्लामा सामाजिक विकास कार्यालय सञ्चालनमा आएपछि बालमैत्री अभियानसँगै विद्यालयमा बाल क्लब गठन र जिल्ला स्तरीय बाल सञ्जाल समेत गठन गरेको छ । 

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाका अधिकांश विद्यालयमा धेरै सूचक पूरा हुने क्रममा रहेको बताउँदै उहाँले भन्नुभयो “आगामी तीन वर्षमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिनेछ ।” तोकिएका सूचक पूरा गर्न हरेक पटक अभिभावकदेखि शिक्षक र समुदायका अगुवासमेत सचेत बन्नुपर्ने उहाँको भनाई छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ५८ बजे