‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सत्य प्राप्तिका लागि योगासन !

सम्पूर्ण प्राणी जगतको जीवन नै जल सेवन हो । जलको मूल स्रोत हिमालय हो र त्यहाँबाट पवित्र गङ्गा नदीको रूपमा नित्य–निरन्तर प्रवाह भइरहन्छिन् । त्यस्तै, योगाभ्यासको पनि मूल स्रोत सदा शुद्ध ‘यम–नियम’ (पाशुपत व्रत) नै हो । 

‘यम–नियम’ योगाभ्यासरूपी नदीको हिमालय जस्तै पवित्र हुनुपर्दछ । जसबाट साधकमा त्यसको प्रतिफल (लाभ) सदा प्रवाहित भई नै रहन्छ । स्मरण होस्, मानव धर्मका आत्मानुशासनहरू ‘यम–नियम’ महान् धर्म शक्तिलाई सम्पूर्ण मानवले पालन एवं धारण गर्नुपर्दछ । यसको अस्तित्वविना यौगिक जीवनको मूल सुकेर जान्छ । साधकका लागि यो आवश्यक छ कि उसले सम्पूर्ण अनुशासनका साथै नियमित रूपले योग आसनहरूको अभ्यास गर्नु पर्दछ र यम–नियमको शीतल छहारीमा चित्तलाई जगमग गराइरहनुपर्दछ ।

आसनको महत्त्व
​​​​​​​आसन अर्थात् ‘सुखदायी शारीरिक स्थिति’बाट शारीरिक स्थिरता, अङ्ग—प्रत्यङ्गमा हलुकापन, फुर्ती, ताजापन, अनुहारमा कान्ति उत्पन्न हुन्छ शरीर सुन्दर सुगठित र लचिलो बन्दछ उत्तम शारीरिक स्थिति, मानसिक सन्तुलन ल्याई चित्तलाई शान्त पार्दछ । योगासन केवल व्यायाम मात्र नभई एक शारीरिक शिक्षा हो, जसले योगका अभ्यासीहरूलाई आत्म— साक्षात्कारतर्फ प्रेरित गर्दछ ।

मानव शरीरमा साठ्ठी (६०) अरब कोषिकाहरू असङ्ख्य सूक्ष्म तन्तुहरू छन्, यसमा बहत्तर (७२) हजार नाडीहरू छन् । यिनीहरूको मिलनबाट अरूको जन्म हुन्छ । अङ्गबाट प्रणालीकी र पी तथा प्रणालीहरू अलग अलग स्थानमा रही स्वतन्त्र बाट सञ्चालित छन् । भिन्न–भिन्न स्थानमा सक्रिय रहेर पनि यिनीहरूबीच समन्वय, संयोजकत्व र सन्तुलन छ । यही यिनीहरूको ठुलो विशेषता हो । त्यसैले नै यी सङ्गठित र शक्तिशाली छन् । जहाँ हरेक अङ्गहरू आफ्ना आफ्नै स्थानमा स्वतन्त्र ढङ्गले सक्रिय रहेर पनि एक अर्कामा पूरक छन्, यस्तो प्रणालीलाई स्वतन्त्र भनिन्छ ।

मानव शरीर पनि एउटा विश्व–ब्रह्माण्ड नै हो । योगीहरूले यसलाई ‘स्वराष्ट्र’ को नाम दिएका छन् । योग आसनहरूले शरीररूपी स्वराष्ट्रमा प्रत्येक अङ्गहरूलाई ऊर्जा प्रदान गर्दै स्वतन्त्र ढङ्गले कार्य गर्न प्रेरित गर्दछ । यो नै शारीरिक शिक्षा हो ।

शारीरिक, मांसपेशी, नाडीहरू र ग्रन्थिहरूलाई सुन्दर र स्वस्थ बनाएर प्रयोगमा ल्याउनका लागि योगासनहरूको विकास भएको हो । यी आसनहरूले महान् चेतनतत्वको विकास गर्दछ र शरीरलाई रोगबाट मुक्त पारेर आयु बढाउँदछ । त्यसैले, आसन स्थूल शरीरमाथि विजय प्राप्त गर्ने मुख्य साधन हो । योगीलाई यो थाहा हुन्छ कि यो बहुमूल्य शरीर ईश्वर प्राप्ति र प्राणी मात्रको सेवाद्वारा ईश्वर भक्ति गर्नका लागि भएको हो । 

त्यसैले उसले स्वास्थ्यको महत्त्व पनि थाहा पाएको हुन्छ कि यो एक अमूल्य सम्पत्ति हो । एक स्वस्थ शरीरबाट स्वस्थ मनको विकास हुन्छ, स्वस्थ मनमा जागृत आत्मा विराजमान रहन्छ, यो वास्तविक सत्य हो । यस सत्य–प्राप्तिका लागि योगीजन नित्य योगासन गर्दछन् ।

(लेखक ‘पाशुपत योग’का लेखक, पाशुपत—धर्म उत्थान तथा संस्थापनार्थ सङ्घका संस्थापक एवं योगसाधक हुनुहुन्छ ।)

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : १२ बजे