स्मृतिमा कमरेड मदन र जनताको बहुदलीय जनवाद

आजभन्दा झण्डै चौँतीस वर्ष अघिझैँ लाग्छ, कमरेड सागरसँग मेरो संक्षिप्त भेट पूर्वोत्तर भारतको गुवाहाटी सहर नजिकै मेघालय राज्यको खानापाडा गाउँस्थित ‘जनता सांस्कृतिक कला मण्डली’को कार्यालयमा भएको थियो । स्थानीयहरू यो घरलाई क्लब भनेर चिन्दथे । त्यो घर बनाउन स्थानीय समाजसेवी धनबहादुर मास्टरले आफ्नो जमिन उपलब्ध गराउनुभएको थियो । उहाँको यही असार ७ गते ९५ वर्षको उमेरमा खानापाडामा नै दुःखद निधनको खबरले स्तब्ध बनायो । त्यस जमिनमा स्थानीय साथीहरूको सक्रियतामा घर बनाएका थियौँ ।  यो घर सामाजिक सांस्कृतिक गतिविधिको केन्द्र तथा तत्कालीन नेकपा मालेको सम्पर्क स्थल थियो ।  कमरेड सागरसँग कमरेड समीर पनि साथै हुनुहुन्थ्यो । 

साथमा भारत प्रवास इन्चार्ज सुभाष केसीका नामले चिनिँदै आउनुभएका कमरेड सिपी मैनाली पनि हुनुहुथ्यो झैँ लाग्छ । साथमा केही गुवाहाटी र खानापाडाका जिम्मेवार साथीहरू पनि हुनुहुन्थ्यो, तर को को हुनुहुन्थ्यो भन्नेबारे यति बेला पूरा स्मरण गर्न सकिएन । कमरेड सागरको आँखामा समस्या भएर उपचार गर्ने भन्ने कुरा थियो । उहाँहरूसँग खासै धेरै कुराकानी गर्ने अवसर जुरेन । मैले परिचयको क्रममा आफ्नो घर पोखरा बताएकोले होला निस्कने बेला कमरेड समीरले घर चिठी खबर केही पठाउनु छ कि ? भनेर सोधेको आजै जस्तो लागिरहेको छ । सार्वजनिक नभएका नेताहरूलाई नाम थर र घरको सोधनी गर्ने चलन थिएन, त्यस बेला । कमरेड समीरसँग मेरो बनारसमा पनि पछि भेट भएको थियो ।

२०४६ सालको जनआन्दोलनपछिको आम चुनावमा सहयोग पुर्‍याउन म पनि नेपाल फर्केँ । त्यसपछि पो बल्ल थाहा भयो, सागरका नामले मैले चिनेका व्यक्ति कमरेड मदन भण्डारी हुनुहुँदो रहेछ भने समीर कमरेड जीवराज आश्रित । सुभाष भनेर हामीले चिन्दै आएका व्यक्तित्व कमरेड चन्द्र प्रकाश मैनाली भएको कुरा म नेपाल फर्कनभन्दा पहिला बनारसमा अन्य स्रोतबाट थाहा पाएँ । पचास साल जेठ ३ गते पोखराको सभागृहमा कमरेड मदनको भाषण सुन्न भेला भएका मानिसहरूको भीडमा म पनि उपस्थित थिएँ । ओजपूर्ण अभिव्यक्तिले सबैलाई सम्मोहित पारेको थियो । पोखराको यो कार्यक्रम सकेर चितवन जाँदै गर्दा दासढुंगामा उहाँहरू चढेको जीप त्रिशूलीमा खस्यो भन्ने खबर सुन्दा छाँगाबाट खसेझैँ भयो । यो घटना हामीमाथि बज्रपात जस्तै थियो । उहाँको सिर्जना जनताको बहुदलीय जनवादले लामो समयसम्म उहाँको रेखदेख पाएको भए देशको र पार्टीको अवस्था झन् राम्रो हुँदो हो कि भने झैँ लाग्छ ।

अहिले नेपाल कम्युनिष्ट पार्टी एमालेले पुँजीवादी संसदीय लोकतन्त्रमा गरिएको अभ्यासको वैचारिक आधार ‘जनताको बहुदलीय जनवाद’ कमरेड मदन भण्डारीले एमालेको पाँचौँ महाधिवेशनमा औपचारिक रूपमा पेस गर्नुभएको थियो । वर्तमानमा नेकपा एमाले बाहेकका संसदीय लोकतन्त्रमा विभिन्न नामले अभ्यास गरिरहेका कम्युनिष्ट पार्टीहरू पनि जनताको बहुदलीय जनवादको सार वरपर नै देखिन्छन् । एमालेको उक्त अधिवेशनले उहाँको यो प्रस्ताव अङ्गीकार गरेको थियो । यो बाटोबाट पनि मार्क्सवादी अवधारण अनुसारको लक्ष्यमा पुग्न सकिने उहाँको व्याख्या थियो । 

यस अगावै २०१५ मा संसदीय चुनावमा पनि नेकपाले भाग नलिएको होइन । पञ्चायतकलामा पनि जनताका आवाजहरूलार्ई निर्दलीय–राष्ट्रिय पञ्चायतमा पुर्‍याउन परोक्ष रूपमा प्रतिनिधिहरूलाई चुनावमा उम्मेदवार बनाइएको थियो । विगतमा विश्वका केही कम्युनिष्ट पार्टीहरूले प्रतिक्रियावादी राज्यसत्ताका निर्वाचित अङ्गहरूमा उपयोग वा हस्तक्षेपका नाममा निर्वाचनमा भाग लिएका उदाहरणहरू पनि छन् । तर, नेपालमा जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीले देश र जनताको पक्षमा चुनावी मैदानबाट पनि प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने विचार औपचारिक रूपमा स्थापित गरिदियो । 

२०४६ को जनआन्दोलनको सफलता र यसको पूर्वार्धका वर्षहरूमा भएका राजनीतिक गतिविधिहरूले देशमा नयाँ परिस्थिति ल्याइदिएको थियो । पार्टीलाई परम्परागत रूपमा भूमिगत राखेर निर्वाचित निकायहरूलाई उपयोग गर्ने बाटो लिँदा जनतासँग व्यापक सम्बन्ध राख्ने मामलामा पछाडि परिने आशङ्का पनि थियो । यो आशङ्काले पनि पार्टी प्रत्यक्ष चुनावमा जाँदा उचित हुने धारणा धेरैको थियो जसले पनि जनताको बहुदलीय जनवाद पारित हुन सहयोग पुर्‍यायो । उक्त महाधिवेशनमा यो प्रस्तावप्रति आशङ्का पनि धेरैले गरेका थिए । नयाँ जनवादको अभ्यास गर्दै आएको पार्टीमा संसदीय बाटोबाट अगाडि बढ्ने प्रस्तावले तरङ्ग नल्याउने कुरै थिएन । वर्ग सङ्घर्ष, सशस्त्र सङ्घर्षका निर्विकल्प मानिँदै आएका सिद्धान्तप्रति निष्ठावानहरूका निम्ति पार्टी कतै संसदीय खाडलमा भासिने पो हो कि भन्ने आशङ्काहरू पनि थिए । अधिवेशनको वरपर पारम्परिक साम्यवादी र सामाजिक जनवादसम्मका विभिन्न विचारहरू प्रकट हुनुले पनि अन्यौलता देखिन्थ्यो । कमरेड मदनले यो अन्योलतालाई हटाउँदै  जनताको बहुदलीय जनवाद महाधिवेशनबाट पारित गराउन सफल हुनुभएको थियो ।

सन् १९८८ देखि विश्वको साम्यवादी आन्दोलनमा सङ्कट देखिन थालेको थियो ।  १९९१ दिसम्वर २५मा सोभियत सङ्घको पतनपछि रक्षात्मक बन्दै गएको विश्व कम्युनिष्ट आन्दोलनका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा विकसित नेकपा एमालेले पाएको सफलता बहुदलीय जनवादका कारणले नै हो भन्ने कुरामा दुई मत छैन । विश्वको बदलिएको परिस्थितिमा धेरै देशका कम्युनिष्ट पार्टीहरूले प्रभाव मात्र गुमाएनन्, अस्तित्व नै गुमाए । त्यो अवस्थामा पनि नेपालमा झन् झन् एमालेले आफूलाई प्रभावशाली बनाउन जनताको बहुदलीय जनवादका कारण सफल भयो । तर, समय बित्दै जाँदा  व्यापक लोकप्रियता हासिल गरेर पनि पूजावादी लोकतन्त्रका विकृति र बाहिरी दुष्प्रभावबाट नेपाली साम्यवादी आन्दोलनलाई बचाउने क्रममा गम्भीर कमजोरीहरू भएको पनि देखिँदै छ । अहिले यसबाट पार्टीलाई जोगाउन पर्ने चुनौती नेतृत्वमाथि छ ।

नेकपा एमालेले विगतमा देशी—विदेशी प्रतिक्रियावादी शक्तिको सामना गर्दै आइरहेको हो तर पछिल्ला केही वर्षहरूमा एमाले र नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास तीव्र भएको देखिँदै छ । यसले कस्तो परिणति ल्याउने हो हेर्न बाँकी नै छ ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ५५ बजे