तीन प्रदेशमा वर्षाको सम्भावना

गण्डक बाँधको जोखिम रोक्न परक्युपाइन जडान

नवलपरासी । गण्डक बाँध अन्तर्गत जोखिममा रहेको बि.ग्याप बाँध जोगाउन भारतीय पक्षले परक्युपाइन र जैविक तट बन्धन गर्न थालेको छ ।

बि.ग्याप बाँधको पक्की संरचना भत्किँदै जाँदा त्यसको संरक्षण गर्न छाडेर भारतीय पक्षले झारो टार्ने गरी परक्युपाइन हाल्न थालेको स्थानीयवासीको गुनासो छ । बि.ग्याप बाँधका बिच बिचमा रहेका ठोकर(स्पर) हरू त्यसका नोज र फगरहरू समेत भत्कन थालेका छन् । बाँधको लम्बाई भत्किँदै जाँदा गण्डक नदीको पानी बस्तीतिर नजाओस् भनी बनेको बाँध नै जोखिममा छ  । नदीको सतह समेत अग्लो हुँदै गएका कारण थोरै पानीले पनि बाँध भत्किन सक्ने खतराको अनुमान स्थानीयको छ । अहिले ५ नम्बर स्परदेखि १२ नम्बर स्परसम्मको बाँध र स्पर दुवै खतरामा छन् ।

नदीले अहिले सुस्ताका खेतीयोग्य जमिन समेत कटान गर्दै आएको छ । रोकथामका लागि स्थानीयले पटक पटक कुरा उठाउँदै आए पनि नेपाल र भारत सरकार दुवै पक्ष गम्भीर नदेखिएको स्थानीय प्रेम चन्द्र गुप्ताले बताउनु भयो । ‘गण्डक अन्तर्गतका सबै संरचनाको निर्माण, मर्मत सम्भारको जिम्मेवार भारतीय पक्ष हो, तर यसप्रति भारतीय पक्ष मौन रहेको छ,’ गुप्ताले भन्नुभयो । हरेक वर्षा याममा गण्डक क्षेत्रका बासिन्दा त्रासमा बस्ने गरेका छन् । यस वर्ष पनि मौसम पूर्वानुमान विभागले बढी पानी भएको जानकारी गराउँदै समाचारहरू आउने गर्दा स्थानीय झन् त्रसित बनेको गुप्ताको भनाइ छ । 

जनतासँग नजिकको स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाहरूले समेत सम्बन्धित निकायमा पत्राचार गरी ध्यानाकर्षण नगराएकोप्रति उहाँको दुखेसो छ । भारतीय पक्षले गण्डक बाँधमा काम गरे जस्तो देखाएको छ । तर बाढीबाट जोगाउनका लागि नदीमा परक्युपाइन हाल्ने र झार रोप्ने कार्य गरेर उम्कने दाउमा भारतीय प्राविधिकहरू रहेका छन् । वि.सं.२०१६ सालमा गण्डक नदी नियन्त्रण, सिँचाइ र जलविद्युत निकाल्ने लक्ष्य राखेर गण्डक सम्झौता भएको थियो । गण्डक क्षेत्रको सबै काम गर्ने जिम्मेवारी भारतीय पक्षको थियो । अहिले पनि मर्मत सम्भारको जिम्मेवारी भारतीय पक्षकै हो । 

गण्डक बाँध अन्तरगत ए.ग्याप बाँध, बि.ग्याप बाँध, सी.ग्याप बाँध, लिङ्क बाँध र नेपाल बाँध गरी निर्माण गरिएको छ । यी बाँधहरू गण्डक नदीको धार पश्चिमतर्फ नफर्कोस् भनेर बनाइएका छन् । यी बाँधको मर्मत सम्भार भारत उत्तर प्रदेश सरकारको रहेको छ । तर,पनि बाँधको मर्मत सम्भारमा भारतीय लापरबाही देखिएको छ । गण्डक बाँधको खतरा नेपाली पक्षलाई मात्र छैन । यसको जोखिम भारतीय पक्षलाई पनि छ । गण्डक बाँध भत्किएमा नेपालको सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गाउँपालिका प्रभावित हुनेछ । तर,भारतको उत्तर प्रदेशको महराजगञ्ज, गोरखपुर, बस्ती र देवरिया जिल्लासम्म प्रभावित बनाउने छ । यसप्रति भारतीय पक्ष स्वयं जिम्मेवारी पूर्वक काम गर्नुपर्ने देखिन्छ । गण्डक नदीमा ८ लाख क्युसेक पानी डिस्चार्ज गर्ने क्षमताको बाँध बनाइएको भनिए पनि विगत वर्षमा ६ लाख क्युसेक पानीले बाँध भत्काएको थियो ।

अहिले नदीमा बालुवा जमेर नदीको सतह नै अग्लो बनेको छ । थोरै पानीले पनि बाँध भत्काउन सक्ने खतरा अहिले पनि छ । नदीको सतह गाउँको सतहभन्दा अग्लो बनिसकेका कारण पनि स्थानीयमा त्रास बढेको छ ।  

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ५३ बजे