आज मदन भण्डारीलाई सम्झँदा !

लुम्बिनी अञ्चलमा कम्युनिष्ट पार्टीमा लाग्दा वारेन्टेड भएका थियौँ हामी । पार्टी कामले बनारसमा पुष्पलाललाई भेट्ने क्रममा विद्यार्थी मदन, लेखक र गायक मदनलाई भेटेका थियौँ ।  २०३३ सालमा मुक्ति मोर्चा कब्जा गरेर वृहत् एकता अभियानका दौरान को–अर्डीनेशनमा सामेल भई सक्दासम्म हामी मदन भण्डारीलाई पूर्ण रूपमा सङ्गठनमा लगाउने प्रयासमा लाग्यौँ । जागिर तथा घर व्यवहारको सोचबाट मुक्त भएपछिका मदन भण्डारीलाई नेकपा मालेले सङ्गठनको वैचारिक नेता मान्न थाल्यो । २०४६ को संयुक्त जनआन्दोलनको नेतृत्वपछि मदन भण्डारीको प्रभाव जनतामाझ पर्दै र बढ्दै गयो । पार्टीको चौथो महाधिवेशन र पाँचौँ महाधिवेशनबाट उहाँ नेकपा एमालेको प्रमुख नेता चुनिनु भयो । उहाँले प्रस्तुत गरेको बहुदलीय जनवादको विचारले वाम खेमामा गहिरो प्रभाव पा¥यो । राजधानीमा बहालवाला प्रधानमन्त्रीलाई आम चुनावमा पराजित गरेपछि मदन भण्डारीको प्रभावले थप उचाइ पायो । ज्युँदा कार्ल मार्क्सको चर्चासम्म पायो ।

मदन भण्डारीले नयाँ सोचसहित ‘बहुदलीय जनवादबारे’ नामको सानो पुस्तक लेख्नुभएको थियो । त्यो नेपाली क्रान्तिको कार्यक्रमका रूपमा प्रस्तावित थियो । माले—मार्क्सवादी एकीकरणपछि गोङ्गबुमा बसेको पार्टीको राष्ट्रिय परिषद्को बैठकमा हामीले ‘जनताको’ थपेर ‘जनताको बहुदलीय जनवाद’ नामकरण गरेका थियौँ । सिपी मैनाली, झलनाथ खनाल, मोहनचन्द्र अधिकारीहरू सुरुदेखि जबजको विपक्षमा लगायत रहेका थिए । 

परम्परागत रूपको कम्युनिष्ट सङ्गठन र नेतृत्वको ढाँचाले (केन्द्रबाट निर्देशित हुने) मात्र जनताको बहुदलीय जनवाद राखेर अघि बढ्न स्वभाविक रूपले सकिँदैनथ्यो । २०४६ भदौ मालेको चौथो महाधिवेशनदेखि आन्तरिक जनवादको सङ्घर्षले पाँचौँ राष्ट्रिय महाधिवेशन २०४९ सम्म आइपुग्दा बहस अघि बढ्यो मात्र, निर्णयमा पुग्न सकेन । बहुपद सहितको अध्यक्षात्मक साङ्गठनिक ढाँचाको पक्षमा मत थोरै देखियो । तर, अध्यक्ष र महासचिव हुने प्रावधान पारित भयो । पाँचौँ राष्ट्रिय महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद भने अत्यधिक बहुमतकासाथ पारित भयो । 

नेकपा एमाले कम्युनिष्टहरूको एकीकृत पार्टी बन्ने क्रम जारी रह्यो । पार्टी सुदृढीकरण तथा एकीकरणमा लागेका नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा दुःखद निधन भयो । यसको सत्य तथ्यको माग आज पनि जनताको रहेको छ । यो कल्पना बाहिरको अपूरणीय क्षति थियो ।

त्यसपछि माधव नेपाल महासचिव बने । २०५१ को निर्वाचनमा अल्पमतको सरकार बन्ने अवस्थामा राधाकृष्ण मैनालीहरू यसमा जान हुन्न भन्ने थिए । पार्टीले मनमोहन  अधिकारीलाई प्रधानमन्त्री र  महासचिव माधव नेपाल उपप्रधान मन्त्री बनायो ।

पार्टीमा सुस्तरी जबजलाई पन्छाउने र सत्ता मोह जगाउने काम नेतृत्वले गर्न थाल्यो ।  फलस्वरूप पार्टी एक रहन सकेन, छैठौँ महाधिवेशनमा माधव नेपाल र वामदेव पदको तानातानलाई महाकाली सन्धि देखाएर पार्टी विभाजन गरे ।

नेकपा एमालेमा जबजको झन्डा बोक्ने बहुमत जमात हुँदाहुँदै यसको नेता नहुने अवस्था देखिन थाल्यो । मदन भण्डारी र जीवराजको निधनपछि जबज विरोधीहरू अग्ला देखिन थाले । जनकपुरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनसम्म महासचिव माधव नेपाल न विरोध, न समर्थनको अवस्थामा थिए । कारण विभिन्न हुन सक्छ, तर के पी ओलीले पनि सातौँ महाधिवेशनमा जबजको र पार्टीको नेतृत्व गर्ने पक्षमा उभिने आँट गर्नुभएन । 

२०६५ मा बुटवल सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा आउँदा माधव नेपालको जबज विरोधीतिर मौन समर्थन देखियो । झलनाथ खनाल पार्टी अध्यक्ष भए । पार्टीभित्र जबज विरुद्ध गतिविधि हुन थाले । मदन भण्डारीको तस्बिरले वहाँकै विचार ढाकेर सत्तामा जाने होडले प्रश्रय पाउन थाल्यो । पार्टी गुटको अखाडा हुँदै गयो । नवौँ राष्ट्रिय महाधिवेशनमा दुई  प्यानलको निर्वाचन ढाँचामा निर्वाचन भयो ।  माधव नेपाललाई पराजित गरेर केपी शर्मा ओली अध्यक्षमा विजयी हुनुभयो । अचाक्ली गुटबन्दीका कारण पार्टीमा जबजले दह्रो आड पाएन, छिर्केमिर्के विचारको केन्द्र बन्यो । 

नेकपा बनाउने धुनमा जबज छाडेको परिणाम हो— वाम खेमाभित्र दक्षिणपन्थीहरूको घुसपैठ र विध्वंस पनि । सङ्गठन विचारले चल्ने सत्यलाई भिडले चल्छ भनेर सिद्ध नहुने शिक्षा लिन सके पछिपरन्तुलाई काम लागिरहन्छ ।

अहिले  जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्ती, मदन—आश्रित विहीन २९ वर्षहरूमा देशले भोगेका समस्या र समाधानका प्रयत्नसँग हेरिनुपर्छ भन्ने मलाई लागेको छ । २००९ साल असार १४ गते जन्मेका जबजका प्रणेता जननेता मदन भण्डारीमा  जन्मजयन्तीको यस अवसरमा हार्दिक श्रद्धासुमन ! 

(लेखक वरिष्ठ वापन्थी नेता हुनुहुन्छ ।)

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ०० बजे