तीन प्रदेशमा वर्षाको सम्भावना

एसपीपी कसरी आयो खोजिनु पर्छ, यसमा फर्गेट भनेर हुँदैन : प्रदिप ज्ञवाली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं पूर्वपराराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले एसपीपी सम्झौता नेपालमा कुन मितिमा कसरी आयो सबै वास्तविकता आउनु पर्ने बताउनुभएको छ । 

मदन भण्डारी फाउण्डेशनले आज काठमाडौंमा आयोजित ‘वर्तमान कूटनैतिक अभ्यास र यसका प्रभाव’ विषयक अन्तरसंवादमा बोल्नुहुँदै उहाँले एसपीपी ल्याउनु हुँदैन भनेर सबै दलका नेताहरूमा साझा धारणा बन्दै जानु सकारात्मक भए पनि एसपीपी कसरी आयो, कसरी बढ्यो, यसको स्रोत के हो भन्ने कुरा सबै बाहिर ल्याउन जरुरी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एसपीपीको स्रोत खोज्नै पर्छ, अब भयो, फोरर्गेट फोरर्गेट भनेर हुँदैन ।’ 

उहाँले पछिल्लो समय नेपाली सेनालाईसमेत विवादमा ल्याउने काम भइरहेको बताउनुभयो । ‘अदालतलाई विवादमा मात्र हैन के के मा ल्याइयो थाह नै छ, संसदलाई त्यस्तै गरियो, अब सेनालाई विवादमा ल्याइदैछ।’उहाँले भन्नुभयो ।  

नेता ज्ञवालीले वर्तमान सरकारका कारण नेपालको कूटनीतिमा गम्भीर प्रकारको विचलन आउन लागेको समेत बताउनुभयो  । 

उहाँले विशेष गरी अहिलेको सरकारले एकातिर सीमा समस्या हुँदा अर्को तिर समस्या छ भन्दै कार्यदल बनाउनु, कुनै छिमेकी देशमा राजदूत राख्नु तर कुनैमा यत्ति लामो समयसम्म हुँदासम्म राजदूत नतोक्नु, बिआरआई बढाउन सङ्कोच गर्नु जस्ता कयौँ कारणले परिपक्व र सन्तुलित सम्बन्ध राख्न नसकेको बताउनुभयो । 

उहाँले नेपाल जस्तो दुई ठुलो भू-भाग र जनसङ्ख्या भएका शक्तिशाली छिमेकीको बीचमा भएको मुलुकले परिपक्क खालको सन्तुलित कूटनीतिक सम्बन्ध बनाइराख्नु पर्ने बताउनुभयो ।

उहाँले संविधानले निदृष्ट गरेको परराष्ट्रसम्बन्धी संवैधानिक दिशानिर्देशलाई कोही कसैले भुल्न नहुने  बताउनुभयो । उहाँले सबैदलहरुले राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका सम्बन्धमा  दलगत स्वार्थ त्यागेर साझा धारणा बनाउनु पर्ने बताउनुभयो । 

एसपीपीका सम्बन्धमा बोल्नुहुँदै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले  अहिलेसम्म देखिएका कागजात र पत्राचार हेर्दा यसलाई २०७२ सालको संविधान जारी हुनुभन्दा केही समय अगाडी, तराईमा आन्दोलन भइरहेको समयमा नेपाललाई पत्र पठाएको देखिएको बताउनुभयो । भूकम्प र राजनीतिक कारण मुलुक अस्थिर अवस्थामा रहेको बेलामा एसपीपीलाई अगाडी बढाइएको देखिन्छ । परराष्ट्र मन्त्रालयबाट हुनु पर्ने कामलाई पहिला सोझै जङ्गी अड्डामा र त्यस्पछि रक्षा मन्त्रालयमा पठाइएको देखिन्छ । रक्षामन्त्रालयले पनि आफ्नो एक जना प्रतिनिधि राखेर अगाडी बढाउन निर्देशन दिएको भेटिन्छ उहाँले भन्नुभयो । सोही निर्देशनको आधारमा जङ्गी अड्डाले कसैलाई सोधपुछ नगरी अगाडी बढेको देखिन्छ उहाँले भन्नुभयो । ओली नेतृत्वको सरकार आउनु अघि नै त्यो सब भएको र यस विषयमा सरकारलाई कुनै जानकारी दिने काम भएको देखिँदैन उहाँले भन्नुभयो ।

सन् २०१९ मा भने अमेरिकाले जारी गरेको रिर्पोटमा एकाएक नेपाल सैन्य रणनीतिमा सामेल भनेर आएपछि तत्कालीन सरकारले यस बारेमा छानबिन समिति बनाई उक्त प्रक्रियालाई त्यही रोकको उहाँले बताउनुभयो । हामीले थाहा पाएपछि त्यो प्रक्रियालाई त्यही रोकेर हामी त्यसमा जान सक्दैनौ भनेर रोक्यौ त्यसपछिको सरकारले के गर्‍यो आफूले भन्न नसक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा  माओवादी केन्द्रका नेता  पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि ज्ञवालीको कुरामा समर्थन जनाउनुभयो । उहाँले  आफू एसपीपीबारे पहिला केही जानकारी नपाएकोसमेत बताउनुभयो ।

''एसपीपीका सन्दर्भमा मैले पनि बाहिर आइसकेपश्चात मात्र जानकारी पाएको हुँ, घटनाक्रम बुझ्दा आधिकारिक निकायबाट प्रक्रिया नपुराएकै देखिन्छ । परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने कामलाई जङ्गी अड्डाबाट रक्षा मन्त्रालयलाई चिठी पठाउनु, रक्षा मन्त्रालयले हाम्रो पनि एउटा प्रतिनिधि राख्नू भन्ने किसिमको जवाफले हाम्रो कमजोरीलाई देखाएको छ'', उहाँले भन्नुभयो  । 

कार्यक्रममा  नेपाल एसियाली तथा अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले  नेपालको कूटनीति सञ्चालनका लागि दुई वटा कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाललाई बाहिरबाट कसरी हेरिन्छ ? र हामी कसरी हेरिरहेका छौ भन्ने कुराले हाम्रो कूटनीतिक अवस्था थाहा हुनेभन्दै उहाँले सन्तुलित कूटनीतिकको बाटो नेपालले छोड्न नहुने बताउनुभयो । 

​​​​​​​

कार्यक्रममा पूर्व राजदुतहरुले कसैले केही दिन्छु भन्यो भन्दैमा बुझ्दै नबुझी ले भन्ने बानी नछोडेसम्म नेपालको कूटनीतिक विचलन आइरहने बताउनुभयो ।

उहाँहरूले नेपालले कस्ता खालको सहयोग लिने, कस्तो अवस्थामा सहयोग नलिने भनेर ठोस किटान गर्नु पर्ने उहाँहरूले बताउनुभयो ।

मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारीले नेपालले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नु पर्ने बताउनुभयो ।

उहाँले अहिले एसपीपीलाई सबै दलहरूले तातो आलु पास गरेको खेल जस्तै बनाएको बताउनुभयो । एसपीपीबारे कुनै पनि निकायले कहिले के भयो भनेर जिम्मा नलिनु भनेको गैर जिम्मेवारी पन भएको उहाँले बताउनुभयो ।

नेकपा एमालेका नेता विष्णु रिजालले मध्यस्थता गर्नुभएको कार्यक्रमको समापन फाउण्डेसनकी सचिव पेम्बा लामाले गर्नुभएको थियो ।

उहाँले कूटनीतिक सम्बन्धका विषयमा अब विवादमा आएपछि बहस गर्नुभन्दा यस्ता विषयमा सुरुमै बहस गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यस्ता विषयमा बृहत् बहस गराउने अभियानमा फाउण्डेसन लागिरहने बताउनुभयो । 

image widget

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ०१ बजे