नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधवार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडक खण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
“रातभरि डाइभर्सन निर्माणको काम गर्यौँ”, उहाँले भन्नुभयो, “बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।” मङ्गलवार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।
डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् । रासस
प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ९ : १७ बजे
प्रतिक्रिया