जिससमार्फत निर्माणाधीन भवनको अनुगमन

काभ्रेपलाञ्चोक। जिल्ला समन्वय समिति (जिसस) काभ्रेमार्फत स्थानीय तहमा आवश्यकीय भवन निर्माण भइरहेका छन् । सो क्रममा रोशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । 

जिससको मौज्दात बजेटमार्फत ७ नं वडास्थित अमलटारमा उक्त भवन निर्माण भएको हो । जिससको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अर्थात् रु ५८ लाखमा भवन निर्माण सम्झौता भएको थियो । जिससले यसअघि रु १२ करोड रकम जिल्लास्थित १३ स्थानीय तहलाई आवश्यकीय भवन निर्माणार्थ बाँडफाँट गरेको थियो । 

अन्य तहमा प्रशासकीय, वडा तथा स्वास्थ्य कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको र तिनीहरूको अनुगमनकार्य सुरु गरिएको नवनिर्वाचित जिसस प्रमुख दीपक गौतमले बताउनुभयो । “जिससको बजेटमार्फत जिल्लाका स्थानीय तहमा विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन्, के–कति निर्माण प्रगति भए टोली बनाएर तिनीहरूको अनुगमन थालेका छौँ”, उहाँले भन्नुभयो । 

‘म्याचिङ फण्ड’बाट पालिकाको भवन निर्माण भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार स्थानीय छ व्यक्तिद्वारा निःशुल्क प्रदान गरिएको १० रोपनी जग्गामा निर्माण सम्पन्नको चरणमा रहेको उक्त भवन आठकोठे रहेको छ । यसका साथै गाउँपालिकाको अर्को ३७ कोठे भवनसमेत निर्माण थालिएको छ ।

स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार)र गाउँपालिकाको ६०–४० प्रतिशत अर्थात् कूल रु छ करोड पाँच लाखको लागतमा निर्माण थालिएको उक्त भवन आउँदो २०८१ सालमा सम्पन्न हुनेछ । सोमबार जिसस प्रमुखको नेतृत्वको एक टोलीले गाउँपालिकाका निर्माणाधीन दुवै भवनको निरीक्षण गरेको हो । 

उक्त टोलीले रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्ग तथा रोशी नदी किनारबीचमा निर्माणाधीन तामाङ समुदायको डम्फु जीवन्त सङ्ग्रहालयको समेत अनुगमन गरेको छ । राष्ट्रिय योजना आयोगको रु ११ करोड बजेटमा उक्त सङ्ग्रहालयमा आठ दशमलव पाँच मिटर डायमिटरको डम्फु निर्माण गरिँदैछ भने पुस्तकालय, तामाङ संस्कृति झल्कने सामग्री प्रदर्शनी भवन तथा वनभोजस्थल निर्माण गरिने योजना छ । 

त्यसैगरी टोलीले बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा बाढीका कारण करिब २०० मिटर क्षतिग्रस्त सडकसमेत अनुगमन गरेको छ । उक्त स्थानमा साताअघि एक निजी गाडी बाढीले सडकमै पुरिएको थियो । हाल उक्त स्थानमा दायाँबायाँबाट सवारी आवागमन गरिएको छ । “सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै सडक सहज बनाउँछौँ”, गौतमले भन्नुभयो ।      
 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : १९ बजे