योग: निरन्तर अभ्यासबाट रागरहित हुने उपाय

योग शब्द वेद, उपनिषद्, श्रीमद्भगवद्गीता तथा पुराणहरूमा प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको देखिन्छ । पूर्वीय दर्शनमा त योगलाई महत्त्वपूर्ण शब्दको रूपमा हेरिन्छ । आत्माको दर्शन अथवा समाधिदेखि लिएर भौतिक जगतमा हुने हरेक कर्मसँग योगलाई जोडेर व्यवहार गरिएको पाइन्छ । अभ्यास र वैराग्यद्वारा जब हरेक कर्ममा मन द्रष्टाभावले उपस्थित हुन्छ अथवा साक्षी रूपमा रहन्छ तब योग हुन्छ । चित्त एकाग्र भएपछि मनको लय हुन्छ । मन हराएपछि आत्मा परमात्मामा मिल्छ र सबै कुराको समाधान हुन्छ । यसैलाई योग भनिन्छ । यस्तो मान्यता रहिआएको पाइन्छ । 

योगको सुरूआत कहिले र कसले गर्‍यो भन्ने, यकिनका साथ भन्न नसकिए पनि परापूर्वकालदेखि यसको प्रयोग भएको र यसको प्रणेताको रूपमा भगवान् शिव भएको कुरा विभिन्न शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ । शिवजीले पार्वतीजीलाई सांसारिक दुःखबाट छुट्कारा पाई मोक्ष प्राप्त गर्नको लागि योगका विभिन्न विधि र उपायहरू बताएको वर्णन पाइन्छ । ‘ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नाद्रपर’ यो वेदान्त वाक्यानुसार ब्रह्म मात्र सत्य हो अरू सबै देखिएको यो जगत झुटो हो, जीव नै ब्रह्म हो, यो बाहेक अरू होइन । जीवात्मा र परमात्मालाई जोडेको देखिन्छ । यसरी योगको सम्बन्ध अध्यात्मसँग रहेको देखिन्छ । 

महाभारतमा भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिँदा विभिन्न प्रकारका योगको कुरा गरेको पाइन्छ । कर्मयोग, भक्तियोग, ज्ञानयोग, राजयोग जस्ता विभिन्न योगका कुरा गरे पनि कृष्णले अर्जुनलाई युद्ध गर्नका लागि बारम्बार उक्साइरहेकाले पनि कर्मयोगलाई विशेष महत्त्व दिएको पाइन्छ । हुन त युद्ध जस्तो जघन्य अपराधमा पनि योग कसरी हुन्छ भन्ने शङ्का सबैलाई हुन सक्छ, तर गहिराइमा गएर हेर्ने हो भने जुनसुकै कर्म गर्दा पनि यदि कुशलता पूर्वक गर्ने हो भने त्यहाँ योग हुने करा बुझ्न सकिन्छ । यहाँ कुशलता भनेको निष्कामभाव, आशक्तिरहित, समर्पित भावलाई बुझाउँछ । आफूलाई अकर्ता सम्झी अहंकाररहित भएर गरेको कर्मले बन्धनमा पार्दैन, बरु बन्धनबाट छुट्कारा मिल्छ । त्यसैले श्रीकृष्णले पनि कुशलता पूर्वक गरिएको हरेक काम कर्मयोग हो र कुशलता पूर्वक युद्ध गर भनी अर्जुनलाई आग्रह गरेका छन्, ‘बुद्धियुक्तो जहातीह उभे सुकृतदृष्कृते तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् । 

महर्षि पतञ्जलिले भने ‘योगः चित्तवृत्तिनिरोध’ योग भनेको चित्तको वृत्ति अर्थात् व्यापार रोकिनु हो भनेर व्याख्या गरेका छन् । त्यसैले गहिरिएर हेर्ने हो भने योग भनेको गर्ने तरिका भन्दा पनि घटित अवस्था हो । योग हुँदा केही पनि गरिँदैन, केही पनि हुँदैन, मनको विलय हुन्छ मात्र सत्–चित्त–आनन्द रहन्छ । यही अवस्थालाई पतञ्जलिले योग भनेका छन् । योग सबैलाई सहजै घटित हुने विषय पनि होइन । त्यसैले यस अवस्थालाई प्राप्त गर्ने वैज्ञानिक विधि र खुट्किलाहरू छन् । यी विधि र खुड्किलाहरूलाई पतञ्जलिले आठ भागमा विभाजन गरेका छन् । ती हुन्— यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि । योग घटित हुनका लागि प्रत्येक अङ्ग त्यत्तिकै महत्त्वपूर्ण छन् र एक अर्काका परिपूरक पनि हुन् । त्यसैले एकपछि अर्को अङ्गलाई क्रमिक रूपले अवलम्बन गर्दै अघि बढे सहज र सरल तरिकाले योग प्राप्त गर्न (योगस्थ हुन) सकिन्छ । आठ वटा अङ्गलाई परिपालना गरेपछि मात्र प्राप्त हुने भएकाले यसलाई अष्टाङ्ग योग भनिन्छ । 

योगका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका मनको हुन्छ । ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो’ अर्थात् सुख र दुःखको, बन्धन र मोक्षको कारण नै मन भएकाले मनको सम्यक् व्यवस्थापन नगरेसम्म योग प्राप्त हुँदैन । मनकै सहयोगले मनलाई अमन गराएपछि मात्र योग घटित हुन्छ । त्यसका लागि मनको शुद्धीकरणको आवश्यकता पर्दछ । शुद्ध मनमा मात्र आत्मा प्रष्फुटित हुने हुँदा जब आत्मा प्रष्फुटित हुन्छ मनको विलय हुन्छ, दूषित विचारशून्य हुन्छ र चित्तका वृत्तिहरू हराएर जान्छन् । यही अवस्था नै ध्यान हो, यही अवस्थामा टिकिरहनु नै समाधि हो ।

हुन त मनको स्वभाव नै चञ्चल भएका कारण मनलाई एकाकार गराउनु प्रायः असम्भव नै देखिन्छ, तर पनि निरन्तर अभ्यासले योग प्राप्त हुन्छ । भगवान् श्रीकृष्णले पनि अर्जुनलाई सम्झाउने व्रmममा यही कुरा बताउनुभएको छ, ‘अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते’ अर्थात् हे कौन्तेय (कुन्तिपुत्र) अभ्यास र रागरहित भएर प्राप्त हुन्छ । 

(लेखक योग प्रशिक्षक हुनुहुन्छ ।)

 

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : ०२ बजे