तीन प्रदेशमा वर्षाको सम्भावना

उपप्रमुखको श्रीमतीलाई मत्स्य विकास केन्द्रको ठेक्का,विकास निर्माणमा गुणस्तरीयहिन सामग्रीको प्रयोग

सिरहा । सिरहाको लहानस्थित मत्स्य विकास केन्द्र हातामा भइरहेको विभित्र विकास निर्माण कार्यमा कर्मचारी र ठेक्केदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरिरहेको पाइएको छ ।

विकास केन्द्र हाताभित्रै पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमत्तोमा गुणस्तरहीन काम भइरहेको हो । मत्स्य विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा १७२ मिटर लामो फिडिङ क्यानल नाला निर्माणको ठेक्का स्वीकार गरी काम गरिरहेको छ । विकास निर्माणको काममा एक नम्बर इँटा प्रयोग पर्नुपर्ने हो, तर यसमा तोकेको भन्दा कम गुणस्तरको मिठापाक,गोरीया इँटा प्रयोग भएको पाइएको छ ।

कम गुणस्तरका इँटा प्रयोग नगर्न निर्माण कामको निरीक्षण गर्ने जिम्मा पाएका साइड इन्जिनियर रामविश्वास भण्डारीले तत्काल इँटा फेर्न भने पनि ठेकेदारले अटेर गरि गुणस्तरीयहीन इँटा नै प्रयोग गरिरहेको बताउनुभयो। इन्जिनियर भण्डारीले भन्नुभयो, ‘मैले ठकेदारलाई प्रयोग गरिएको इँटा  गुणस्तरहिन देखिएपछि  प्रयोग नगर्न भनिसकेको छु, मैले बारम्बार भनिरहे पनि ठेकेदारले बेवास्ता गरे ।’

निर्माण कम्पनीकै निजी प्राविधिक सञ्जिव ठाकुरले पनि कमसल इँटा प्रयोग भएको स्वीकार्नुभयो ।  उहाँले भन्नुभयो, ‘इँटा उद्योगको लापरबाहीका कारण केही इँटा नराम्रो आएकै हो, मैले तत्काल नल्याउन भनिसकेको छु।’

मत्स्य विकास केन्द्रका प्रमुख मुङ्गालाल चौधरीले समेत इँटा फेर्न भनेको बताउनुभयो। चौधरीले ठेकेदारलाई फोन गरेर इँटा फेर्न भने पनि अटेर गरेको सुनाउनुभयो ।

लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको श्रीमतीको नाममा रहेको सल्हेश कन्सट्रक्सनले काम गरिरहेको छ । कम्पनी श्रीमतीको नाममा भए पनि उपप्रमुख महतोले काम गर्दै आइरहनुभएको छ । कमसल सामग्री प्रयोगको विषयमा महतोसँग बुझ्न खोज्दा उहाँले  ‘तपाइँसँग ल्याब छ ? कुन ल्याबमा जाँचेर कमसल भन्नुभएका हो ?’ भन्दै प्रतिप्रश्न गर्नुभयो ।

यहि हाताभित्रै ५५ लाखको लगानीमा ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ। यसको ठेक्का भने भवानी कन्ट्रक्सले पाएको छ। माछाको भुरा उत्पादन गर्ने यहाँ ओभरहेड ट्याङ्की निर्माणमा पनि गुणस्तरहिन बालुवा लगाएतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।

पूर्वाधार निर्माणको काममा प्रशोधित बालुवा गिट्टीको प्रयोग गर्नुपर्ने हो । तर, यहाँ खोलाको बालुवा र गिट्टी कम मूल्यमा पाइने भएकाले निर्माण कम्पनीहरू सिधै खोलाबाट ल्याएर निर्माण कार्यमा प्रयोग गरिरहेका छन् ।

मत्स्य विकास केन्द्रकै हाताभित्र ४० लाखको कर्मचारी आवास, २० लाखको डिप बोरिङ जडान, २० लाख पोखरीको बाल सुद्धृढीकरणको काम भइरहेको छ । 

उपमेयर महतो गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित हुनुभएको थियो । 
 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ०७ बजे