रासायनिक मलको विकल्पमा गँड्यौला मल

भजनी । यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् ।

नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन् । 

कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आउनुभएको छ । उहाँले गँड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । थापाले व्यावसायिक रूपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उहाँले पूर्ति गर्दै आउनुभएको छ । माटोको उर्वरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषि खेती गर्नेका लागि गँड्यौला मल निकै उपयोगी हुन थालेको थापा बताउनुहुन्छ ।

“मैले वार्षिक २०० क्विन्टल गँड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो, “किसानले गँड्यौला मललाई जैविक मलको रूपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गँड्यौला मल निकै उपयोगी छ ।” 

गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गँड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गँड्यौला राखिन्छ र गँड्यौलाले त्यसलाई आफ्नो आहाराको रूपमा खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रूपमा प्रयोग गरिने थापा बताउनुहुन्छ ।

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गँड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गँड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताउनुहुन्छ । उहाँ चार  वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आउनुभएको छ । 

व्यावसायिक पशुपालनमा लाग्नुभएका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गँड्यौलालाई राखेर मल उत्पादनमा लाग्नुभएको हो । “मैले यसलाई व्यावसायिक रूपमै त लिएको छैन तर खेतीका लागि भने गँड्यौला मल ठिक छ”, उहाँले भन्नुभयो, “सुरुआतमै रासायनिक मलको जस्तो प्रतिक्रिया गँड्यौला मलको देखिँदैन । पछिका लागि र माटोको उर्वरा शक्ति कायम राख्न यो महत्त्वपूर्ण छ ।” उहाँले वार्षिक २०० क्विन्टल गँड्यौला मल उत्पादन गर्दै आउनुभएको छ ।

प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गँड्यौला मलबारे  शङ्का रहेको किसान यज्ञराज जैसी बताउनुहुन्छ । उहाँले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताउनुभयो । “हामीलाई पनि सुरुमा निकै चिन्ता थियो । अहिले खेती राम्रो मात्रै होइन माटोमा समेत सुधार आएको छ”, उहाँले भन्नुभयो, “माटोका लागि गँड्यौला मल जति उपयोगी अरू कुनै छैन ।” किसानले गँड्यौला मलको अत्यधिक माग गरिरहेको बताउनुभयो । रासस

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : ३४ बजे