राज्यमन्त्री वली प्रकरण: छानविन टोली भोली दाङ जाँदै

बुटवल – लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका– ५ मा एकराज बस्नेतको घरमा पुग्दा भएको विवादको घटनालाई छानबिन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थल जाने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलक राम शर्माको नेतृत्वमा बनाएको सत्य तथ्य छानबिन टोलीले भोलि तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको परिवारसँग घटनाको बारेमा बुझ्ने जनाइएको छ ।

राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित बस्नेतको घरमा पुगेर उनकी पत्नी तथा छोरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप छ । छानबिन टोलीका संयोजक शर्माले एक चरण राज्यमन्त्री विमलासँग बुझ्ने काम भएको र घटनामा अर्को पक्ष अर्थात् बस्नेत परिवारसँग बुझ्न भोलि दाङ जाने तयारी गरेको बताउनुभयो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : १८ बजे