तीन प्रदेशमा वर्षाको सम्भावना

सुनवलमा डेढ करोड बढी लगानीमा पशु सेवा केन्द्रको भवन 

नवलपरासी । नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढी लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो ।

पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पूर्वाधार सुनवल नगरपालिका वडा नं.२ मा निर्माण भएको सोही वडाका वडा अध्यक्ष राजेन्द्र यादवले जानकारी दिनुभयो । ‘यो भवन सुविधा सम्पन्न भवन बनेको छ तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भइरहेको छ ,’उहाँले भन्नुभयो । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८को लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कात्तिक ६ गते सम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । ‘भवनको निर्माण कार्य सम्पन्न भए पनि अहिले निर्माण कम्पनीले हस्तान्तरण गरेको छैन,’अध्यक्ष यादवले भन्नुभयो । एसियन वसन्त जेसी बुटवलले निर्माण गरेको हो । भवन हस्तान्तरण भएपछि नगरपालिकाले पशु सेवा केन्द्र कसरी सञ्चालन गर्ने योजना बनाएको छ । 

चाँडै नै भवन हस्तान्तरण भएको भए अहिले अगामी आर्थिक वर्षका लागि योजनाहरू बनिरहेको हुँदा योजनामा समावेश गराउन सहज हुने थियो । तर, अहिले पशु सेवा केन्द्र सञ्चालनका लागि के कति आवश्यक जनशत्ति र सञ्चालन खर्च लाग्ने हो, त्यसबारे पशु सेवा शाखाले बताएको छैन,’उहाँले भन्नुभयो । पशु सेवा केन्द्र सञ्चालन गर्नका लागि आफूले निरन्तर पहल गरिरहेको वडा अध्यक्ष यादवको भनाइ छ । ‘नगरपालिकाभित्र अन्य पशुपक्षी उपचारका लागि सेवा केन्द्र छैन,’उहाँले थप्नुभयो, पशु बिरामी परे जिल्ला सदरमुकाम परासीस्थित पशु अस्पतालमा सेवा लिन जानुपर्ने बाध्यता पशु पालक किसानलाई छ । पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिए सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने थियो । 

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ३७ बजे