यस्तो छ खोटाङका तीन पालिकाको बजेट

​​​​​​​​​​​​खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । 

शुक्रवार सम्पन्न १२औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले आर्थिक वर्ष २०७९/०८० का लागि चालुतर्फ ६ करोड ५७ लाख ४९ हजार ७३० र पुँजीगततर्फ पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । 

वडागत सिलिङतर्फ एकमुष्ठ १ करोड १५ लाख विनियोजन गरिएको छ । 

यस्तै, सशर्त तर्फ १८ करोड ६ लाख ७९ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो । 

गाउँपालिकाले बसाइसराई दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, बिजुली आदिको उचित प्रबन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफूलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्बन गर्ने लगायतका नीति ल्याएको छ । 

रावाबेँसीको बजेट ३८ करोड ३९ लाख 
रावाबेँसी गाउँपालिकाले ३८ करोड ३९ लाख २ हजार २३ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रवार सम्पन्न ११ औँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकामा विभिन्न विषयगत शाखाका लागि प्राप्त सङ्घीय सशर्त अनुदान चालु कार्यक्रमतर्फ १५ करोड २७ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ २ करोड ३७ लाख विनियोजन गरिएको छ । 

यस्तै, प्रदेश सरकार सशर्त अनुदानतर्फ ६९ लाख २४ हजार, गाउँपालिका तथा सङ्घीय सरकारसँगको समपूरक अनुदानबाट नुनथला–कुभिन्डे सडक स्तरोन्नतिका लागि १ करोड ५० लाख, सोही सडकका लागि प्रदेश सरकारसँगको समपूरक अनुदानबाट ७८ लाख र प्रदेश सरकारकै समपूरक अनुदानबाट बिजुले–चिउरीबासदेखि भञ्ज्याङ जुकेखोला सडक स्तरोन्नतिका लागि ५२ लाख विनियोजन गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै, सङ्घीय सरकार विशेष अनुदानबाट बिश्वज्योती माबि लामीडाँडाको होस्टेल निर्माणका लागि १ करोड ७० लाख, सङ्घीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न विकास साझेदार संस्थासँगको साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । 

वडागत पुँजीगत योजनाका लागि १ करोड ५० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट बेहोर्ने गरी चालु तथा चालु प्रकृतिका खर्चतर्फ ७ करोड ५३ लाख ४३ हजार, उक्त रकममध्ये चालु खर्चमा पदाधिकारी सेवा सुविधा, कर्मचारी तलब भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडाको चालु खर्चका लागि ६ करोड ५३ लाख ४३ हजार र चालु प्रकृतिका विभिन्न कार्यक्रमका लागि १ करोड खर्च हुने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । रावाबेँसी गाउँपालिकाले ४५ वर्षमाथिका बिधुर पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा अघि सार्ने, पूर्णअपांग, अति अशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसूति हुन लागेका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ । 

केपिलासगढीको बजेट १७ करोड ९५ लाख 
केपिलासगढी गाउँपालिकाले १७ करोड ९५ लाख २ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

शुक्रवार सम्पन्न ११ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९र०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले आर्थिक विकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पूर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार विनियोजन  गरेको छ । 

गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : २३ बजे