‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

असार १५, दही चिउरा र धान दिवसको महत्त्व 

असार १५ नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा छ । असार १५ मा रोपाइँ सकेको खुसीयालीमा भोज स्वरूप दही र चिउरा खाने दिनको रूपमा पनि चिनिएको हो । सरकारले यस दिनमा धान दिवस समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रूपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो ।

यस दिन रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने चलन हाम्रो समाजमा छ । रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरु भएपछि असार १५ सम्म खेत गार्ह्रमा  गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुने गर्दछन् ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पट्याउने तरखरमा जुटेको देख्दा हाम्रो नेपाली परम्परा साँच्चै रमाइलो र आकर्षक छ भन्ने कुरा प्रष्ट हुन्छ ।

कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत यसले प्रभाव पार्ने भएकाले रोपाइँको ठुलो महत्त्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । 

देशमा धान खेतीको लागि सिँचाई सुविधा कम उपलब्ध भएकाले मनसुन मै भर पर्नुपर्ने परिस्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धान बाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुने हुनाले पनि यो समयमा रोपाइँमा व्यस्त हुनु परेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको चाप भएकाले वास्तवमा सबै कृषकका लागि असारको १५ को महत्त्व  धेरै भएको हो । लासलाई एक छिन घुमले छोपेर भए पनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व अझ थप महत्त्व दर्साउँछ ।

रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकट रूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्री गणेश गरिन्छ ।

रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठुलो टेवा पुर्‍याउँदै आएको छ । कतै कतै ठुला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रुमाल बाँड्ने पनि प्रचलन ठाउँ ठाउँमा रहेको छ । 

एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धान लगाउने गरिन्छ । तर वर्षे धान भन्दा यसको उत्पादन भने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनादेखि २ हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान खेती गरिँदै आएको छ । 

जुम्लामा लगाइने धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धान खेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, बासमती खट्टे खानी आदि जातका धान खेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा आदि विकासे जातका धान लगाइन थालेको पाइन्छ ।

असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले होल भन्ने गरिन्छ । आखिरमा किन असार १५ को सांस्कृतिक महत्त्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकोले नै होला । तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीको तर्क छ । उनीहरूका अनुसार रोपाइँ नसकिएसम्म दही चिउरा खाइँदैन । तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दही चिउरा खाने गरिन्छ । हुन त अहिले दही चिउरा खान असार १५ सम्म पर्खन पर्दैन । अहिले बजारमा दही चिउरा १२ महिना उपलब्ध छन् । 

तर पहिला यस्तो हुँदैन थियो । रोपाइँमा सबैलाई भ्याइ नभ्याई हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दही चिउरा खाने प्रचलनले महत्त्व पाएको पनि भन्ने गरिन्छ । असारमा कामको व्यस्तताले अरू खानेकुरा जोहो गर्ने समय हुँदैन र पकाइवरी गर्न नपर्ने र सरल रूपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही चिउरा खाने थिति नै बसेको हो भन्ने पनि गरिन्छ । पहिला पहिला सबैसँग आजभोलि जस्तो माछा, मासु लगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछा मासु पकाएर बस्ने फुर्सद पनि हुँदैन थियो । प्रायः जसो सबै किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो । गाई भैँसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन थियो । त्यस्तै खेती किसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दही चिउरालाई महत्त्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरुले भन्ने गरेका छन् ।

दही चिउरा पौष्टिक आहार पनि भयो । धेरै समय लाग्ने गरी दही चिउरा अरू खानेकुरा जसरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्त्व पाएको हो । यसै प्रयोगले आज संस्कृति र पर्वको रूप लिएको मात्र हो भन्ने हरू पनि धेरै छन् । कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्त्व खल्लो हुने क्रम बढेको छ । असार १५ कृषिमा नेपालीहरूको आत्मनिर्भरताको प्रमाण पनि हो । पहिले दही र चिउरा घरमै  हुन्थ्यो तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ ।

अहिले कमैका घरमा गाई भैँसी छन् । गाईभैंसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तैपनि बजारबाट किनेर भए पनि असार १५ मा भने दही चिउरा खाने प्रचलनमा कमी भने आएको छैन । विवाह, व्रतबन्ध, सभा समारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो । दही बनाउने पेसा पनि मौसमी व्यवसाय हो । विशेष गरी माघ र फागुन महिना दही उपभोग हुने खास महिना हुन् । अरू समय भनेको चाडबाड, विवाह, व्रतबन्ध तथा सभा सम्मेलन नै हो । त्यस्तै गर्मी याममा पनि दहीको माग अघिपछि भन्दा बढी नै उपभोग हुन्छ ।

तर बजारमा आजभोलि दूध अभाव भएपछि दही बनाउन अलि कठिन हुन थालेको छ । दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन र १५ गतेलाई कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा हामी लाग्नपर्छ । १५ गते दिउँसोदेखि नै दहीको अभाव हुन थाल्छ । 

भक्तपुर नगरभित्र करिब एक सय ५० घरपरिवारले परम्परागत रूपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरूले वार्षिक एक हजार पाँच सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु धौ (राजा दही) भन्ने प्रचलन पनि रहँदै आएको छ । दही बनाउने पेसा आफैँमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । त्यसमा पनि गाईको दूधबाट राम्रो दही बन्दैन । त्यसैले भैँसीको दूध आवश्यक पर्छ । सहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन गर्ने क्रमशः घट्दै आएको छ । यसले गर्दा पनि पहिले पहिलेको जस्तो स्वादमा दही पाउन कठिन हुने गरेको छ ।

नेपालमा असार १५ मा अरू दिन भन्दा झन्डै ५ गुना बढी दह खपत हुन्छ । यो दिन हाम्रो देशमा करिब ६०/७० हजार लिटर दही खपत हुन्छ । आर्थिक रूपले हेर्ने हो भने असार १५ गते दहीको मात्र कारोबार करिब ८० ÷ ९० करोडको कारोबार हुने देखिन्छ । यस दिन आम उपभोक्ताले दही नपाइएला भनेर अघिल्लो दिनदेखि नै घरमा दही लाने गरेको देखिन्छ । असार १५ गते दिउँसोदेखि नै प्राय डेरीहरूमा दही पाउन गाह्रो छ । असार १५ को महत्त्व कति छ भन्ने कुरा सबै कुराहरू हेर्दा पनि प्रष्ट देखिन्छ ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ३६ बजे