सुनको मूल्यमा नयाँ कीर्तिमान

आयुर्वेदिक चिकित्सा र एलोपैथी उपचार सेवा एकै ठाउँबाट 

नवलपरासी । जिल्लाको प्रतापुर गाउँपालिकास्थित अस्पताल उन्मुख जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद र एलोपैथी उपचार एउटै (कम्पाउण्ड) परिसरबाट सुरु गरिएको छ । 

गाउँपालिकाभित्र १५ शय्याको अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा आयुर्वेदिक सहितको एलोपैथिक सेवाले स्थानीयवासी लाभान्वित भएका हुन् । 

एउटै परिसरमा आयुर्वेदिक र एलोपैथिक सेवा दिने जिल्लाको पहिलो स्वास्थ्य केन्द्र भएको केन्द्रका सिनियर अहेब इन्द्र लामिछानेले जानकारी गराउनुभयो । “यसबाट बिरामीलाई सहज भएको छ”, उहाँले भन्नुभयो, “यस केन्द्रमा आउने बिरामीले एकै स्थानमा टिकट काटेर पहिला एलोपैथी सेवातर्फ  र दीर्घ रोगको लक्षण देखिए ती बिरामीलाई चिकित्सकले आयुर्वेद विभागमा पनि देखाउनु भनी परामर्श दिने गरिएको छ ।” आयुर्वेदिक सहितको एलोपैथिक सेवाले बिरामीलाई पनि सन्तुष्टि बढेको छ ।

केन्द्रमा दैनिक बहिरङ्ग सेवा, २४ सैँ घण्टा प्रसूति सेवा, प्रयोगशाला (प्याथोलोजी) सेवा, एम्बुलेन्स सेवा, यु.एस.जी भिडियो एक्स-रे, एक्स-रे, सुरक्षित गर्भपतन सेवा दिँदै आएको छ । त्यसैगरी, नियमित खोप सेवा, परिवार नियोजन सेवा र नियमित गर्भवती जाँच (एएनसी) जाँचहरू पनि हुने गरेको छ । मेडिकल दुई जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ सहितको स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा छन् । 

प्राथमिक स्वास्थ्य केन्द्रमा वार्षिक ८ हजार बिरामीले सेवा लिँदै आएका छन् । तर पनि केन्द्रमा जनशक्ति उपकरणले बिरामीको सेवा दिने क्षमता छ, तर प्रचार—प्रसारको अभाव र अस्पताल सरहको सेवा केन्द्रले दिने गरेको सूचना जानकारी आम समुदायमा जान सकेको छैन 

प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेदिकतर्फ पनि आयुर्वेद चिकित्सक समेत रहेका छन् । स्वास्थ्य जाँचसँगै केही निःशुल्क र सहुलियत मूल्यमा औषधि वितरण हुँदै आएको छ । लुम्बिनी प्रदेश सरकारको पाइलट प्रोजेक्टको रूपमा स्वास्थ्य केन्द्रमा आयुर्वेदिक चिकित्सा सञ्चालन गरिएको केन्द्रका सिनियर अहेब लामिछाने बताउनुभयो ।  

प्रदेश सरकारकै १६ करोडको लगानीमा प्राथमिक अस्पताल भवन निर्माण कार्य समेत भइरहेको उहाँले बताउनुभयो । 

अस्पताल भवन, पोस्टमार्टम ब्लक, चमेना गृह र गार्ड भवनका लागि विनियोजित बजेटको काम भइरहेको केन्द्रले जनाएको छ ।  भवन पूर्वाधार बन्ने बित्तिकै प्राथमिक स्वास्थ्य केन्द्र प्राथमिक अस्पतालमा परिणत हुनेछ ।

१६ करोड ९३ लाख २९ हजार ७ सय ९४ लागतको उक्त आयोजना नेपाल सरकारको सशर्त अनुदान, प्रतापपुर गाउँपालिकाले गर्दै आएको छ । सो आयोजनाको निर्माण कार्य लामा कन्स्ट्रक्सन कम्पनी प्रालि महराजगञ्ज काठमाडौँले ११ करोड २४ लाख १३ हजार ५ सय ५१ मा ठेक्का सकार गरी काम गरिरहेको केन्द्रले जानकारी गराएको छ । 

अस्पतालको भवन पूर्वाधार निर्माण भएपश्चात् यसलाई अस्पतालको रूपमा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष उमेश यादवले जानकारी गराउनुभयो । 

प्रतापपुर अस्पताल पूर्वी क्षेत्रका जनतालाई राहत पुर्‍याउनेमा गाउँपालिकाले विश्वास लिएको छ । अस्पतालको रूपमा परिणत भए पनि यस क्षेत्रमा चिकित्सकीय प्रशासनिक कार्यलाई समेत टेवा मिल्ने उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : १८ बजे