एनपीएलको ट्रफी सार्वजनिक

औपचारिकतावादलाई ध्वस्त पार्दै क्रान्तिकारी शक्तिलाई सुदृढ बनाऔँ !

हामीले यतिबेला आफ्नो पङ्क्तिभित्र औपचारिकतावादलाई समाप्त पार्ने नारा दिएका छौँ । यस नारालाई वास्तविक व्यवहारमा उतार्न र सफल बनाउन सम्पूर्ण क्रान्तिकारी जनवादी शक्तिलाई आम आह्वान गरिएको छ । यसको तात्पर्य के हो ? कुन कुन क्षेत्रमा औपचारिकतावादका कस्ता लक्षण प्रकट भएका छन् ? यसबारे सार्वजनिक चर्चा चलाउनु आवश्यक छ ।

औपचारिक वाद भनेको आफ्नो विचार, नीति, काम र सङ्गठनप्रति वास्तविक र हार्दिक निष्ठाको अभाव हुनु हो, केवल देखावटी रूपमा अरूका आँखा छल्नको लागि मात्र ओठे निष्ठा देखाइ टोपल्नु हो ।  आज यस्तो हानिकारक प्रवृत्ति जनवादी संगठानात्मक पङ्क्तिभित्र कसरी प्रमुख नकारात्मक प्रवृत्ति बन्न पुग्यो ?

आज जनवादी प्रजातान्त्रिक आन्दोलनको क्षेत्र विगतको कुनै पनि बेलाभन्दा बढी विस्तारित भएको छ र विभिन्न रूप र मात्रामा अघि बढ्दै छ । अवैधानिक र वैधानिक दुवै मञ्चहरू, गैर संसदीय र संसदीय दुवै तरिकाहरू, गुप्त र खुल्ला दुवै ढाँचाहरू प्रयोग भइरहेका छन् । यसमध्ये वैधानिक मञ्च, संसदीय तरिका र खुल्ला ढाँचामा रहेर काम गर्दा चाँडै प्रकाशमा आउने, जनताबीच परिचित हुने र सबै मोर्चामा भएका क्रान्तिकारी जनवादी कामप्रतिको जनताको आदर र समर्थनको प्रकट पात्र हुने हुँदा त्यसतर्फ धेरै मान्छेहरूको आकर्षण बढेको पाइन्छ । अवैधानिक मञ्च, गैर संसदीय तरिका र गुप्त ढाँचा क्रान्तिकारी जनवादी आन्दोलनको मेरुदण्ड हो, नेतृत्व हो र निर्णायक क्षेत्र हो । बरु, यस क्षेत्रमा काम गर्नु ज्यादा गाह्रो, बढी खतरा, कम प्रकाशमा आउने र प्रत्यक्ष लाभ लिन नसकिने हुन्छ । त्यस कारण पनि यस क्षेत्रमा काम गर्न मान्छेहरू तुलनात्मक रूपमा कम रुचि जाहेर गर्छन् । तर पनि यी दुवै मोर्चामा काम भइरहेछ र जनवादी आन्दोलन देशको अपरिहार्य र सबभन्दा प्रमुख राजनीतिक आन्दोलन बनेको छ । अब जनवादी आन्दोलनबाट आफूलाई पूर्ण रूपमा पृथक् राख्न वा देखाउन मान्छेहरू चाहँदैनन् । 

तर आकर्षण खुल्ला क्षेत्रमा बढी छ । अर्को मोर्चामा काम गरिरहेकाहरू पनि यो मोर्चामा आउन चाहन्छन् भने साधारण जनताबाट प्रगति गर्नेहरू पनि यतैतिर संलग्न हुन मन पराउँछन् । यसरी हेर्दा रुचिको गुण नै निर्णायक क्षेत्रमा लगाउने र आन्दोलनलाई निर्णायक फाँटमा बलियो बनाउने पक्षमा ह्रास आउन लागेको छ भन्न सकिन्छ । खुल्ला क्षेत्रमा पनि संसदीय फाँट धेरै मान्छेहरूको आँखाको तारो भएको छ किनभने त्यो वैधानिक र वर्तमान राजनीतिक सत्ताको एउटा अंश भएको हुँदा मान्छेहरू त्यसबाट बढी छिटो तात्कालिक लाभ उठाउन सकिने देखिरहेका छन् । 

त्यसकारण धेरै मान्छेहरूको दिमागमा आगामी निर्वाचन छ र मनमा पञ्चायती पदहरू छन् । यसरी रुचि गौण फाँटमा फेरिएको, आकर्षण खुल्ला फाँटमा बढेको  र दिल दिमागमा पञ्चायती मञ्च र पद प्रतिबिम्बित भइरहेको परिप्रेक्ष्यमा मान्छेहरू जनवादी आन्दोलनबाट आफूलाई पृथक् देखाउन त चाहँदैनन्, तर साँचो अर्थमा आन्दोलनलाई निर्णायक रूपमा बलियो बनाउन आफूसमेत लागिपरेर काम गर्न पनि वास्तविक रूपमा चाहँदैनन् । केही वर्ष अगाडिसम्म पङ्क्तिभित्रका पछौटे तत्त्वहरू आफ्ना निजी  सवालहरूलाई प्रकट रूपमा प्राथमिकता दिएर उठाउँथे, काममा सुस्त, निराश र पलायनवादी भएको देखाउन चाहँदैनन् तर हार्दिक दिलले सक्रिय र दृढ भएर काममा लागेका पनि छैनन् । यस्तो किन भइरहेको छ भने एकातिर मान्छेमा आफूवादी प्रवृत्ति त बढ्दै छ नै, तर अर्कोतिर पङ्क्तिभित्र रहिरहेर मात्र मौकामा लाभ लिन सकिने कुरा पनि देखिइरहेको छ । एउटा क्रान्तिकारी जनवादीका निम्ति यी निकै तुच्छ प्रवृत्तिहरू हुन् । वर्तमान विश्वमा तानाशाहीको निन्दा र विरोध बढिरहेको छ, निरङ्कुशतन्त्र भएका मध्ययुगीन प्रणालीहरू ध्वस्त भएका छन्, जस्तासुकै खोल हालेर आएको भए पनि जनविरोधी तानाशाहीको निन्दा र भर्त्सना बढिरहेको छ, झुट्टा, भ्रमपूर्ण र धोखाधडी गर्ने प्रजातन्त्रको भण्डाफोर भइरहेको छ र समाजवादी जनवादलाई समेत अझ फराकिलो, व्यापक र जीवन्त बनाउने अभियान चलिरहेको छ । यी सबै कुराले जनताको भूमिकालाई उत्तरोत्तर बढाइरहेका र क्षमता प्रदर्शित गरिरहेका छन् । 

यस्तो विश्वव्यापी उथलपुथलप्रति नेपाली जनतामा पनि जागरण बढ्दै छ । यस्तो परिप्रेक्ष्यलाई बुझ्ने र महसुस गर्ने मान्छेहरू निजी हितकै निम्ति पनि जनवादी प्रजातान्त्रिक आन्दोलनबाट नाता तोड्न चाहँदैनन् । तर निजी हित, सुविधा र सुरक्षालाई मुख्य महत्त्व दिने हुनाले उनीहरू आन्दोलनका कठिन कामहरूमा निरन्तर तथा हार्दिक भावना र मेहनतका साथ लाग्न पनि चाहँदैनन् ।

यसरी जनवादी आन्दोलनको पङ्क्तिभित्र कमजोरीहरूले औपचाकितावादको रूप लिन बाध्य हुनुपरेको छ र त्यसले जन्म लिने मौका पाएको छ । यस बेला क्रान्तिकारी जनवादी पंंक्तिभित्र यस्तो प्रवृत्तिबारे पूर्ण सावधानी अपनाउनु, देखिएका लक्षणहरूको आलोचना गर्न र आलोचनामा जीवन्त निष्ठा, निस्वार्थ समर्पण र उन्नत तथा हार्दिक क्रियाशीलताको स्थिति सुदृढ बनाउनु अति नै जरुरी भएको छ । म यहाँ आफूले देखेका र सम्भावित औपचारिकतावादका लक्षणहरूबारे थोरै चर्चा चलाउन चाहन्छु:

सिद्धान्तमा औपचारिकतावाद
​​​​​​​सिद्धान्तको क्षेत्रमा पनि केवल औपचारिकता निभाउने मात्र दृष्टिकोण र ज्ञान राख्नु खतरनाक कुरा हो । मिति पुगिसकेका हानिकारक पुराना कुरा र संसारमा गरी नयाँ जीवनशील संसार निर्माण गर्न चाहने र त्यस्तो अभियानमा सामेल भएकाहरूले केवल औपचारिकतावादी भएर काम चलाउनु असम्भव हुन्छ । तर पनि त्यस्तो प्रवृत्ति र स्थिति रहेको छ । त्यसलाई यसरी उल्लेख गर्न सकिन्छ ः

  • (क) क्रान्तिकारी सामाजिक परिवर्तनका निर्देशक सिद्धान्तको बारेमा अध्ययन गर्न मेहनत नगर्ने, यसो टापटिपे अध्ययन र यताउतिबाट सुनेका कुराको आधारमा टुटे फुटेका दुई चार कुरा बुझेपछि आफूलाई पुग्दो सैद्धान्तिक ज्ञान भएको, बलियो क्रान्तिकारी सिद्धान्तवादी भएको ठान्ने प्रवृत्ति देखिन्छ । आफ्नो मुलुकमा सामाजिक परिवर्तनका वस्तुगत कारणहरू, त्यसका वाहक र नेतृत्व दिने शक्तिहरू, परिवर्तनका रूप, तरिका र बाटाहरूजस्ता सबै सवालमा आफैँले गहिरो गरी बुझ्न मेहनत नगर्ने र अरूमाथि अडेसा लाग्ने प्रवृत्तिले मान्छेलाई अनिवार्य रूपमा औपचारिकतावादी बनाउँछ ।
  • (ख) आफ्नो सङ्गठनका नीति निर्देशनहरू आफ्नो समाजलाई परिवर्तन गर्ने मार्गदर्शन हुन् र आफ्ना सम्पूर्ण क्रियाकलापलाई निर्देशन गर्ने तत्त्वहरू हुन् । तर तिनीहरूलाई मर्मसम्म पुगेर बुझ्न गहिरो अध्ययन नगर्ने, तिनको बारेमा पक्ष—विपक्ष सबैतिरबाट चिन्तन, मनन र छलफल नचलाउने, त्यसमा पनि केवल यताउतिबाट सुनेका र पत्रपत्रिकामा आएका बजारिया टीकाटिप्पणीको आधारमा र आफ्नो कच्चा सैद्धान्तिक धरातलबाट मनमा लागेको आधारमा आफूलाई  क्रान्ति र सामाजिक परिवर्तनको कर्मठ कार्यकर्ता र कुशल व्याख्याता ठान्ने प्रवृत्तिले पनि औपचारिकतावादी बनाउँछ । 
  • (ग) सिद्धान्त, विचार र नीतिहरूलाई तम्तयार कठमुल्ला सूत्रका रूपमा बुझ्ने र त्यसको रचनात्मक र विकासमान पक्षतिर ध्यान नदिने प्रवृत्ति, सिद्धान्तलाई जीवनसँग गाँसेर अध्ययन नगरी, सङ्गठनका नीति निर्देशनहरूलाई यथार्थ समस्या र आवश्यकतासँग गाँसेर अध्ययन नगरी तिनीहरूलाई क्रियाशील ढङ्गले बुझ्नै सकिन्न । एक पटक अनुभवहरू र शास्त्रीय सूक्तिहरूलाई सूत्रका रूपमा लिनेहरू कहिल्यै पनि यथार्थ क्रान्तिकारी हुन सक्दैनन्, तिनीहरू जहिले पनि औपचारिकतावादी भएर काम चलाउँछन् । 
  • (घ) अध्ययन अनुसन्धानका निम्ति सैद्धान्तिक बहस, छलफलहरू उत्साहपूर्वक आयोजना गरिँदैनन् । भइहालेका आयोजनाहरूमा पनि चाखका साथ भाग लिएको देखिँदैन, भाग लिई हाले पनि केही पुराना सूत्रहरू वा अनुभवमा टाँस्सिइरहेको देखिन्छ । तर्कसङ्गत रूपमा जीवनका यथार्थताहरूलाई आत्मसात् गरेर खण्डन वा मण्डन गरेको देखिँदैन । 

यस्ता प्रवृत्तिहरूले सैद्धान्तिक, वैचारिक क्षेत्रलाई जीवनी बनाइदिन्छन् । सङ्गठन र आन्दोलनभित्र स्वस्थ ढङ्गको जनवादी बन्न सक्दैन । सिद्धान्त र नीतिको क्षेत्रमा कर्र्ताधर्ता भएका एकाध व्यक्तिहरूले जे सोच्छन्, व्यवहारमा त्यही भइरहेको हुन्छ । गल्ती हुनुभन्दा पहिले नै जोगिन सक्ने  सम्भावना रहँदैन । 

सङ्गठन र आन्दोलनप्रति अन्धभक्ति र अन्धनिष्ठा राखेर त्यसका नीति निर्देशनहरूको मर्म बुझ्दै नबुझी समर्थन वा विरोध गर्ने प्रवृत्ति बढ्छ । कार्यकर्ताहरूमा हुने यस्तो वैचारिक स्थितिले सङ्गठनका विचार र नीतिहरू ठिकै भएर पनि व्यवहारमा उल्टो परिणाम हासिल हुनसक्छ । 

अर्कोतिर, आफ्नै गहिरो सैद्धान्तिक दृष्टिबाट क्रान्तिकारी बन्ने आत्मप्रेरणा नभएको, आफ्नै जानकारीविना सङ्गठन र आन्दोलनमा संलग्न भएका व्यक्ति केवल शान्तिकालमा आफ्नैसामु ज्यानमारा कठिनाइ र बाधाहरू उपस्थित नहुन्ज्यालसम्म मात्र लाग्न सक्छ । अन्य बाहिरिया, आंशिक र अस्थिर कुराहरूको प्रभावमा आएर मात्र आन्दोलनमा लागिरहेको हुन्छ । जब ती कारणहरूमा हेरफेर हुन्छ, उसको भावना र आस्थाको तस्बिर भत्कन्छ, तब ऊ आन्दोलनबाट पलायन कस्छ वा निष्क्रिय भएर बस्छ । हो, यस बेला क्रान्तिकारी जनवादी शक्ति यथास्थितिको मुख्य विकल्प बनेको छ र जनताको ध्यान आकर्षित गर्न सफल भएको छ । तर, क्रान्तिकारी जनवाद के हो ? राजनीति, अर्थतन्त्र, संस्कृति र समाज व्यवस्थामा त्यसको रूप र सारतत्व कस्तो हुन्छ ? यस बारेमा आन्दोलनको नेतृत्व गरिरहेकाहरूमा कुनै ज्ञान छैन वा पर्याप्त ज्ञान छैन भने, जनताको बीचमा त्यो आवश्यक हदसम्म प्रस्ट पारिएको छैन भने त्यस्तो विकल्प शक्ति हिउँझैँ पग्लिने छ र विलीन हुनेछ । 

वर्तमान स्थितिसँग असन्तुष्ट तर अचेत जनताको भीड कहिले यता लाग्छ त कहिले उता । त्यस्तो अचेत जनताको क्षणिक आकर्षणलाई लिएर ठोस विकल्प बन्यो भनी ढुक्क पर्न सकिन्न । तर सैद्धान्तिक राजनीतिक चेतनाको साथमा तयार भएको जनमत क्रान्तिको स्थायी सम्पत्ति, विजयको पूर्वशर्त र आन्दोलनको अक्षय स्रोत बन्नसक्छ । केवल औपचारिकता निभाउनको निम्ति गरिने अध्ययन र प्रचारबाट त्यस्तो जनमत बने आशा राख्नै सकिन्न । व्यवहारमा दखिने औपचारिकतावाद सिद्धान्तको क्षेत्रमा भएको औपचारिकतावादकै अनिवार्य परिणाम हो । 

सिद्धान्त जीवनका समस्याहरू गर्न निकालिएको निष्कर्ष हो । तर जीवन गतिशील छ, त्यसैले सिद्धान्त पनि स्थिर र जडसूत्र भएर रहन सक्दैन । पोहोर सालको पानीले यो साल खेत भिज्दैन, न त पोहोरको खडेरीले अहिलेको  बाली बिगार्छ । तर कुनै मान्छेहरूले एक बेलाको अनुभव लिएर सदाको निम्ति शाश्वत रूपमा त्यसैबाट निर्देशित हुन चाहन्छन् । त्यस्ता मान्छेहरु औपचारिकतावादी हुन्छन् । 

यस बेला क्रान्तिकारी जनवादी आन्दोलनलाई, समाजवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा विश्वव्यापी रूपमा छलफल, बहस, वाद–विवाद र समिक्षा पुनःमूल्याङ्कन चलिरहेको छ । मान्छेहरू रचनात्मक छलफल चलाएर जीवनशील नयाँ–नयाँ निष्कर्ष निकाल्दैछन् र नयाँ–नयाँ ढङ्गले काममा लागेर नयाँ–नयाँ अनुभवहरू जम्मा गर्र्र्दैछन् । 

तर केही मान्छेहरू पुरानै अनुभव र सूत्रहरूको आधारमा आँखा चिम्लिएर ढुक्क बसेका छन् । सिद्धान्तलाई यथार्थ जीवनबाट अलग गरेर केवल सूत्रहरूमा सीमित बनाउनु र आफूलाई कट्टर सिद्धान्तवादी भएको ठान्नु किताबवादबाट मुक्त प्रवृत्ति होइन । एक बेलाका अनुभवलाई पोको पारेर त्यसपछि कुनै पनि गति र परिवर्तनलाई बुझ्दै नबुझी अन्धसमर्थन गर्दै जानु सिद्धान्तमा औपचारिकतवाद भित्र्याउने लक्षणहरू हुन् । सैद्धान्तिक अध्ययन गर्न मुक्त मनस्थितिले असन्तोषपूर्वक लाग्ने, ठोस समस्याहरूलाई क्रान्तिकारी ढङ्गले समाधान गर्ने उद्देश्य राखेर चिन्तन र व्यवहारमा लाग्ने, निकालिएका निष्कर्षहरूप्रति हार्दिक निष्ठा राखेर तत्परतापर्वक कार्यान्वित गर्ने, रचनात्मक उद्देश्यले बहस छलफल आयोजना गर्ने र काममा मन र महत्त्व दिएर लाग्न नचाहनेहरूको संख्या बढ्यो भने सैद्धान्तिक क्षेत्र मृतवत् रहन्छ, र त्यहाँं कुनै प्रगतिको आशा गर्न सकिन्न । त्यति मात्र होइन, सङ्गठनभित्र नोकरशाहीपन, रुढीवाद अराजकतावादले घर गर्छ । आन्दोलनले विकास र विजय प्राप्त गर्न सक्दैन ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ३२ बजे