‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मातृशिशु स्वास्थ्य जाँच र पोषण खाद्यान्न वितरण

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेलीसहित भेटघाट कार्यक्रम सुरु गरेको छ  । 

उपमहानगरपालिकाका प्रमुख मीना लामाले महिला तथा तथा बालबालिकालाई प्राथमिकतामा राखेर उक्त कार्यक्रमको सुरुवात गर्नुभएको हो । उपमहानगरप्रमुख लामाका अनुसार  गर्भवती महिलाको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलालाई कम्तीमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । भिडियो एक्सरे सेवाबाट हालसम्म ९६ गर्भवतीले सेवा लिएका छन् । 

यस्तै, उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौँडा अस्पतालमा सुरु गरिएको मिर्गौला डायलासिस सेवा हेटौँडा अस्पतालमा चालु रहेको बताइएको छ । हाल सो केन्द्रमा आठवटा डायलासिस मेसिन खरिद गरिएको तथ्याङ्कमा उल्लेख छ । प्रमुख लामाले हेटौँडा उपमहानगरले सीमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिकरुपमा अतिविपन्न १२८ परिवारको स्वास्थ्य बिमासमेत गरिदिएको जनाउनुभयो ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिकाले आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चिताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थामा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने औषधि सहज र सरलरुपमा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ । दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिलाई लक्षित गरी प्रत्येक वडामा रहेका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम सञ्चालन गरिदै आएको जनाइएको छ । जसबाट हालसम्म १६ जना सेवाग्राहीले सेवा पाएका छन् ।

महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सरजस्ता घातक रोगको पहिचानका लागि आर्थिक वर्ष २०७८/०७९ मा नगरको तीन स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । हेटौँडाको हर्नामाडी स्वास्थ्यचौकी, ज्यामिरे सहरी स्वास्थ्य केन्द्र, हटिया सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा ३७० महिलाहरुले सेवा लिएका थिए । उपमहानगरपालिकाको वडा नम्बर १, ४, ५, १० मा भवन निर्माण कार्य भइरहेको छ भने वडा नम्बर ९ मा जग्गा प्राप्तिमा ढिलाइको कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।

स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन र आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्घि गर्न इ–रिपोर्टिङ सिस्टमको विकास गरिएको छ । हाल हटिया स्वास्थ्यचौकी र नागस्वती सहरी स्वास्थ्य केन्द्रमा यस कार्यक्रमको परीक्षण भइरहेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

सिलिङ बजेटमा काम गर्न सुरु

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत बजेट सिलिङ तयार पारेको छ । हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाका लागि रु ३६ करोड ५० लाख बजेट सिलिङ तयार गरिएको हो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को तुलनामा आगामी आर्थिक वर्षका लागि वडागत बजेट सिलिङमा रु तीन/तीन लाख थप गरिएको हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिनुभयो । गत वर्षहरुमा वडाले गरेका कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरिएको उहाँको भनाइ छ ।

वडागत बजेट सिलिङ तोकिएसँगै वडामा योजना छनोटको कार्य भइरहेको छ । वडामा टोल विकास संस्थामार्फत प्रतिनिधित्व रहने गरी योजना छनोटको कार्य भइरहेको छ । केही वडाले भेला नै आयोजना गरेर बजेटअनुसार कार्यक्रम तयार पारिरहेको छ भने केही वडामा अझै योजना छनोटका लागि भेला हुन बाँकी छ । हेटौँडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ ।

वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा रु पाँच÷पाँच लाखको बजेट सिलिङ तयार पारिएको हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ रु ९५ लाख र विविध व्यवस्थापनतर्फ पनि रु ९५ लाखको बजेट सिलिङ तयार पारिएको हो । वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ नम्बर वडामा २/२ करोड बजेट सिलिङ तोकिएको छ । यस्तै वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ वडामा रु एक करोड ९५ लाखको दरले बजेट सिलिङ तयार गरिएको छ । वडा नम्बर १८ मा रु दुई करोड २५ लाख र वडा नम्बर १९ मा भने रु दुई करोड ५० लाखको बजेट सिलिङ तयार गरिएको छ ।

रु ३८ करोड ४० लाखको बजेट सिलिङ रहेकामा रु ३६ करोड ५० लाखको मात्र बजेट सिलिङ तयार गरिएको थपलियाले बताउनुभयो । वित्तीय समानीकरण, राजस्व बाँडफाँट सङ्घीय सरकार, राजस्व बाँडफाँट प्रदेश सरकार र आन्तरिक स्रोतमा २५/२५ प्रतिशत बजेट सिलिङ रहेको छ । जसमा वडागतरुपमा रु ४६ लाख २५ हजारदेखि ६५ लाखको दरले बजेट सिलिङ तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

दैनिक २०० भन्दा बढीको नाम दर्ता गराउन नसक्ने हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयले स्पष्ट पारेको छ भने सेवाग्राहीको सङ्ख्या ५०० भन्दा बढी रहेको छ । असार १ गतेबाट निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरेको हो ।

नागरिकको चाप बढी भएपछि सबै नागरिकको सहजरुपमा नाम दर्ता गर्न, गराउन स्थानीय प्रशासनले आवश्यक सहयोग गर्न सक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभएको छ । आयोगको आवश्यकताअनुसार स्थानीय प्रशासनले सहयोग र सहजीकरण गरिदिने प्रजिअ पाण्डेको भनाइ छ । मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य सुरु गर्नुअघि असार १ गते सर्वदलीय बैठक राखी के कसरी सहजीकरण गर्न सकिन्छ भनी छलफल भएको थियो ।

प्रजिअ पाण्डेले आयोगले माग गरे आवश्यक जनशक्ति काजमा भए पनि व्यवस्थापन गरेर पठाउन सकिने स्पष्ट पार्नुभएको छ । सेवाग्राहीको सहजताका लागि आवश्यक सहजीकरण गर्न प्रशासन तयार रहेको उहाँले बताउनुभएको छ । अहिले दुई वटा स्टेशन बनाएर फोटो खिच्ने र विवरण भर्ने काम भइरहेको छ । सेवाग्राहीको सहजताका लागि फोटो खिच्ने र विवरण भर्ने स्टेशन थप गरेर सहज बनाउन सकिने प्रजिअ पाण्डेको भनाइ छ । प्रदेश निर्वाचन आयोगको कार्यालयका प्रमुख लुम्बध्वज पोखरेलले भने जनशक्ति र उपकरणको अभावमा २०० भन्दा बढीलाई सेवा दिन नसकिने स्पष्ट पार्नुभएको छ । सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागू गरेको जानकारी गराउनुहुँदै सम्भव भएसम्म प्रयास गरिरहेको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ४५ बजे