दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एसिया कपमा स्थान बनाउन नेपाल र युएई भिड्दै

काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को आज सामना गर्दैछ । 

मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु हुनेछ । 

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । 

नेपाल समूह बी मा चार खेलबाट ६ अङ्क जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अङ्क बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । 

यसअघि, नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । 

यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिवार हुनेछ । फाइनल पुग्ने दुवै टोली एसिया कपमा छनोट हुनेछन् । 

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ५९ बजे