शकुन्तलाको प्रवाह 

अहिले नेपालीय साहित्यमा लेखन प्रकाशनको बाढी नै आएको छ । मधेस, तराई, पहाड, हिमाल सबैतिर मनोहारी सिर्जनाको प्रभावले नेपाली समाज एकैनासले सिञ्चित हुँदैछ । लोकतन्त्रको आगमनपछि जनताको निर्बाध अभिव्यक्ति स्वतन्त्रताको माध्यमले नेपालीय साहित्यमा अभूतपूर्व विकास हुन थालेको छ ।  

साहित्यमा सम्भावनाका नयाँ नयाँ क्षितिजहरू उघारिँदै छन् । साहित्यिक शृङ्खलामा नयाँ नयाँ पात्रहरूको प्रविष्टि भइरहेको छ । नयाँ नयाँ साहित्यिक विधाहरूको उद्भव र विकास हुँदैछ । नयाँ नयाँ संरचना, शैली र शिल्पहरू देखिँदै छन् । यो खुसी र गौरवको कुरा हो । 

यही नयाँ सिर्जन अभियानमा कपिलवस्तुको तिलौराकोट मार्ग निवासी शकुन्तला ज्ञवाली पौडेल थपिनुभएको छ । उहाँ शान्ता ज्ञवाली र शम्भुप्रसाद ज्ञवालीका छोरी हुनुहुन्छ । उहाँका ‘भावना’ (क्वाँटी) सङ्ग्रह), ‘प्रवाह’ कविता सङ्ग्रह, ‘सङ्घर्ष’ कथा सङ्ग्रह प्रकाशित छन् । ‘कपिलवस्तुको परिचय’ कथा सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ । यो छिट्टै बजारमा आउने छ । 

‘प्रवाह’ कविता कृतिमा कवि शकुन्तला ज्ञवाली पौडेलले आफ्ना धरालीन पिता शम्भुप्रसाद ज्ञवालीलाई काव्य श्लोकहरूको माध्यमबाट श्रद्धा समर्पण गर्नुभएको छ । त्यसै गरी उहाँले विघ्नहर्ताका प्रतीक गणेशको स्तुति पद्य एवं र विद्याकी अधिष्ठात्री सरस्वती देवीको वन्दना गर्नुभएको छ । यो रचना प्रक्रियामा देखिएको शास्त्रीय विधि हो । धेरैले यो विधि छोडिसकेका छन्, तथापि आस्थाका देवी—देउताहरूलाई वन्दना गर्नु राम्रो हो । 

यस कवितामा शिक्षक एवं समालोचक अञ्जन सिग्देलले शकुन्तलाको काव्य कृतिको समीक्षात्मक भूमिकामा शकुन्तलाको काव्यिक सिर्जन सामर्थ्य र कृतिको समीक्षा गर्दै भन्नुभएको छ— ‘विभिन्न साहित्यिक कार्यक्रमहरूमा आफ्नो काव्यिक रचनालाई श्रुतिमधुर वाणीमा वाचन गरी श्रोतागणलाई मन्त्रमुग्ध पारी विशिष्ट साहित्यिक वातावरण निर्माण गर्नमा उहाँको विशेष योगदान रहेको देख्न पाउँछौँ ।’

वरिष्ठ साहित्यकार हरिराज शर्माले कपिलवस्तुका नारी स्रष्टाको योगदानको चर्चा गर्दै यो ‘प्रवाह’ अविरल रूपमा सललल बग्दै र बढ्दै जाओस्, सुन्दर कृतिहरू लेखिँदै जाऊन्, रचना सामर्थ्य अभिवृद्धि होस्, साहित्यको विकासमा गतिशील ऊर्जा थप्दै अगाडि बढ्नको लागि प्रेरणा र आशीर्वाद दिनुभएको छ । 

त्यसरी नै लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरिराम चौरसियाले कोरोना महामारीको समयमा खस नेपाली र अवधि नेपाली भाषाका माध्यमबाट सचेतनामूलक गीत, कविता रचना गरी सामाजिक सञ्जालबाट जागरण ल्याएको स्मरण गर्दै ‘प्रवाह’ कृति प्रकाशन गर्न लागेकोमा हार्दिक बधाईसहित धन्यवाद दिनुभएको छ । त्यसरी नै माहुरी होमका अध्यक्ष रवीन्द्रनाथ ठाकुर, नव कपिलवस्तु साहित्यिक समाजका अध्यक्ष वरिष्ठ साहित्यकार पशुपतिमणि त्रिपाठी, वरिष्ठ साहित्यकार राघवेन्द्र श्रीवास्तवले पनि उहाँलाई शुभकामना र प्रेरणा दिँदै स्रष्टालाई दुई भाषाकी सिन्धु भन्दै दुवै भाषिक समुदायलाई समानता र सहिष्णुताका आधारमा जोड्दै समाजमा एकता भाव पैदा गरेकोमा धन्यवाद दिनुभएको छ ।  

यस कृतिको समीक्षाका क्रममा मैले यहाँ नेपालीय भाषा भनेको छु । नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुन् भन्ने संवैधानिक प्रावधानको पृष्ठमा टेकेर बोल्दा नेपाली भाषा भन्दा एउटा भाषालाई मात्र सम्बोधन गरिएको आभास हुने हुँदा सबै भाषा अटाउने, देखिने र जोडिने गरी नेपालीय भाषा, कला र संस्कृति भनेको हुँ । 

साहित्य सिर्जनका माध्यमबाट हाम्रो राष्ट्रियता बलियो बन्दै छ । सबै अटाउने, देखिने र जोडिने गरी व्यवस्थित हुँदैछ । सबै भाषिक समुदायहरू भाषिक अधीनताबाट बाहिर निस्केर स्वाधीनता प्राप्त गर्दै पहिचान र सम्मान पाउँदै छन् । नेपाली शब्द भन्दा हाम्रो दिमागमा ठाडो बिकर आकारको दृश्य देखिन्छ भने नेपालीय शब्द भन्दा सबै भाषा अटाउने घडा आकारको दृश्य देखिन्छ । त्यसैले संविधानको मर्म र भावनामा टेक्दै राष्ट्रिय भाव धारालाई बलियो बनाउन नेपालीय शब्द प्रयोग गरिएको हो । लेखक विशेषतः नेपाली अवध र नेपाली खस भाषाका स्रष्टा भएको हुनाले पनि यो बहस चलाउन आवश्यक र सान्दर्भिक ठानिएको हो ।  

वास्तवमा कविता अनुभूतिको लयात्मक अभिव्यक्ति हो । यो श्रव्य काव्य अन्तर्गतको पद्य विधामा पर्छ । परिपक्व एवं खारिएका अनुभूतिको संवेदनशील पोखाइ कवितामा हुन्छ । बिम्ब, प्रतीक र अलङ्कारहरूको प्रयोग गरी शास्त्रीय वा लोकलयमा कुँदेर लय सिर्जना गरी प्रस्तुत गर्ने सौन्दर्यात्मक विधा कविता हो । गीत र कविता बीचको अन्तर भनेको लयको फरकपन हो । गीतमा कविताको तुलनामा लयको आधिक्य हुन्छ । कवि शकुन्तलाले गीत र कविता दुवैमा अभ्यास गरिरहनुभएको छ ।

यो कृतिको नाम ‘प्रवाह’ हो । प्रवाह शब्द प्र+वृ+अ (घञ्) प्रकृति प्रत्ययबाट बनेको हो । प्रवाह भनेको गतिशील, निर्झर र स्वच्छ जलाधार हो । भावका दृष्टिले यो अत्यन्त सुन्दर शब्द हो । त्यसैले यो काव्य कृतिको नाम सार्थक र सुन्दर छ । 

म छन्द बबुरी, हरियो वन, कृषि, छोरी, अपाङ्गतालाई हक, स्रष्टा, चाहना, गौमाताको याचना, हाम्रो समाज, राष्ट्र घातक, दानशील सदाचार र ध्यान, प्रहरी गरी १२ वटा शीर्षक छन् । 

कविको पहिलो कविता ‘म छन्द बबुरी हुँ’ हो । यसमा कविले आफूलाई बडो विनयशील रूपमा म छन्दको बबुरी हुँ भन्नुभएको छ । बबुरो शब्दको अर्थ मायालाग्दो, विचारा, टीठलाग्दो भन्ने हो । बबुरी स्त्री लिङ्ग शब्द हो । कविले ‘म छन्द बबुरी’ कवितामा भन्नुभएको छ—

छन्दको अर्थ बुझेकी छैन, प्रयास गर्दैछु 
हिम्मत मैले नहारिकन अगाडि बढ्दैछु । 

​​​​​​​​​​​​उहाँको दोस्रो काव्य पुञ्ज ‘हरियो वन’ हो । उहाँको ध्यान वातावरणतिर गएको छ । वनको महत्त्व बताउँदै यसको जगेर्ना गर्न लाग्नु पर्ने बताउनुभएको छ । ​​​​कवि भन्नुहुन्छ— 
चेतनशील प्राणी मानव हामी, बोट वृक्ष लगाऔँ
प्रकृतिलाई संरक्षण गरी सृष्टिलाई जोगाऔँ । 

‘कृषि’ कवितामा शकुन्तलाले साहित्यलाई जीवनसँग जोड्नुभएको छ । अब हामीहरू राजनीतिक नारामा मात्र अल्झने हैन, उत्पादनमा लाग्नु पर्छ । अब कृषि उत्पादनमा ध्यान दिऊँ भन्ने सन्देश दिँदै भन्नुहुन्छ—

नगरौँ हेला कृषि पेसालाई दुःख छ भनेर 
बढाउनुपर्छ कृषिको स्रोत प्रविधि ल्याएर । 

उहाँले छोरी घरकी स्वर्ग हुन् भन्दै छोरीको महिमा वर्णन छ । छोरीलाई सृष्टि विधाताको सर्वोत्कृष्ट रचनाको रूपमा वर्णन गरिएको छन् । कवितामा यी पङ्क्ति छन् — 

शीतल सौम्य धर्ती झैँ अटल, छोरी हुन महान्
​​​​​​​दुःख र पीडा लुकाई हाँस्छिन् छोरीले मनमा । 

आजसम्म हाम्रो साहित्य सशक्तको प्रार्थनामा भुलेको थियो । प्रगतिशील भन्नेहरू पनि अशक्तहरूको विषयमा त्यति गम्भीर थिएनन् । अहिले साहित्यमा गरिब, विपन्न, महिला, अपाङ्गता भएका, यौनिक अल्पसङ्ख्यक समुदाय, अल्पसङ्ख्यक जाति, जनजातिहरूका आवाजहरू मुखर हुन थालेका छन् । विगतमा प्रगतिशील भनिनेहरू युद्धोन्मादको अवधिभर व्यक्तिलाई वर्ग सङ्घर्षको भट्टीमा तताएर आवेग र उन्माद भर्दै वर्ग घृणा फैलाइदिन्थे । उनीहरूको मुख्य उद्देश्य निरङ्कुश सत्ता विरुद्धको आन्दोलनमा बलिदानीपूर्वक जीवन उत्सर्ग गर्न तयार हुनु हो । त्यो समयको माग होला, तर आज सूक्ष्म व्यवस्थापनको युग हो । सबै उत्पीडित वर्ग र समुदायलाई सहअस्तित्व, समानता र स्वतन्त्रताको प्रत्याभूत गर्दै मूलधारमा हिँडाउनु हो । यो आधुनिक चेतना कवि शकुन्तलामा देखिन्छ । 

त्यसैले उहाँले सबै प्रकारका अपाङ्गताका पीडाहरू पस्कनुभएको छ । उहाँले अपाङ्गता भएकाहरूलाई दया हैन, अधिकार र सम्मानको माग गर्नुभएको छ—

अपाङ्गता व्यक्तिलाई गर्नुपर्छ सम्मान 
दयाभन्दा सम्मान गरौँ, सबले सामेल गरौँ । 

कवि शकुन्तला ज्ञवालीले औपचारिक अध्ययनले मात्र हैन, अनौपचारिक अध्ययन गरेका पनि महत्त्वपूर्ण स्रष्टा भएको बताउनुभएको छ । प्रतिभा, व्युत्पत्ति र अभ्याससँग औपचारिक डिग्रीको सम्बन्ध छैन । ‘स्रष्टा’ कवितामा कवि झमक कुमारीको अन्तर्निहित क्षमता र वाल्मीकिको महानताको विषयमा बताउनुभएको छ । वास्तवमा नेपालीय साहित्यमा औपचारिक डिग्री नलिएका महान् स्रष्टाहरू धेरै छन् । गाउँ—पाखाहरूमा गाइने सुन्दर लोकलयात्मक भाकाहरू सिर्जना गर्ने अनौपचारिक अनुभव हासिल गरेका अज्ञात स्रष्टाहरू हुन् । उनीहरूको साहित्य कलाको क्षेत्रमा योगदान ठुलो छ । 

पि.एच.डी. र डिग्री गर्ने कवि पछि पारिन्
स्वअध्ययनकै भरमा उनले इतिहास कोरिन् । 
वाल्मीकिले पनि कहाँ आई.ए, बि.ए. पढे ?
संसारमा रामायणको कथा लेखी छोडे । 

कवि शकुन्तलाले ‘गौमाताको याचना’ शीर्षक कवितामा गाईप्रति भक्ति प्रकट गर्नुभएको छ । उहाँले सडकमा अलपत्र चौपायालाई व्यवस्थापन गर्न सुझाउनु भएको छ । उहाँले यस कवितामा गाईको तर्फबाट निर्दयी मानिसलाई याचना गरेका हरफहरू प्रस्तुत गर्नुभएको छ—
अरब—खरब बजेटबाट थेरै छुट्याई देऊ
गौशालाको निर्माण गरी बाँच्ने हक देऊ ।

​​​​​​उहाँले ‘दान, शील, सदाचार र ध्यान’ कवितामा अप्ठ्यारोमा परेकाहरूको लागि सम्मान दिन र सशक्त बनाउन सन्देश दिनुभएको छ । 
दान—शील सदाचार ध्यान गर्नु होस् 
मानव भई मानव धर्म धारण गर्नु होस् । 

अन्तिम कविता ‘प्रहरी’ हो । नेपाल प्रहरी जनताको प्रहरी हो । जनता र प्रहरी बीचको सम्बन्ध सुमधुर हुनुपर्छ ।  कवि शकुन्तला लेख्नुहुन्छ— 
प्रहरी शक्ति हुन् हाम्रा, जो सपुत हुन् देशका 
प्रहरी सशक्त छन् हाम्रा, समर्पित राष्ट्र सेवक ।

अन्त्यमा कवि शकुन्तला पद्य कविताको नजिक नजिक पुग्नुभएको छ । उहाँले छन्द कवितातिर छाल हान्न सक्नुहुनेछ । उहाँको लेखन शैली र शिल्प अझ खारिँदै जाओस् । कविताहरू अरू कलात्मक बनुन् । बिम्ब, प्रतीक, अलङ्कारहरूले युक्त बनुन् । मन जिते कविता बनुन् । उहाँको उदाउँदो व्यक्तित्व उत्कर्षमा पुगोस् । स्रष्टा शकुन्तलालाई धेरै धेरै बधाई तथा शुभकामना ! 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ३७ बजे