एनपीएलको ट्रफी सार्वजनिक

कृतज्ञ छौँ जननेता ! जिउँदाको जिम्मेवारी बाँकी नै छ 

भनिन्छ, मृत्यु पनि मान्छेपिच्छे फरक हुन्छ । प्रसिद्ध चिनियाँ भनाइ छ, कसैको मृत्यु चराको प्वाँखझैँ हलुका हुन्छ भने कसैको मृत्यु थाएसान पर्वतभन्दा गह्रौँ हुन्छ । हो, जननेता मदन भण्डारी यति बेला भौतिक रूपमा हामीबीच हुनुहुन्न, तर उहाँका कालजयी विचार र प्रेरणा समाजका लागि मार्गदर्शक छन् । आज उहाँको जयन्ती मनाइरहँदा पनि उहाँको भौतिक अनुपस्थितिलाई गह्रौँ रूपमा महसुस गरिएको छ । उहाँको भौतिक अवसानका कारण उत्पन्न हुने भावुकतामा नभई उहाँलाई सैद्धान्तिक वैचारिक रूपमा पछ्याउनु महत्त्वपूर्ण पक्ष हो । यस अवसरमा उहाँका विचारहरू सम्झनु, मनन गर्नु, लागू गर्ने प्रयत्न गर्नु, थप समृद्ध पार्नु महत्त्वपूर्ण विषय हुन आउँछ । 

जननेता मदन भण्डारीका योगदानका लागि कृतज्ञता, जननेताको योगदान, व्यक्तित्व र कृतित्वलाई नेपाली समाजमा चिरस्मरणीय बनाइराख्न मदन भण्डारी फाउण्डेशन स्थापना भएको हो । सामाजिक जीवनका विविध क्षेत्रमा काम गरिरहेको मदन भण्डारी फाउण्डेशन मूलतः मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकमा आमूल परिवर्तन गर्ने दिशामा पुराउनुभएको योगदान तथा मार्गदर्शन उच्च सम्मानयोग्य छ, अविस्मरणीय र अनुकरणीय छ । जननेताको सम्मान र सम्झनामा स्थापित मदन भण्डारी फाउण्डेशनले आजदेखि साताव्यापी रूपमा जननेताको ७१ औँ जयन्ती मनाउन सुरु गर्ने भएको छ । 

हुन त उहाँको नेतृत्वमा विकसित सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)लाई नेपालको प्रमुख राजनीतिक शक्ति नेकपा एमालेले आफूले अघि बढाइरहेको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरेको छ । देशको सबैभन्दा ठुलो राजनीतिक दलले आफ्नो मार्गदर्शक सिद्धान्त मानेको विचारलाई बहुआयामिक हिसाबले अघि बढाउनु उसको पनि दायित्व हो । कुनै पनि सिद्धान्त, विचार र सवाललाई निर्णायक रूपमा लागू गर्न सक्ने शक्ति भनेको राजनीतिक दल नै हो, फाउण्डेशन जस्ता संस्थाहरूले त समाजको वस्तुस्थिति, सवालहरू र सामाजिक मनोविज्ञानलाई उजागर गर्नेसम्म हो । यस दिशामा मदन भण्डारी फाउण्डेशन कत्ति नचुकी सामर्थ्यले भ्याएसम्म अघि बढिरहेको देखिन्छ । 

‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो’ भन्नुहुने जननेता मदन भण्डारीको यो भनाइ मात्र पनि मौलिकता र वस्तुस्थितिभन्दा पर शास्त्रीय जडतामा जकडिएर रहेको नेपालको कम्युनिष्ट आन्दोलनका लागि गहकिलो मार्गदर्शन हो । जननेताको यो भनाइ सिद्धान्तका नाममा व्यवहार भुलेका सबैलाई मार्गदर्शक हुन सक्नेमा कुनै द्विविधा रहँदैन । उहाँको विचारमा प्रकट भएको यो विषयले अन्यत्रलाई पनि सङ्केत गरिरहेकै छ । 

जननेता मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित जनताको बहुदलीय जनवाद, सामन्तवाद, साम्राज्यवाद विरोधी क्रान्तिको मौलिक विशेषतायुक्त कार्यक्रम हो । यसलाई नयाँ र मौलिक विशेषतासहितको नयाँ जनवादी क्रान्तिको कार्यक्रमका रूपमा बुझ्न सकिन्छ र बुझिँदै आएको पनि छ । प्रायः कम्युनिष्टहरूले भन्दै आउने गरेको नयाँ जनवादी कार्यक्रममा यसले थप १४ नयाँ विशेषताहरूलाई आत्मसात गरेको छ ।

कम्युनिष्टहरू अधिनायकवादी हुन्छन्, कम्युनिष्ट पार्टीको विधान नै उनीहरूको राज्य सञ्चालनको संविधानसरह हुन्छ भन्ने भ्रामक मान्यताहरूलाई चिर्दै जननेताले यी १४ विशेषता थपेर कम्युनिष्ट आन्दोलनमाथि थोपरिएको आग्रहबाट माथि उठाउनुभयो । ती विशेषताहरू संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय हितमा विदेशी पुँजी र प्रविधिको उपयोग, क्रान्तिलाई सहज बनाउन क्षतिपूर्तिको सिद्धान्त, राष्ट्रिय हितमा आधारित विदेश नीति, नेतृत्व र अभिनायकत्वको नयाँ अवधारणा, जनताको बहुदलीय जनवाद रहेका छन् । यसलाई जबजका थप विशेषता भनेर बुझिन्छ । 

यसको प्रतिपादनमा सोभियत मोडेलको समाजवादको असफलता र चिनियाँ कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिको नाममा भएका अतिवादलाई शिक्षाको रूपमा ग्रहण गरिएको छ । यसले नेपाल कम्यनिष्ट पार्टीले स्थापना कालमा जहानियाँ हुकुमी शासनका विरुद्धका आन्दोलनमा प्रजातन्त्रका पक्षमा उठाएका मुद्दाहरू सहभागी भएको, त्यसपछि लामो समय निरङ्कुश पञ्चायती व्यवस्थाको नाममा स्थापना गरिएको शाही निरङ्कुशताका विरुद्धमा गरेका सङ्घर्षहरूका अनुभवहरू जबजको विकासमा महत्त्वपूर्ण छन् । 

वि.स.२०१७ सालमा तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी राजनीतिक दलहरूमाथि प्रतिबन्धको निर्दलीय पञ्चायतको नाममा निरङ्कुश व्यवस्था लादेपछि राजाको यस यस कदमको विरोध गर्दै लोकतन्त्र(त्यति बेला प्रजातन्त्र) पुनः स्थापनाका लागि कमरेड पुष्पलालले संयुक्त जनआन्दोलनको आवश्यकतामा जोड दिनुभएको थियो । नेपाली काँग्रेसको नेतृत्व यसका लागि तयार भएन । वि.स.२०४६ सालमा जननेता मदन भण्डारीको पहलकदमीमा त्यो सम्भव भयो । मुलुकका कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका बीचमा संयुक्त जनआन्दोलन गर्ने सहमतिपछि भएको जनआन्दोलनको बलमा निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था धराशायी भयो र देशमा बहुदलीय व्यवस्था पुनः स्थापना भयो । यो अवस्था जबज विकासका लागि महत्त्वपूर्ण आधार हो । 

जनताको बहुदलीय जनवाद नेपाली मौलिकता अनुरूपको विचार हो । यो विचार मनोगत आग्रहबाट नभई नेपालको सामाजिक अवस्था तथा राजनीतिक आन्दोलनको आवश्यकताका कारण विकास गरिएको हो । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र भौगोलिक विविधता नेपाली समाजको विशेषता हो । यस्तो बहुलतालाई जनताको बहुदलीय जनवादले आत्मसात गरेको छ । 

राजनीति साम्यवादी होस् वा पुँजीवादी, आफ्नो स्वत्वको रक्षा र विकासका लागि अनुकूल सोच विकास गर्नै पर्ने हुन्छ । पुँजीवादले आफ्नो रक्षा र विकासका सन्दर्भमा अवलम्बन गरेका नयाँ मान्यताहरूले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका सन्दर्भमा तदनुरूप नयाँ सोचको विकास अपरिहार्य बन्दै गएको अवस्था थियो । यी सन्दर्भहरूका साथै नेकपा(एमाले)को आन्दोलनको उन्नत वैचारिक अभ्यासको परम्पराको पृष्ठभूमिमा प्रखर वैचारिक नेता मदन भण्डारीको अगुवाइमा जबजको विकास सम्भव भएको हो । 

नेकपा एमालेको सन्दर्भमा भन्ने हो भने जबज पाँचौँ राष्ट्रिय महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा पारित भएको हो । छैटौँ राष्ट्रिय महाधिवेशनले यसलाई नेतृत्वकारी विचारका रूपमा र आठौँ राष्ट्रिय महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेको हो ।

मानव जातिले आर्जन गरेका जीवन्त र मूल्यवान् उपलब्धिको जगमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्नु, शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट जनक्रान्ति सम्पन्न गर्न सकिने मान्यताको विकास गर्नु, क्रान्ति पूर्व कम्युनिष्ट सरकार र सरकार सञ्चालनको माध्यमबाट क्रान्तिकारी शक्ति सञ्चयको कार्यनीतिलाई सफलतापूर्वक अघि बढाउनु, राज्यसत्ता, नेतृत्व र अभिनायकत्वका सन्दर्भमा नयाँ मान्यताको विकास गरी प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्न सकिने र त्यसका माध्यमबाट वर्गीय हितको पक्षपोषण गर्न सकिने मान्यताको विकास गर्नु परम्परागत कम्युनिष्ट आन्दोलनको प्रचलनभन्दा भिन्न छन् । तसर्थ यी जनताको बहुदलीय जनवादका उपलब्धि हुन् । 

पार्टी जीवनको लोकतान्त्रिकरणका रूपमा पार्टी निर्माणको नयाँ अवधारणाको विकास गर्नु, अन्तर पार्टी जनवादको आयाम र आधारलाई फराकिलो बनाउनु, पार्टीमा पार्टी सदस्यको सम्प्रभुसत्ता स्थापित गर्नु जनताको बहुदलीय जनवादको पार्टी सञ्चालनका सन्दर्भमा विकास गरिएका उपलब्धि हुन् । 

मार्क्सवादी दर्शनका तीन नियमहरू— मात्राबाट गुणमा परिवर्तन, निषेधको निषेधसम्बन्धी नियम र सङ्घर्ष र एकताको नियमलाई नेपाली क्रान्तिको विकासमा सही रूपमा प्रयोग गर्न सफल हुनु ठुलो उपलब्धि मान्न सकिन्छ । शान्तिपूर्ण बाटोबाट समाजवाद निर्माणको आधार तयार गर्नु, नेपालको संविधान २०७२ मा उक्त मान्यतालाई स्थापित गर्न सफल हुनु, २०६२/०६३ सालको जनक्रान्तिको वैचारिक नेतृत्व गर्न सफल हुनु जनताको बहुदलीय जनवादको महत्त्वपूर्ण राजनीतिक, वैचारिक, सैद्धान्तिक उपलब्धि हो ।

वैचारिक–राजनीतिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जबजको सान्दर्भिकता पटक—पटक पुष्टि भएको छ । नेपाली राजनीतिका दुई प्रमुख धार माओवादीको उग्रवामपन्थता र नेपाली काँग्रेसको यथास्थितिवादसँगको सङ्घर्षमा जबजका मान्यताहरू सही साबित भएका छन् । नेपाली क्रान्तिको एक मात्र बाटो दीर्घकालीन सशस्त्र जनयुद्ध हो भन्ने मान्यताका साथ सशस्त्र युद्धमा होमिएको माओवादी र राजतन्त्रको विकल्प नदेख्ने नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याइपुर्‍याउने सैद्धान्तिक शक्ति जबज नै हो ।

जनवादी क्रान्तिसम्बन्धी अन्यत्रका सफलता, असफलता तथा अनुभवहरू समेतको विश्लेषण गरी संश्लेषित विचारका आधारमा नेकपा एमालेले क्रान्तिको मुख्य आधार सचेत र जागरूक जनता नै हुन् भन्ने मान्यता दृढतासाथ राख्दै आयो । २०६२—०६३ सालको जनक्रान्तिले नेकपा माओवादीका उपरोक्त तीन वटै मान्यताहरूलाई असान्दर्भिक बनाइदिए र क्रान्तिसम्बन्धी जबजका मान्यताहरू स्थापित भए । 

नेकपा एमालेले पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता आत्मसात गरेपछि नेपालका राजनीतिक पार्टीहरू कुनै न कुनै रूपमा त्यसबाट प्रभावित भए । जबज राजनीतिक क्रान्तिको बाटोका सन्दर्भमा, पार्टी निर्माणको नयाँ मान्यताका सन्दर्भमा, अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ मोडेलका सन्दर्भमा र विकासको नेपाली मोडेल प्रस्तुत गर्ने सन्दर्भमा मार्गदर्शन गर्न सफल भएको छ ।

पार्टी जीवनको लोकतान्त्रीकरणका लागि र बहु पदीय संरचनाको निर्माण र त्यसको अभ्यासमा पार्टी अघि बढिरहेको छ । यी विशेषतामा आधारित भएका कारणले जनताको बहुदलीय जनवादलाई कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्त, मौलिक र नवीन कार्यक्रम मानिएको हो । अन्य विषयका साथै मूलतः यसले राज्यको लोकतान्त्रीकरण, पार्टीहरूको लोकतान्त्रीकरण र समाजको लोकतान्त्रीकरणमा जोड दिएको छ । राज्यका नीति निर्माण तथा शासन सञ्चालनका सबै क्षेत्रमा समानुपातिक समावेशिताको प्रयोग तथा आर्थिक, सामाजिक विकास र रूपान्तरणको अवधारणाको मार्गदर्शक पनि जनताको बहुदलीय जनवाद नै हो । यसले परराष्ट्र नीतिमा नयाँ प्रयोग र राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा वृद्धि गर्ने दिशा अवलम्बन गरेको छ । समृद्ध नेपाल, सुखी नेपाली अन्तर्गत विकास र समृद्धिको नयाँ बाटो अवलम्बन गरेको छ । 

यी सबै विषयको मार्गदर्शक सिद्धान्त विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका जननेताप्रति श्रद्धा कृतज्ञता व्यक्त गर्नु र उहाँले देखाउनुभएको मार्गचित्र पछ्याउनु परं कर्तव्य हो । जननेता मदन भण्डारीको जन्म वि.स. २००९ साल असार १४ गते पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको ढुङ्गे साँघुमा भएको थियो । माथि उल्लेख गरिएको नेपाली राजनीतिमा महत्त्वपूर्ण सैद्धान्तिक वैचारिक योगदान गर्नुभएका उहाँको वि.स.२०५० साल जेठ ३ गते चितवनको दास ढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा परी दुःखद अवसान भएको हो । उहाँको मृत्युको रहस्यको पर्दा उघार्ने र उहाँले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली धर्तीमा न्यायपूर्ण राजनीतिक व्यवस्था स्थापना गर्ने जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी नै छ । 

जननेताप्रति कृतज्ञतासाथ सश्रद्धा स्मरण !!

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ०८ बजे