डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित 

काठमाडौँ । सङ्घीय संसद् अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । 

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम(एसपीसी)बारे छलफल गर्ने समितिले प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो। यसअघि यसै विषयमा सांसदहरूले जवाफ माग्दा प्रधानमन्त्री देउवा सङ्घीय संसद्मा समेत अनुपस्थित हुनुभएको थियो । 

प्रधानमन्त्री देउवा असारको दोस्रो साता अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । उक्त भ्रमणका क्रममा एसपीपीमा सम्झौता हुने आशङ्का गर्दै व्यापक विरोध हुँदै आइरहेको छ । जनस्तरमा व्यापक विरोध सुरु भएसँगै सो विषयमा जानकारी लिन संसदीय  समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो।

गत शुक्रवारको बैठकले एसपीपीबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको थियो।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको बताउनुभयो ।  प्रधानमन्त्रीका स्वकीय सचिव  भानु देउवाले आउन नसक्ने जानकारी गराएको उहाँले जानकारी दिनुभयो । 

आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरै पहल गरेको तर उपस्थित गराउन नसकेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवा समितिको बैठकमा नआएसँगै नेकपा एमालेका नेता तथा पूर्व रक्षा मन्त्री भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको भन्दै खेद व्यक्त गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले संसद्बाट भागेर गल्ती ढाकछोप गर्न खोजिरहेको बताउनुभयो ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ५३ बजे